निर्णय नं. ९३०६ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३०६ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०३/१० ३६३२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गोपाल पराजुली आदेश मिति : २०७१।३।१०।३ ०६८–WO–१२४३ मुद्दाः उत्प्रेषण/परमादेश । निवेदक : महोत्तरी जिल्ला, जलेश्वर न.पा. वडा नं. ११ बस्ने अधिवक्ता दिनेश चौधरी विरूद्ध विपक्षी : सर्वोच्च अदालत, काठमाडौं § अदालतबाट प्रमाणित गरिने कागजातहरू आधिकारिक कानूनी दस्ताबेज र प्रमाणको रूपमा रहने कुरामा विवाद नहुने । § देशभरीका सबै अदालत तथा न्यायाधिकरणसमेतले सरोकारवालाको मागको आधारमा मिसिल सामेल रहेका कागजातहरू प्रमाणित गर्ने । § अदालत, न्यायाधिकरण र फैसला कार्यान्वयन निर्देशनालयसमेतबाट प्रमाणित नक्कल कागजातले कानूनबमोजिम आधिकारिकता पाइसकेका छन् । तिनै प्रमाणित कागजातका आधारमा कति मुद्दाहरूको उठान भैसकेकोछ, प्रमाणमा ग्रहण भैसकेको छ, कति सुरू अदालतका फैसलाका नक्कलका आधारमा पुनरावेदन परी फैसला भई फैसला कार्यान्वयन भै सकेका छन्, कति विचाराधीन अवस्थामा छन्, त्यसतर्फ कुनै विचारै नगरी ती कागजातहरूको आधारमा न्याय र अधिकारप्राप्त गर्ने नागरिकहरूको संविधान तथा कानूनी हक अधिकारमा प्रतिकूल असर पर्ने गरी भैसकेको काम कारवाहीलाई अमान्य र बदर घोषित गर्न नमिल्ने । (प्रकरण नं. ५) § अड्डा अदालतमा रहेका मिसिलमा संलग्न कागजातहरूको कानूनबमोजिम दिइने नक्कललगायतका कागजातमा दर्जा पुगेको कर्मचारीले प्रष्ट बुझिने गरी दर्जा खुलाई शिर वा पुछारमा कुनै एक ठाउँमा पूरा नामको दस्तखत गर्नुपर्ने अनिवार्य व्यवस्था भए पनि धेरै पेज वा प्रति भएमा पहिलो एक पेजको शिर वा पुछारमा कुनै एक ठाउँमा दस्तखत गर्ने कर्मचारीले पूरा नामको दस्तखत गरी अन्य ठाउँमा छोटकरी दस्तखत गर्दा हुने गरी व्यवस्था भएको देखिन्छ । कुनै एक ठाउँमा दस्तखत गरी अन्य ठाउँमा दस्तखत नगरी छाप लगाउन पाउने व्यवस्था उल्लेख नभएकाले दस्तखत देवनागरी अक्षरमा नै हुनुपर्ने भनी प्रष्टरूपमा निर्देश गरेको देखिने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता दिनेश चौधरी विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सूर्यराज दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, कागज जाँचको महलको १० नं आदेश न्या. गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा दर्ता भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यस प्रकार छ : सरकारी नोकरीको सिलसिलामा इमान्दारीपूर्वक सेवा गरेबापत वि.स. २०५१ सालमा सुप्रसिद्ध गोरखा दक्षिणबाहु पदक पाएँ । सो गोरखा दक्षिणबाहु पदकमा श्री ईश्वरका अनुग्रहले चिरकाल पर्यन्त सुख आनन्दपूर्वक मातृभूमि र नुनको सोझो चिताई यो इज्जतको उपभोग गर्न मिलोस् भन्ने जस्ता शब्दहरू उल्लेख भएकाले विदेश नगई आफ्नै देशमा सेवा गर्ने विचार गरें । काभ्रे जिल्लाको बालुवा गा.वि.स. को रानीपानीमा आमजनताको सहयोगमा २०५३ सालदेखि हालसम्म भगवान् बुद्धका उपदेशमा आधारित परियति शिक्षाको प्रचार गर्न एउटा नमूनाको रूपमा सानो पञ्चशील समाज निर्माण गर्नमा मेरो अथक प्रयास जारी छ । म सो पञ्चशील समाजको एउटा छात्र पनि हुँ । कानूनी राज्यमा कानूनको ठूलो महत्त्व रहेकाले कानून संकायअन्तर्गत २०६६ सालमा एल.एल.बी. उत्तीर्ण गरें । हाल म आफ्नो जीवन इन्जिनियर, अधिवक्ता र सत्यशोध छात्रको रूपमा बिताइरहेको छु । मुलुकी ऐन, कागज जाँचको