निर्णय नं. ४२४९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२४९ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२०४७/१२/०५ २४८८ निर्णय नं. ४२४९ ने.का.प. २०४८ अङ्क १ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको रिट नं. ७८० आदेश भएको मिति : २०४७।१२।५।३ मा निवेदक : का.न.पं. वडा नं. ४ बस्ने खड्कबहादुर श्रेष्ठ विरुद्ध प्रत्यर्थी : वडा प्रहरी कार्यालय कमल पोखरीसमेत विषय : उत्प्रेषण (१) कुनै किसिमको विवाद उठी सो सन्दर्भमा सम्बन्धित पक्ष विपक्षीले कुनै कागज गरिदिए पनि त्यस्तो कागज गराउन वा लिन त्यस्तो विवाद निराकरण गर्न कानुनले अधिकार प्राप्त निकायले मात्र गर्न सक्ने । (प्रकरण नं. १०) (२) नाता कायम हुने किसिमको भान् पारी कागज गराउने वा त्यस्तो कागज लिने एवं दर्ता गर्ने कानुनी अधिकार प्रहरी कार्यालयलाई भएको नपाइने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान, विद्वान अधिवक्ता श्री अग्नि खरेल आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ । (साविक पेज नं. २८) २. म निवेदक विद्यार्थी हुनाको अतिरिक्त निर्माण सम्बन्धी साधारण काम गर्दछु । विपक्षी मध्येकी कान्ता राई मेरी मित बहिनी हुन जसको आफ्नो कुलधर्म अनुसार अघि नै विवाह भैसकेको छ । जुन तथ्य ‘सुसमा ओभरसिज’ नामक फर्मको प्रोप्राइटरको हैसियतमा आयकर प्रमाणपत्र लिन उनले स्वयं पेश गरेको मिति ०४४।९।१५ को फर्मको क्र.सं. २० बाट समर्थित हुन आउँछ । मिति २०४५ साल फाल्गुण १९ गते निज कान्ता राई मेरो घरभित्र पसी अनावश्यक आरोप लगाई बाहिर निस्कन नमानेको हुनाले, मौकामै कानुनी कारबाहीको निमित्त वडा प्रहरी कार्यालय कमल पोखरीमा रिपोर्ट गरेकोमा उक्त कार्यालयले निज कान्ता राईलाई उपस्थित गराई सोधपुछ गर्दा निज मेरो लोग्ने हो, निजको घरमा बस्ने मेरो हक छ भन्ने कुरामा जिद्दी गर्दा लोग्नेको नाता नभएको मान्छेलाई लोग्ने नभन्नु र पुनः निजको (म निवेदकको) घरमा नपस्नु भनी बचनवद्धपूर्वक मिति ०४५।११।१९ मा कागज गराई निजको र मेरो दस्तखत गराएका थिए । सो कागज मलाई हेर्न पढ्न नदिई स्वेच्छा विरुद्ध दस्तखत गर्नु पर्यो । मिति ०४६।४।७ मा म घरमा नभएको मौका पारी मेरो विशालनगर चण्डोलको घरमा झ्याल फोडी म निवेदकको स्वास्नी हुँ भन्दै जबरजस्ती पस्न लाग्दा मेरो घर कुरी बस्ने मेरो भानिज जगतनारायण श्रेष्ठले का.न.पं. वडा नं. ४ को वडा समितिमा सुरक्षाको निमित्त निवेदन दिई सोही दिन इज्जतसाथ घरबाट निकालेको व्यहोराको सरजमीन पनि भएको रहेछ । उक्त श्रावण ७ गतेका दिन निज विपक्षी कान्ता राईले मिति ०४५।११।१९ मा वडा प्रहरी कार्यालयमा भएको कागज जम्मा भएका मानिसलाई देखाई म निवेदक र कान्ता राई पति पत्नी हौं भन्ने देखाउँदा मेरो भानिजले सो कागज बिलकूलै झुठ्ठा हो भनी तत्काल प्रतिकार गरी म रोजगारीको सिलसिलामा रहेको तातोपानी भन्ने ठाउँमा आएका थिए । उक्त कागज मिति ०४६।३।२५ मा नक्कल सार्दा मिति ०४५।११।१९ मा भएको मेरो स्वेच्छा विरुद्ध गराएको कागज रहेछ । ३. विपक्षी कान्ता राईसंग मेरो मित बहिनी बाहेक अन्य नाता छैन । पति पत्नीको नाता छैन । पति पत्नीको सम्बन्ध कायम गर्ने कुरा स्वेच्छापूर्ण चयन अन्तर्गत पर्ने हक हो । विवाह र नाता सम्बन्ध जस्तो जिन्दगीको सबभन्दा जटिल तथा जिम्मेवार पक्षको निर्णायक प्