निर्णय नं. ९३०५ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३०५ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०५/३१ ४१७४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गोपाल पराजुली आदेश मिति : २०७१।५।३१। ५ ०७०-WO-०८९६ मुद्दाः उत्प्रेषण/परमादेश । निवेदक : कपिलवस्तु जिल्ला, बैदौली गा.वि.स.साविक वडा नं.२ को हाल वडा नं.५ मौजा सोठौली बस्ने मतिबुल्लाह मुसलमान विरूद्ध विपक्षी : निजामती किताबखाना, हरिहरभवन, ललितपुरसमेत § शैक्षिक योग्यतामा उल्लिखित जन्ममितिले नागरिकता प्रमाणपत्रमा लेखिएको वर्षलाई पुष्टि गरेको अवस्थामा त्यसलाई अन्यथा हुने गरी निर्णय गरिएमा त्यसले नागरिकलाई प्रदान गरेको संविधानप्रदत्त पेसा रोजगार गर्न पाउने हक र समानताको हकमा अनिश्चितता उत्पन्न भई मौलिक हकमा समेत अनुचित बन्देज लाग्न गई आघात पर्न जाने । (प्रकरण नं. ६) § कानूनको शाब्दिक व्याख्या गर्दा कानूनको तर्कपूर्ण, विवेकसम्मत, व्यावहारिक एवम्‌ न्यायपूर्ण अर्थ ननिस्कने भएमा कानूनको शाब्दिक व्याख्याको अनुशरण नगरी व्याख्याको स्वर्णिम नियमलाई अनुशरण गरी कानूनको सन्दर्भ सुहाउँदो सुस्पष्ट व्याख्या गर्नुपर्ने । (प्रकरण नं. ७) § शैक्षिक संस्थाबाट जारी भएको प्रमाणपत्र, नागरिकता प्रमाणपत्र वा वैयक्तिक नोकरी विवरण (सिटरोल) मा किटिएको जन्ममितिबाट हुन आएको उमेरलाई अवकाशको आधार मान्नुपर्ने देखिने । § निजामती सेवा नियमावली, २०५० को नियम १०२ क को उपनियम (३) मा कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ तथा त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्नेछ भन्ने व्यवस्था भएबाट निवेदकले विपक्षी निजामती किताबखानामा पेस गरेको शैक्षिक योग्यतासमेतका प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति र अन्य कुनै प्रमाणहरूमा पेस भएका कागजातबाट देखिने जन्ममिति सो भन्दा फरकफरक उल्लेख भई जन्ममितिको बीचमा अन्तर रहेको नदेखिने । (प्रकरण नं. ९) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता नरेन्द्रप्रसाद पाठक विपक्षीको तर्फबाट : उपन्यायाधिवक्ता सूर्यराज दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : § निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा (३) § निजामती सेवा नियमावली, २०५० को नियम १०, १०२ क को उपनियम (३) आदेश न्या. गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा दर्ता भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम्‌ आदेश यसप्रकार छ : म निवेदक मिति २०३३।४।३ मा रा.प.अनं. द्वितीय श्रेणीको गा.वि.स.सचिव पदमा अस्थायी र २०३३।८।१ मा सोही पदमा स्थायी नियुक्ति पाई हाल रा.प.अनं.प्रथम श्रेणी (ना.सु.) पदमा बढुवा भई गा.वि.स.सचिव पदमा नै कार्यरत छु । मैले निजामती सेवा ऐनको व्यवस्थाबमोजिम आफ्नो उमेर हदको आधारबाट ५८ वर्षसम्म सेवा गर्न पाउनेमा विपक्षी निजामती किताबखानाले मिति २०७०।५।२७ को पत्रबाट मलाई मेरो मिति २०७१।३।३२ मा ५८ वर्ष उमेर पूरा हुने हुँदा मिति २०७१।४।१ देखि अनिवार्य अवकाश दिनु भनी म कार्यरत जिल्ला विकास समितिको कार्यालय, कपिलवस्तुलाई लेखेको पत्रको बोधार्थ मैले मिति २०७१।२।२० मा पाएँ । उक्त पत्रलाई हेर्दा मैले २०३३ सालमा अस्थायी सेवा प्रवेश गर्दा भरेको एकपाने सिटरोलमा जन्ममिति महलमा जन्ममिति उल्लेख नगरी २० वर्ष उल्लेख