निर्णय नं. ५०१८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०१८ - अंश भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/०८/२२ २९४२ निर्णय नं. ५०१८ २०५१, ने.का.प. अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्बत २०४५ सालको दे.पु.नं. – ६९ फैसला मितिः – २०५१।८।२२।५ मुद्दाः अंश । निवेदिका/वादी : मोरङ जिल्ला विराटनगर न.पा. वडा नं. ४ वस्ने उमादेवी पोखरेल । विरूद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने लेखनाथ पोखरेल समेत । § २०२४।८।३ मा भएको बण्डापत्रलाई वादीले अन्यथा भन्न नसकेको, बण्डा बराबर नभएको वा गलत तरीकाले भएको भए अंश बण्डाको महलको ३२ नं. बमोजिम म्यादभित्र उजूर बाजुर गर्न सक्नु पर्ने केही गर्न सकेको देखिँदैन । २०२४।८।३ मा भएको बण्डापत्र घरको मुली जीवनाथकै जीवनकालमा नै सबै अंशियारहरुको अंश भागको सम्पत्ति रीतपूर्वक छुट्टाई भएको देखिदा वादीका पति मोहन प्रसादको सहिछाप नभएकै कारणबाट उक्त बण्डापत्रले मान्यता नपाउने भन्न पनि नमिल्ने । (प्र.नं. १९) § जग्गा समेत जिउनीको भन्ने वादी र मेरो एकलौटी हकको भन्ने प्रतिवादी लेखनाथको भनाई भएकोमा एकलौटी हकको प्रमाण प्रतिवादीले दिन गुजार्न नसकेको समेतबाट उक्त जग्गा जिउनी मध्येकै वाँकी जग्गा देखिने । (प्र.नं. १९) निवेदक तर्फबाट : विद्वान अधिबक्ता द्वय श्री हरिहर दाहाल, विद्वान अधिबक्ता श्री शम्भु थापा विपक्षीको तर्फबाट : विद्वान अधिबक्ता श्री सुनिलचन्द्र पौडेल अवलम्बित नजीर : x फैसला न्या. कृष्णजंग रायमाझी : संयुक्त इजलासबाट छिनिएको विन्तिपत्रमा लेखिएको अंश मुद्दा पूर्ण इजलासबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमाङ्गी बक्स भै आए अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. ससूरा जीवनाथका ५ भाई छोरामा जेठा तोपनाथ, माहिला प्र. लेखनाथ, साहिला मेरा पति मोहन प्रसाद, काहिला गुणराज र कान्छ हरिकुमार समेत हुन् । मेरा पति मोहन प्रसाद ०४ सालमा विदेश गएदेखि हालसम्म वेपत्ता हुनुहुन्छ । म सासू ससूरा तथा प्र. लेखनाथसँग सगोलमा बस्दै आएकोमा ०३२।१०।२६ मा घरायसी झगडा परी मलाई घरबाट निकाला गरेकोले मेरा पतिको १ भाग अंश दिनुहोस् भनी मौखिक रुपमा अनुरोध गर्दा मलाई थाहा नदिई श्रेस्ता मिलाई सकेको छु भनी प्र. लेखनाथ समेतले भनेबाट पनि बेपत्ता हुनु भएकोले मुख्य दाम काम गर्न प्र. लेखनाथ हुँदा निजबाट तायदाती लिई ५ भागको १, भाग मेरा पतिले पाउने अंश दिलाई मेरो जिम्मा लगाई पाउँ भन्ने समेतको उमादेवी पोखरेलको फिराद पत्र । ३. वादीको लोग्ने बेपत्ता भएतापनि आसामको अन्ता भन्ने ठाउँमा गोठवाली वसेको छ । हामी एकाघर सगोलमा बस्न नसक्दा २०२४।८।३ मा परदेश जाने समेतका अंश भाग लगाई लेखत खडा गरेको पास समेत भइसकेको छ । वादीका लोग्नेको भाग अंशको जग्गाको आयस्ता वादीले मोहीहरबाट बुझी सोको भरपाई समेत दिएका छन् । हामी २०२४ सालमा ऐन बमोजिम छुट्टी भिन्न भएको हुँदा वादी दावी झुठ्ठा एवं लाग्नै नसक्ने हुँदा खारेज गरी पाउँ भन्ने समेतको प्र. लेखनाथको प्रतिउत्तर । ४. विदेशमा गएका छोराको समेत अंश भाग लगाई बण्डा पत्र खडा गरी रजिष्ट्रेशन पास भइसकेको छ । वादीको लोग्नेको भागको आयस्ता वादीले नै खाँदै आएका छन् । आसामको अजन्तामा वादीको लोग्ने हुँदा फिराद लाग्न नसक्ने भन्ने समेतको जीवनाथको प्रतिउत्तर पत्र । ५. छुट्टिई भिन्न भएको जेठाजूसँग अंश दावी लाग्न नसक्ने हु