निर्णय नं. ९३०१ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३०१ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०५/१२ २६२६ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७१।५।१२।५ ०७०-WS-०००४ विषय : उत्प्रेषण/परमादेश । निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२९ सामाखुसीस्थित अरूण मेडिकल सेन्टर प्रा.लि.को प्रबन्ध निर्देशक एवम् सञ्चालक शमशेर नेपाली विरूद्ध विपक्षी : नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत § गलत प्रतिवेदनले गलत परिणाम सिर्जना गर्दछ भन्ने पूर्वानुमान हुँदाहुँदै स्वास्थ्य परीक्षणको गलत प्रतिवेदन दिने प्रवृत्तिलाई निरूत्साहित गरी स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिने संस्थालाई कानूनको दायरामा ल्याउन खोजिएको कानूनको असल उद्देश्य आफ्नो हितअनुकूल नभएपछि कानून बदर माग गर्न कानूनी व्यक्तिको रूपमा स्थापित एउटा जिम्मेवार संस्थालाई शोभा नदिने । (प्रकरण नं. ५) § वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४६क को व्यवस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२(३) को कानूनी व्यवस्थामा अङ्कुश लगाएको नदेखिँदा कानून बाझिएको भनी गरिएका त्यस्ता अपरिपक्व दावीका आधारमा अदालतले आफ्नो खास दृष्टिकोण बनाई अति सूक्ष्मसम्वेदी भई हस्तक्षेप गरी कानून बदर गर्नु संविधानसम्मत नहुने । (प्रकरण नं. ६) पुनरावेदक/वादीको तर्फबाट : विद्वान् अधिवक्ता मुकुन्द न्यौपाने प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल अवलम्बित नजिर : सम्बद्ध कानून : § वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२, ८५ § वैदेशिक रोजगार नियमावली, २०६४ नियम ४६ आदेश न्या. कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१) र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार छ : कम्पनी ऐन, २०६३ बमोजिम अरूण मेडिकल सेन्टर दर्ता गरी निजी तथा गैरसरकारी स्वास्थ्य संस्था (अस्पताल तथा नर्सिङ होम आदि) स्थापना, सञ्चालन नीति, मापदण्ड एवम् पूर्वाधार निर्देशिका, २०६१ बमोजिम सञ्चालन तथा व्यवसाय गरी मिति २०७०।१२।२९ सम्मको लागि नवीकरणसमेत गरेको छु । प्रचलित कानूनको अधीनमा रही सर्वसाधारणको स्वास्थ्य परीक्षणको अतिरिक्त वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको लागि पनि स्वास्थ्य परीक्षणको कार्य गरी आएको छु । स्वास्थ्य संस्थाले गलत प्रतिवेदन दिई रोजगारमा जाने व्यक्तिलाई कुनै हानि नोक्सानी हुनपुगेमा सोको छानबिन गर्न एक विशेषज्ञ समिति रहने व्यवस्था वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४६ मा व्यवस्था भएकोमा उक्त नियमावली संशोधन गरी नियम ४६क थप गरिएको छ । स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाहरूको सूचीकरण गर्न र सूचीकृत स्वास्थ्य संस्थाको सूचीकरण खारेज गर्ने भनी थप भएको नियम ४६क वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ विपरीत रहेको छ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरण गर्नेसम्बन्धी मापदण्ड, २०७० बमोजिम २०७०।३।२८ बाट अनुगमन कार्य सुरू गरिने भनी मिति २०७०।३।२४ को कान्तिपुर दैनिक पत्रिकामा सूचना प्रकाशन गरिएको छ । त्यसैगरी मिति २०६९।१२।३१ को गोरखापत्रमा स्वास्थ्य परीक्षण गराउन इच्छुक स्वास्थ्य संस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ बमोजिम ३५ दिनभित्र आवेदन दिनु भनी सूचनासमेत प्रकाशित गरिएको रहेछ । दर्त