निर्णय नं. ९२९४ - नाता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२९४ - नाता कायम भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०७/०९ ५९६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।७।९।१ ०६६-CR-०१३५ मुद्दा : नाता कायम । पुनरावेदक/प्रतिवादी : जिल्ला रामेछाप, भटौली गा.वि.स. वडा नं.४ बस्ने बद्रिप्रसाद प्रसाई विरूद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ.बस्ने राधिका माझी § मातृत्व र पितृत्वको निर्धारणको लागि DNA को परीक्षण भरपर्दो आधार बन्न सक्ने कुरामा दुई मत नहुने । (प्रकरण नं. ३) § मुद्दाकी वादी सोझी लठेब्री महिला रहिछन् भन्ने कुरा फिराद तथा प्रतिउत्तर व्यहोराबाट देखिएको अवस्थामा यस्तो सोझोपनकी महिलाप्रति प्रतिवादीले मौकाको फाइदा उठाएका हुन् भन्ने कुरा निजको भनाई विश्लेषणबाट पुष्टि हुँदा मैले करणी गरेकै थिइन वा होइन भनी एकतर्फी जिकिर लिदैँमा प्रतिवादीको भनाईलाई अन्य प्रमाणबाट पुष्टि नभइकन मान्यता दिँदै जाने हो भने समाजमा सोझा सीधा मानिसहरूबाट फाइदा उठाउनेहरूलाई मद्दत पुग्न जाने अवस्था देखिने । (प्रकरण नं. ६) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री हरिशंकर कर्ण प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : § नेकाप २०३४, अङ्क ५, निर्णय नं. १०५२, पृष्ठ १३८ § नेकाप २०६५, अङ्क १०, नि.नं. ८०२६, पृष्ठ १२५० § नेकाप २०६६, अङ्क ११, निर्णय नं. ८२५०, पृष्ठ १७२७ सम्बद्ध कानून : § प्रमाण ऐन, २०३१ को दफा ५४ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री बैद्यनाथ गुप्ता पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री दिनेश कुमार कार्की मा.न्या.श्री गिरीराज पौड्याल फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य यसप्रकार रहेको छ : म माझी जातकी अविवाहित लठेब्री महिला हुँ । मेरो पिताले ठेक्कामा कमाएको पकरवासअन्तर्गत पर्ने बोक्से भन्ने खेतमा मिति २०६२।२।४ का दिन ४ बजेको समयमा म घाँस काटिरहेको अवस्थामा विपक्षी म भएको ठाउँमा आई करणी गर्न देउ भन्दा तिम्रो जात, उमेर केही मिल्दैन, नछुने भएको पनि ३ दिन भयो, करणी गर्नुहुन्न, पेट आयो भने के गर्ने भनी मैले विपक्षीलाई भन्दा एक्कासी कम्बरमा समाती जे परे पनि म बेहोर्छु भनी मकै खेतमा मलाई लडाई करणी गरी घरतर्फ लागे । त्यसपछि पनि जहाँ जहिले मौका पर्‍यो सो समयमा विपक्षी र मेरोबीचमा पटकपटक करणी लिनु दिनुभयो । सोही करणी वीर्यबाट मेरो पेटमा बच्चा बसेको थाहा पाई २०६२ सालको दशैंमा विपक्षीलाई भन्दा म बेहोर्छु भनी विपक्षी घर छाडी हिंडे मेरो गर्भ रहेको आमाले समेत थाहा पाएपछि जाँच गर्दा बच्चा पेटमा रहेको प्रमाणित भएपछि आमाले घरमा बस्न नदिएको हुँदा गाई गोठमा बस्दै आएकी छु । तसर्थ मेरो गर्भ विपक्षीको करणी वीर्यबाट रहेको हुँदा विपक्षी र मेरोबीचमा लोग्ने स्वास्नीको नाता सम्बन्ध कायम गरिपाउँ भन्नेसमेत व्यहोराको वादी राधिका माझीको फिराददावी । विपक्षीको फिराद हेर्दा होस ठेगानमा नभएकी, राम्ररी सम्झन, बुझ्न, ठम्याउन नसक्ने व्यक्ति रहिछन् भन्ने स्पष्ट छ । त्यस्तो व्यक्तिले भनेको कुरा आफैँमा शङ्कास्पद हुने अवस्थाका हुन्छन् । त्यस्तो व्यक्तिले जो कोहीलाई मुछ्‌न सक्ने कुरा निर्विवाद छ, विपक्षीलाई कसैद्वारा कुनै उद्देश्य पूरा गर्ने मनसायबाट उत्प्रेरित गराई मेरो नाम मुछ्‌न लगाएको सम्म हो, मबाट त्यस्तो किसीमको कुनै पनि कार्य भए गरेको छैन, विप