निर्णय नं. ९२८८ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२८८ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०६/२९ ४७५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७१।६।२९।४ ०६९-WO-१०४५ विषय : उत्प्रेषण/परमादेश । रिट/निवेदक : जनकपुर भन्सार कार्यालयमा दरबन्दी रही हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयमा काजमा कार्यरत ना.सु.परशुराम दाहाल विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंसमेत § वस्तुतः निजामती सेवा ऐन, २०४९ को दफा २६ अनुसार हुने प्रतिस्पर्धा समान तहका कर्मचारीहरूबीच मात्र हुन्छ भने खुला प्रतिस्पर्धामा समान तहका कर्मचारीलगायत अन्य गैरकर्मचारीहरू समेतको प्रतिस्पर्धामा सहभागिता हुन्छ । यसैगरी दुबै प्रतिस्पर्धाको गुणस्तर र स्वरूपमा समेत स्वाभाविकरूपले अन्तर हुने नै हुन्छ । तसर्थ दुबै प्रकारको प्रवेशमा प्रतिस्पर्धा हुने भन्दैमा र बहालवाला कर्मचारीले समान पदको अर्को सेवा समूहमा खुला विज्ञापनमा दरखास्त हाल्दैमा मात्रै उम्मेदवारलाई सेवा परिवर्तन गर्न आएको वर्गमा परिणत गर्न मिल्दैन र सेवा समूह परिवर्तन गर्न दरखास्त हालेको भन्ने अर्थ गर्न पनि नमिल्ने । § खुला प्रतिस्पर्धा भनेको खुला नै हो, सेवा परिवर्तनको प्रतिस्पर्धा होइन । ऐनको दफा २६ अन्तर्गतको निवेदन र पदपूर्तिका लागि खुलातर्फ भएको विज्ञापनअनुसार दिएको दरखास्तको उद्येश्यमा केही मेल खाँदैमा सो निवेदनलाई पनि दफा २६ अनुसारकै निवेदन भन्न नमिल्ने । § सामान्य अवस्थामा कानूनको स्वाभाविक व्याख्यालाई स्वीकार गर्नुपर्दछ । स्वाभाविक र सरल व्याख्या गर्दा गलत वा द्विविधायुक्त अर्थ दिएमा मात्र वैकल्पिक व्याख्याको गुञ्जाइस रहन्छ । ऐनको कुनै दफाले प्रदान गरेको सुविधा अर्को दफाले स्पष्टरूपमा बन्देज नलगाएको अवस्थामा त्यस्तो सुविधा अर्को दफाले निष्क्रिय गराएको अर्थ निकाल्नु युक्तिसङ्गत नहुने हुँदा ऐनको दफा २६ बाहेक अन्य प्रक्रियाबाट अर्को सेवा समूहमा प्रवेश गरेका कर्मचारीका हकमा बढुवाको उम्मेदवार हुनका लागि दफा २२ को खण्ड (घ) ले बन्देज गरेको भनी अर्थ्याइनु नहुने । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता चन्द्रमणि पौडेल विपक्षीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : § निजामती सेवा ऐन, २०४९ को दफा २२, २४घ१ आदेश न्या. कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत दायर हुन आएको प्रस्तुत विषयको सङ्‍‌क्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छ : रिट निवेदनको व्यहोरा : म निवेदक लोक सेवा आयोगबाट सिफारिस भई सर्वोच्च अदालतको मिति २०५७/४/१७ को निर्णयअनुसार राजपत्र अनङ्कित प्रथम श्रेणीको नायब सुब्बा पदमा नियुक्ति पाई कार्यरत रहँदै आएको थिएँ । न्याय सेवाअन्तर्गत सोही पदमा पुनरावेदन अदालत, पाटनमा कार्यरत रहेकै अवस्थामा पुनः लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको आ.व. ०६६/०६७ को खुलातर्फको विज्ञापनअनुसार रिक्त रहेको नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा पदमा परीक्षा दिई समान तहमा उत्तीर्ण भई पुनरावेदन अदालत, पाटनबाट रमाना लिई गएपछि मलाई जनकपुर भन्सार कार्यालयले मिति २०६७/११/१२ देखि लागू हुने गरी नियुक्ति दिएको थियो । हाल म त्रि