निर्णय नं. ९२९९ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२९९ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०६/३० ३२९३ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्र.न्या.श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७१।६।३०।५ ०६७–WF–००३२ विषय : उत्प्रेषण/परमादेश । निवेदक : जिल्ला विकास समितिको कार्यालय, तनहुँमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत पदमा कार्यरत श्रीमती सूर्यवदना पण्डित विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरसमेत § विपक्षीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयले अनुचित कार्य गरेको आरोपमा दिइने भनेको दुई तलब वृद्धि रोक्काको सजाय यस अदालतको आदेशले बदर भई सोही आदेशबाट पुनः स्पष्टीकरण माग गरी अख्तियारवालालाई उचित कारवाही गर्नु भनी परमादेशको आदेश जारी भएकामा महान्यायाधिवक्ताको कार्यालयमार्फत्‌ प्राप्त फाइलमा संलग्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०६८।४।२ मा विपक्षीलाई सम्बोधन गरी लेखेको पत्रमा निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५(क) बमोजिम अब आइन्दा यस्तो कार्य नगर्नु भनी चेतावनी दिएकोसम्म देखिँदा चेतावनी दिएको कार्य उक्त ऐनको दफा २२ को सजायभित्र पर्ने नदेखिँदा विपक्षीलाई यथावत्‌ बढुवा गरेको लोक सेवा आयोगको निर्णयमा कुनै कानूनको त्रुटि देखिन नआउने । (प्रकरण नं. ९) निवेदकको तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय विश्वप्रकाश भण्डारी र गोविन्द गौतम विपक्षीको तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी र विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय हरिप्रसाद उप्रेती र हरिकृष्ण कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : § निजामती सेवा ऐन, २०४९ को दफा ७(१), २२, २४ यसअघि रायबाझी फैसला गर्ने : मा.न्या. श्री बलराम के.सी. मा.न्या. श्री तर्कराज भट्ट आदेश न्या. ओमप्रकाश मिश्र : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतमा दर्ता भई संयुक्त इजलाससमक्ष पेस हुँदा सो इजलासका माननीय न्यायाधीशहरूको फरकफरक राय भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम पेस हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम्‌ आदेश यस प्रकार छ : म निवेदिका मिति २०५४।७।१२ मा राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा स्थायी नियुक्ति भई हाल जिल्ला विकास समितिको कार्यालय, तनहुँमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत पदमा कार्यरत छु । म निवेदिका उक्त कार्यालयमा कार्यरत रहँदाको अवस्थामा विपक्षी लोक सेवा आयोगले मिति २०६६।६।२८ गतेको गोरखापत्रमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीको पद सङ्ख्या ४१ (एकचालीस) कार्य क्षमता मूल्याङ्कनको आधारमा बढुवाद्वारा पदपूर्ति गर्न बढुवा सूचना नं. ५१/०६६/०६७ बाट दरखास्त आह्‍वान गरिएको छ भन्ने व्यहोराले विज्ञापन प्रकाशित गरियो । पछि पुनः मिति २०६६।७।१८ गते उक्त ४१ (एकचालीस) पदमा ९ (नौ) पद थप गरी जम्मा ५० (पचास) पद पदपूर्ति गर्ने भनी सूचना प्रकाशन गरियो । उक्त सूचनाबमोजिम मैले बढुवाको लागि दरखास्त फाराम पेस गरेकी थिएँ । शाखा अधिकृत पदमा सेवा प्रवेश गरेको मिति २०५४।७।१२ देखि बढुवाको विज्ञापन प्रकाशन गरेको मितिसम्म सोही पदमा सेवारत रहेको १२ वर्ष अवधि पूरा भैसकेको छ । उक्त पदमा बढुवा हुनका लागि निजामती सेवा ऐन, २०४९ को दफा २१ को उपदफा (१) मा बढुवाको निमित्त उम्मेदवार हुन बढुवा हुने पदको श्रेणीभन्दा