निर्णय नं. ९३०३ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३०३ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/११/१४ १४०३८ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।११।१४।५ ०७०–WS–००५० विषयः उत्प्रेषण/परमादेश । निवेदक : लमजुङ जिल्ला, चन्द्रेश्वर गा.वि.स., वडा नं. ६ बस्ने वर्ष ३७ को सुमन अधिकारीसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत § जनताको हक अधिकारको रक्षा गरी न्याय गर्ने प्रयोजनका लागि अदालतबाट विभिन्न महत्त्वपूर्ण अवसरमा जारी भएका निर्णय, आदेश एवम् निर्देशनहरू न्यायका सर्वोपरि आवश्यकतानुरूप गरिएका हुँदा तिनको सम्मान गर्नु कानूनी राज्यको धर्म निर्वाहको अभिन्न अङ्गको रूपमा लिनुपर्ने संवैधानिक बाध्यता हो । ती निर्णय, आदेश, निर्देशनको उपेक्षा गरी अर्को अङ्गले बेग्लाबैग्लै वा विपरीत दिशामा हिँड्ने कोशिस गर्ने हो भने कानूनी राज्य सुचारू हुन सम्भव नहुने । § न्यायापालिकाले आफ्नो स्वार्थ वा अहम्को प्रतिपादनको लागि कुनै गम्भीर निर्णय गर्न सक्तैन र गर्ने अपेक्षा नै गरिएको हुँदैन भने अन्य अङ्गले पनि न्यायिक निर्णय वा आदेशहरूको पूर्वाग्रहसहित उल्लङ्घनको बाटोमा हिड्ने अपेक्षा गरिएको हुँदैन । राज्ययन्त्रका सहअङ्गका रूपमा स्थापित संस्थाहरू स्वयम् द्वन्द्व, उपेक्षा वा उल्लङ्घनको दिशामा हिँड्ने हो भने जनताको हक र न्याय नै सबैभन्दा बढी प्रभावित हुन्छ, जुन राज्य स्वयम्को लागि पनि अन्ततः घातक हुनसक्तछ । त्यस्तो दुष्कर किम्वा अप्रिय कामकुरा लोकतान्त्रिक संस्थाहरूको लागि ग्राह्य हुन नसक्ने । (प्रकरण नं. ५०) § पूर्वाग्रह र जीतहारको भावनाबाट सम्मुख वा विमुख नभई संविधान र न्यायका मूल्य मान्यताबाट अनुप्राणित हुनु जरूरी हुन्छ । विश्वव्यापीकरणको असर र प्रभावबाट आज संसारको कुनै पनि मुलुक पृथक रहन सम्भव छैन । त्यसैले विश्वभर स्वीकारिएका न्याय र अधिकारका मूल्य मान्यताको प्रयोग र पालना भिन्न तरिकाबाट गर्न खोज्ने सोंचले राष्ट्रलाई विश्व समुदायबाट अलग्याउने मात्र होइन राष्ट्रको अन्तर्राष्ट्रिय छवि उजिलिन सक्तैन । अन्तर्राष्ट्रिय समुदायसमक्ष राज्यले व्यक्त गरेका प्रतिबद्धताहरूको कार्यान्वयनबाटै राज्यले आफूलाई विश्वमञ्चमा स्थापित गराउन सक्तछ । प्रतिबद्धता भने गरिरहने तर पछि हटिरहने सोंचले विश्वसनीयताको क्षयीकरण मात्र हुने । (प्रकरण नं. ५२) § गतिशील समाजमा द्वन्द्वहरू स्वाभाविक मानिन्छन् । द्वन्द्वले नकारात्मक मात्र होइन कतिपय अवस्थामा सकारात्मक परिणामहरू पनि सिर्जना गर्दछ । त्यसको लेखाजोखा द्वन्द्व विश्लेषकहरूले गर्ने नै छन् । तर द्वन्द्वलाई एउटा निश्चित बिन्दुभन्दा अगाडि बढ्न दिइरहनु कसैको पनि हितमा हुँदैन । यसको लागि द्वन्द्वको न्यायपूर्ण, सर्वमान्य र सन्तुलित व्यवस्थापन अपरिहार्य हुन्छ । द्वन्द्वको असरले पीडित बन्न पुगेको समाजको ठूलो वर्गले उपेक्षित र अन्यायको महसुस गरिरहने अवस्था कायम गर्न खोज्नु द्वन्द्वको ठीक ढङ्गबाट व्यवस्थापन नगर्नु र पुनरावृत्तिलाई आमन्त्रण गर्नुसरह नै हो । द्वन्द्वका असर र प्रभावहरूलाई सही रूपमा उजागर नगर्नु तथा तिनको न्यायोचित सम्बोधन गर्न नसक्नुले द्वन्द्व पुनरावृति हुने अवस्थालाई टेवा प्रदान गर्दछ भन्ने कुरा बिर्सन नहुने । § राज्यको चरित्र दण्डहीनतालाई प्रोत्साहन गर्ने होइन द्वन्द्वले उठाएका प्रश