निर्णय नं. ९१८२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१८२ - अंश भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०२/१८ ४३९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ फैसला मिति : २०७१।२।१८।४ ०६७–CI–०३५५ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी : सल्यान जिल्ला, मार्के गा.वि.स. वडा नं. २ बस्ने पदमबहादुर कंवर विरूद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ.बस्ने रामबहादुर कंवर § पुनरावेदनपत्रमा कुनै रीत नपुगेको भएमा पक्षलाई जानकारी गराई मौकामा दरपीठ गरी फिर्ता दिनुपर्नेमा सो प्रक्रिया अवलम्बन नगरी पुनरावेदनपत्र स्वीकार गरी दर्ता गर्नुका साथै पक्षलाई तारिखमा राखी कारवाही अगाडि बढाएको मिसिलबाट देखिन्छ । अदालतले पुनरावेदन दस्तुर मात्र लिई पुनरावेदनपत्र स्वीकार गरेको अवस्थामा कारवाहीका क्रममा बुझ्दै जाँदा थप कोर्ट फी लाग्ने देखिएमा कोर्ट फी ऐन, २०१७ को दफा १४ बमोजिमको आदेश गरी कोर्ट फी दाखिला गराउन सक्नेमा पक्षलाई कोर्ट फी बुझाउने मौका नै नदिई बुझाउनुपर्ने कोर्ट फी दाखिला नगरी पुनरावेदन दर्ता गराएको भन्ने आधारमा मात्र पुनरावेदन खारेज गर्ने गरेको देखिन्छ । यसरी अदालत स्वयम्को भूलबाट पक्षको हक हनन् हुन नसक्ने भन्ने कानूनका सर्वमान्य सिद्धान्त विपरीत पुनरावेदन अदालतबाट भएको फैसला मिलेको नदेखिने । (प्रकरण नं. २) § कोर्ट फी लाग्ने मुद्दामा घटी वा नपुग कोर्ट फी ल्याएको रहेछ भने पुनरावेदन दर्ता गर्दाको अवस्थामा नै घटी वा नपुग कोर्ट फी जे जति बुझाउनुपर्ने हो सोही समयमै दाखिल गर्न लगाई मात्र मुद्दा दायर गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । यदि सोही समयमा दाखिल गर्न नसकी पक्षले समय माग गरेमा १५ दिनको समय दिई कोर्ट फी दाखिल गर्न लगाउने र सो समयमा पनि कोर्ट फी दाखिल नगरेमा मात्र मुद्दा लाग्न नसक्ने कानूनी व्यवस्था रहेको पाइने । (प्रकरण नं. ४) § मुद्दाका पक्षलाई कुनै जानकारी नगराई वा म्याद नै नदिई कोर्ट फी ऐन, २०१७ को दफा १४(३),(४) को सो व्यवस्थातर्फ ध्यान नै नदिई पक्षले कोर्ट फी दाखिल नगरेको भनी प्रथम दृष्टिमै खारेजी फैसला गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं. ६) पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता राजेश खड्का अवलम्बित नजिर : नेकाप २०४१, अङ्क १२, नि.नं.२२०७, पृष्ठ सम्बद्ध कानून : कोर्ट फी ऐन, २०१७ को दफा १४(४), १४(३), १८(१) न्याय प्रशासन ऐन, २०४८ को दफा १४ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री महम्मद जुनैद आजाद पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री हरिबाबु भट्टराई मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी फैसला न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, तुलसीपुर दाङको मिति २०६६।५।१४ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् निर्णय यस प्रकार छ : बाबु धनबीर कंवरका हामी २ छोरा दाजु पदमबहादुर र म फिरादी रामबहादुर कंवर दुई अंशियार हौँ । बाबु आमा परलोक भैसक्नुभएको र बहिनीको विवाह भैसकेको छ । चल सम्पत्ति बन्डा गर्नुपर्ने नभएकाले दाजुलाई अचल सम्पत्ति बन्डा गरौँ भन्दा अंश दिदैँन, जानेको गर भनी जवाफ दिएकाले प्रतिवादीबाट २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने फिरादपत्र । वादीले सगोलको सम्पत्तिबाट खरिद गरेको जग्गा आफ्नी श्रीमतीको नाममा राखेका छन् । हामी दुबैको अचल सम्पत्ति