निर्णय नं. ९३०७ - अपुताली हक कायम नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३०७ - अपुताली हक कायम नामसारी भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०९/०१ ४०४३ श्री सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।९।१।३ ०६७-CI-०१९० मुद्दा : अपुताली हक कायम नामसारी । पुनरावेदक/प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं.४ बस्ने उमादेवी कार्की विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं.४ बस्ने कुमारी कार्की § अंशबन्डाको लिखत अनुसार अलग भएका अंशी पुनः सगोलमा रहने इच्छा भए अंश जोरिएको लिखत पारित गर्नैपर्ने यो कानूनी सर्त हो । आचरण र व्यवहारले लिखतको स्थान ग्रहण गर्न सक्तैन । अंशबन्डा पारित गरी अंश लिई छुट्टिभिन्न भएका अंशियारले पुनः सगोलमा बस्ने मनसाय र प्रयोजन भए सोहीबमोजिम लिखत पारित गराई सगोलमा अंश मिसाई बस्नुपर्ने हुन्छ । कानूनबमोजिमको लिखत गरी आफ्नो अंश भाग लिई छुट्टिएका पति पत्नीले आचरण र व्यवहारबाट पुनः अंश मिसाई बसेको भन्ने जिकिरले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं. ७) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र शम्भु थापा तथा विद्वान् अधिवक्ता पूर्ण राजवंशी प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र सविता बराल, विद्वान् अधिवक्ता बालमुकुन्द श्रेष्ठ अवलम्बित नजिर : § नेकाप २०६७, अङ्क ७, नि.नं.८४१०, पृष्ठ ११२३ सम्बद्ध कानून : § मुलुकी ऐन, अपुतालीको महलको ६ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री तेजबहादुर कार्की पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या. श्री भूपध्वज अधिकारी मा.न्या. श्री हरिबहादुर बस्नेत फैसला न्या. जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ : स्व.पदमबहादुर कार्कीका ३ श्रीमतीहरूमा जेठी चन्द्रकुमारी, माहिली म फिरादी कुमारी कार्की र कान्छी उमादेवी कार्की हौं । जेठी चन्द्रकुमारीको २०४६ सालमा मृत्यु भइसकेको छ । प्रतिवादी उमादेवी कार्की र पति पदमबहादुर कार्की तथा मबीच मिति २०२०।५।६ मा अंशबन्डा भएको थियो । मैले पतिसमेतउपर २०५६ सालमा अंश मुद्दा दायर गरेकोमा २०२० सालको बन्डापत्र कायम गरी उक्त मुद्दामा मिति २०५७।२।१३ गते मिलापत्र भएको थियो । यसरी मिलापत्र गरी पतिको साथ बसी आएकोमा पति पदमबहादुर कार्कीको मिति २०५७।४।२९ मा मृत्यु भएपश्चात पतिको नाममा दर्ता रहेका जग्गाहरू विपक्षी उमाकुमारीले आफ्नो नाममा एकलौटी दर्ता गरिपाउँ भनी मिति २०५७।७।१४ मा मालपोत कार्यालय, विराटनगरमा निवेदन दिनुभएको रहेछ । सो कुराको जानकारी प्राप्त भएपछि मैले पनि मिति २०५७।७।२१ मा मालपोत कार्यालयमा स्व.पदमबहादुरको मसमेत हकदार अंशियार भएकी हुँदा मसमेतका नाउँमा नामसारी दर्ता गरिपाउँ भनी निवेदन दिएपछि मालपोत कार्यालयले २०५७।१०।१९ मा हक कायम गरी ल्याउन भनी गरेको निर्णयको सूचना मिति २०५७।१२।१२ मा प्राप्त भएको हुँदा प्रस्तुत फिराद गर्न आएकी छु । २०२० सालमा भएको अंशबन्डाले पतिबाट छुट्टिई भिन्न भएकी र उक्त मितिपश्चात स्व.पति पदमबहादुरसँग मानो जोडिएको लिखतसमेत नभएको हुँदा स्व.पति पदमबहादुरको अपुताली परेको सम्पत्तिमा निजको मात्र हक नपुगी मेरोसमेत हक रहेको हुँदा स्व.पदमबहादुर कार्कीका नाममा रहेको जि