निर्णय नं. ६५६३ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५६३ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ । भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/०२/२८ ३१३५ निर्णय नं. ६५६३ ने.का.प. २०५५ अङ्क ७ विशेष इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्बत् २०५३ सालको रिट नं. २४९७ आदेश मिति : २०५५।२।२८।५ विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ । निवेदक : काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. ७ बस्ने केदार बहादुर पौडेल । विरुद्ध विपक्षी : श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालय केशर महल समेत जम्मा ७ । § जग्गा प्राप्ति ऐन, २०३४ को दफा २ को खण्ड (ख) मा सर्वसाधारण जनताको हित हुने कार्य पनि सार्वजनिक कार्य भनी परिभाषा गरिएको देखिएकोले सार्वजनिक हित तथा सर्वसाधारण जनताको हित हुने कार्यको लागि श्री ५ को सरकारले कुनै व्यक्तिको सम्पत्ति (जग्गा) अधिग्रहण गर्न वा प्राप्त गर्न सकिने भन्ने कुरामा दुविधा नहुने । (प्र.नं. ११) § काठमाण्डौ विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय ऐन, २०४८ बमोजिम शैक्षिक विविध क्षेत्रमा अध्ययन एवं अनुसन्धानको लागि उच्च तहको शिक्षण संस्थाहरु संचालन गर्न स्थापना भएको एक संगठित संस्था हो भन्ने कुरा उक्त ऐनको प्रस्तावना र विश्व विद्यालयको स्थापनाको उद्देश्य र उक्त संस्थालाई तोकिएको काम कर्तव्यबाट देखिन आउँछ । मूलतः यस्ता शैक्षिक संस्थाहरु सार्वजनिक हित र सार्वजनिक कार्यको लागि नै स्थापना गरिएका हुन्छन् । काठमाण्डौ विश्वविद्यालय कुनै व्यक्ति विशेष जाती समूहका लागि स्थापना भएको नभई सवै नागरिक सवै जाती सवै समूहका लागि प्रत्यक्ष वा परोक्ष हितको लागि स्थापना भएको मान्नु पर्ने हुन्छ, तथा काठमाण्डौ विश्व विद्यालय ऐन, २०४८ को प्रस्तावनाको मनसायबाट पनि सार्वजनिक कामको लागि भन्ने उद्देश्य रहेको देखिएको समेत कारणबाट काठमाण्डौ विश्वविदालय सार्वजनिक हितको निम्ति स्थापना भएको होइन भन्ने आधार नदेखिने । (प्र.नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुवँर विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी अवलम्बित नजिर : आदेश न्या. केशवप्रसाद उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) तथा धारा ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा यस प्रकार छ । २. म रिट निवेदकको नाउमा मालपोत कार्यालय काभ्रेमा दर्ता रहेको साविक श्री खण्डपुर गा.वि.स. वडा नं. ८ हाल धुलिखेल नगरपालिका वडा नं. ७ मा रहेको कि.नं. ३२२ को क्षे.फ. ३–३–१–० को जग्गा र सो जग्गामा बनेको ल. १९ हात चौ. १० हात र ल. १५ हात चौ. १० हातको २ वटा जस्ताको छाना भएको घर र ल. १३ हात चौ. ९ हात भएको जसताको छानो भएको गोठ र कि.नं. ३२५ क्षे.फ. ८–१–३–० जग्गा समेत मैले भोग चलन गरी आएकोले उक्त २ कित्ता जग्गामा विभिन्न जातका २०० गोटा रुख र एक झ्याङ वाँस समेत लगाई राखेको तथा जग्गाधनी रामेश्वर गुठी जोताहा मोही म केदार बहादुर पौड्याल भएको साविक श्री खण्डपुर गा.वि.स. वडा नं. ६ हाल धुलिखेल नगरपालिका वडा नं. ७ मा पर्ने कि.नं. ३२१ को क्षे.फ. ३–४–१–१ जग्गा गुठीलाई वाली बुझाई भोग चलन गरी रहेको जग्गा हो । सो घर जग्गा विपक्षी काठमाण्डौ विश्व विद्यालयको निमित्त जग्गा अधिग्रहण गर्न आवश्यक भएकोले भनि विपक्षी श्री ५ को सरकार शिक्षा मन्त्रालयले जग्गा