निर्णय नं. ९२८३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२८३ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०६/२७ ३६९६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र.न्या. श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।६।२७।२ ०६७–CR–११०१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं. १७ घर भै हाल कारागार कार्यालय, झापामा थुनामा रहेका टीकाराम राईसमेत विरूद्ध विपक्षी/वादी : आशा नेवार (राई) को जाहेरीले नेपाल सरकार ०६८–CR–०५२१ पुनरावेदक/प्रतिवादी : सुनसरी जिल्ला, धरान न.पा. वडा नं. १ घर भै हाल नख्खु कारागार कार्यालय, ललितपुरमा थुनामा रहेका सन्तोष राई विरूद्ध विपक्षी/वादी : आशा नेवार (राई) को जाहेरीले नेपाल सरकार ०६८–CR–०६६८ पुनरावेदक/प्रतिवादी : भोजपुर जिल्ला, घर भई धरान नगरपालिका वडा नं. १७ बसोवास गरी हाल क्षेत्रीय कारागार कार्यालय, झुम्कामा थुनामा रहेका अनिश राई विरूद्ध विपक्षी/वादी : आशा नेवार (राई) को जाहेरीले नेपाल सरकार § आफू अन्यत्र रहेको भनी अन्यत्रको दावी लिनेले कानूनतः आफू त्यसरी अन्यत्र रहेको पुष्टि गर्नुपर्ने हुन्छ । केवल लगाइएको आरोपबाट सफाइ पाउने उद्देश्यले मात्र अन्यत्र रहेको थिएँ भन्ने कुरा तर्कयुक्त र स्वीकार्य हुन नसक्ने । (प्रकरण नं. ४) § स्वास्थ्य जाँच प्रतिवेदनमा प्रतिवादीहरूको शरीरमा नील, डाम तथा चोटपटक लागेको देखिँदैन । नील, डाम तथा चोटपटक लागेको नदेखिएको अवस्थामा कुटपीटबाट बयान भएको हो भन्न मिलेन । डर, धम्की र कुटपीटबाट बयान गराई साबित गराएको भन्ने तथ्य प्रमाणित नभएबाट निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान स्वेच्छाको भई निजहरूको विरूद्ध प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. ९) वादीको तर्फबाट : प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय दीपेन्द्रकुमार राई, रेणुकाकुमारी सिटौला अवलम्बित नजिर : § नेकाप २०७१, साउन, निर्णय नं. ९१४४, पृष्ठ ४४२ सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१), १३(४), १७(३)नं. § प्रमाण ऐन, २०३१ को दफा २७ को उपदफा (१) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री बालकृष्ण उप्रेती पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री शिवनारायण यादव मा.न्या.श्री द्वारिकामान जोशी फैसला न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, विराटनगरको मिति २०६७।९।१ को फैसलाउपर चित्त नबुझाई न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादी पक्षबाट यस अदालतमा दायर भई इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र फैसला यसप्रकार छ : सुनसरी स्थित धरान न.पा. वडा नं. १८ बुद्ध चौकमा चन्डी नाच हेरी घर फर्कंदै गरेको मेरो छोरा गणेश नेवार (श्रेष्ठ) लाई ऐ. वडा नं. १७ बस्ने टीकाराम राई, अनिश राई, सुदेश श्रेष्ठ, प्रनिश राई, सानु गुरूङसमेतका प्रतिवादीहरूले वडा नं. ११ स्थित दुर्गा चौकमा घेराउ गरी धारिलो हतियार खुकुरीसमेत प्रहार गरी कर्तव्यद्वारा मृत्यु गराई सँगै रहेका किर्तन श्रेष्ठलाई घाइते पारेको हुँदा निजहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको आशा नेवार (राई) को जाहेरी दरखास्त । धरान न.पा. वडा नं. ११ स्थित पूर्व पश्चिम तुलसी लाइन सडक, उत्तरमा नैना साम्पाङ्गको घर र दक्षिणमा राजेश राईको घर यति चार किल्लाभित्र सडक बाटोको दक्षिण पट्टिको सडकमा मृतक गणेश नेवार (श्रेष्ठ) को लास रहेको र मृतक लासको बायाँ कोखमा १ इ