निर्णय नं. ९३१५ - मिलापत्र बदर गरी हक कायम गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३१५ - मिलापत्र बदर गरी हक कायम गरिपाउँ भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०५/१८ ६१९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।५।१८।४ ०६६-CI-१२६७ मुद्दा : मिलापत्र बदर गरी हक कायम गरिपाउँ । निवेदक/प्रतिवादी : चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. ३ बस्ने भैरवकुमार पियासमेत विरूद्ध प्रत्यर्थी/वादी : चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. ३ बस्ने श्यामकुमार पिया § मुलुकी ऐन, स्त्री अंशधनको महलको १ र ५ नं. को कानूनी मान्यतालाई हेर्दा सो महलको १ नं. मा "कन्या वा सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउँछन् " भनी उल्लेख भएको देखिन्छ । यस कानूनी व्यवस्थाअन्तर्गत आफ्नो आर्जनको सम्पत्तिभित्र कुनै स्त्रीले प्राप्त गरेको सम्पत्ति पर्न आउँदछ । अंशबन्डाबाट प्राप्त भएको, दाइजो, पेवा, दानबकस वा अपुतालीबाट किन नहोस् जुनसुकै तवरबाट प्राप्त भएको सम्पत्ति यसअन्तर्गत पर्दछ । अंशबन्डाबाट आफ्नो हक भोग तथा स्वामित्वमा रहेको सम्पत्ति जुनसुकै व्यहोराबाट पनि जो कोहीलाई दिन हक हस्तान्तरण गर्न पाइने कुरामा दुईमत हुन नसक्ने । (प्रकरण नं. २) § मुद्दाका वादी प्रतिवादीबीच सगोलमा रहेको भनी सहमति हुन्छ भने अदालतले निजहरू सगोलमा नरही बेग्लै रहेको भन्न मिल्ने अवस्था रहेन । पक्षहरू स्वयम्ले आफूहरू सगोलमा रहेको भनी अदालतमा पेस गरेको लिखतबाट स्वीकार गरेको अवस्थामा अंशबन्डाको महलबमोजिम मानो जोडिएको लिखतको अभावमा सगोलमा रहेको भन्न मिल्दैन भन्ने प्रत्यर्थी वादीको भनाइसँग सहमत हुन सकिएन । यस्तो स्थितिको व्यवहारलाई अंशबन्डाको महलको कानूनी व्यवस्थाविपरीत भएको व्यवहार भनी भन्न मिल्ने पनि नदेखिने । (प्रकरण नं. ५) § अंशबन्डाबाट प्राप्त हुन आएको स्त्रीअंशधनअन्तर्गतको सम्पत्ति आफूलाई पालन पोषण एवम् हेरचाह गर्ने छोरा बुहारी एवम् नातिसमेतलाई बकसपत्र वा मिलापत्र जुनसुकै व्यहोराबाट पनि हक हस्तान्तरण गर्न सक्ने कानूनी अवस्था भएको र मिलापत्रबाट हक हस्तान्तरण भएको स्थितिलाई मान्यता दिनुपर्नेमा सोलाई बदर गर्ने गरी जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेको नदेखिँदा सुरू जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरिएको पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. ६) निवेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र बालकृष्ण न्यौपाने प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र श्यामप्रसाद खरेल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, स्त्री अंशधनको महलको १ र ५ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री विष्णुदेव पौडेल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या. श्री गिरीराज पौडेल फैसला न्या. चोलेन्द्र शमशेर ज.ब.रा. : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ : बाजे त्रिभुनारायणका छोराहरूमा क्रमशः जेठो फिरादकर्ता तथा विपक्षहरू भैरवकुमारसमेतका बुबा स्व. रेवतीप्रसाद पिया, माइलो कोमल नारायण पिया, साहिँला स्व. सूर्यनारायण पिया, काइँलो उदयकुमार पिया र कान्छो पन्चकुमार पियासमेतका अंशियार