निर्णय नं. ९१८१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१८१ - अंश भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०३/१८ ३६४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ फैसला मिति : २०७१।३।१८।४ ०६७–CI–००१२ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी : जिल्ला बारा, गडहल गा.वि.स. वडा नं. ५ बस्ने जितेन्द्रप्रसाद चौधरी विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला बारा, गडहल गा.वि.स.वडा नं. ५ बस्ने मंगलप्रसाद फौजदार § प्रतिवादी बनाइएकी पियारिया देवीलाई बुझी प्रतिवादी पार्वतीदेवीका छोराहरू जितेन्द्र, उपेन्द्र र लोकेन्द्रसमेतलाई प्रतिवादी कायम गरिएको भए पनि निजहरूसँग तायदाती मागिएको नदेखिएको र यस्तै वादीकी आमा कलावती र दाजु भाइहरूसमेतसँग फाँटवारी मागिएको नदेखिनाले स्व. लालबाबुकी पत्नी पार्वतीदेवीबाट अंश पाउने भनी ठहर गरेपछि निजका छोराहरू जितेन्द्र, उपेन्द्र र लोकेन्द्रबाटसमेत र वादीकी आमा कलावती र वादीका अन्य दाजुभाइहरू मोहन, सोहन र महेन्द्रलाईसमेत मुलुकी ऐन, अ.बं. १३९ नं. बमोजिम नबुझेको भए बुझी निजहरूसमेत सगोलका अंशियार हुन् होइनन् यकिन गरी न्यायिक निरूपण गर्नुपर्नेमा सोबमोजिम बुझ्नुपर्ने प्रमाण बुझ्दै नबुझी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा प्रमाणको मूल्याङ्कनको रोहबाट त्रुटिपूर्ण देखिँदा बदर हुने । (प्रकरण नं. २) पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं. १३९, २०२ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री प्रेमबहादुर के.सी. पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री उद्धवप्रसाद बाँस्कोटा मा.न्या.श्री गौरीबहादुर कार्की फैसला न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।६।३० को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् निर्णय यसप्रकार छ : मूलपुरूष ब्रम्हनारायणका ५ छोरा क्रमशः मुरलीधर, गोविन्धर, नन्दकिशोर, लालबाबु र ठाकुरप्रसाद हुन् । ब्रम्हनारायण, मुरलीधर, गोविन्धर र लालबाबुको स्वर्गवास भइसकेको छ । गोविन्धरको छोरा म फिरादी हुँ र विपक्षी ठाकुरप्रसादको छोरा विपक्षी मनोजकुमार हुन् । लालबाबुका पत्नी विपक्षी पार्वतीदेवी हुन् । विपक्षी ठाकुर तथा नन्दकिशोर मेरो काका, पार्वतीदेवी काकी तथा राजेन्द्र र मनोज मेरो भाइ नाताका हुन् । ब्रम्हनारायणको शेषपछि निजका पाँचैजना छोराहरू मानो छुट्टिई बसेको भए तापनि जग्गा जमिन सगोलमा भोगी आएकोमा अब अंशबन्डा गरौँ भन्दा विपक्षीहरूले इन्कार गरेको हुँदा ५ खण्डको १ खण्ड मेरो पिताको हुने अंश छुट्याई मेरो नाउँमा दर्तासमेत गराई पाउँ भन्नेसमेत व्यहोराको मुख्य फिराद दावी । हामी पाँच अंशियार हुँदा ५ खण्डको १।१ खण्ड हाम्रो अंशहक हुँदा छुट्याई लिउँ भनी बारम्बार भन्दै आएका छौँ । वादीले हामीसरहका अन्य प्रतिवादीको उचलाहटमा लागी झुट्ठा फिराद गरेका हुन् । पाँचभागको १।१ भाग अंश लिन दिन इन्कार गरेका छैनौँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू नन्द किशोर र पार्वतीदेवीको संयुक्त प्रतिउत्तर जिकिर । वादीलाई हामीले अंश दिनुपर्ने अवस्था छैन । वादीले गोविन्धरको आफू एकमात्र छोरा भनी उल्लेख गरे तापनि गोविन्धरका चार छोराहरू क्रमशः मोहन, सोहन विपक्षी मंगल तथा महेन्द्र हुन् । साथै गोविन्धरकी पत्नी कलावती जीवितै छन् । कलावती जीवित हुँदाहुँदै गोविन्धर