निर्णय नं. ८७१६ - बहुबिवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७१६ - बहुबिवाह भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०८/२२ १६३३६ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती ०६५–CR–०४६४ फैसला मितिः २०६८।८।२२।५ मुद्दा : वहुबिवाह । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३४ बस्ने कमलमोहन चापागाई समेत विरुद्ध प्रत्यर्थी वादीः देव चापागाईको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने : मा.न्या.श्री शिवनारायण यादव पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री कृष्णप्रसाद बस्याल मा.न्या.श्री हरिप्रसाद घिमिरे § वस्तुतः नजीरको पालना र प्रयोग न्यायिक निरन्तरता, निश्चितता र न्यायिक अनुशासन कायम राख्नका लागि आवश्यक हुन्छ । तर यसमा सतर्कता अपनाउनु पनि उत्तिकै आवश्यक तत्व हुन्छ । समान तथ्य भएको कुनै विवादको विषयमा कायम भएको कानूनी सिद्धान्त त्यस्तै तथ्य भएको अर्को बिवादको विषयमा लागू हुन्छ । फरक तथ्य र फरक परिस्थितिको मुद्दामा कायम भएको नजीर विषयको समानता वा पछिल्लो मुद्दाको नामाकरणमा समानताको आधारमा मात्र पहिलाभन्दा विल्कुलै फरक तथ्य भएको मुद्दाको निर्णय गर्दा प्रयोग गर्न वा लागू गर्न मिल्ने होइन । यसकारण नजीरको पालना र प्रयोगमा पनि न्यायिक विवेकको प्रयोग गर्दै सतर्कता अपनाउनु पर्ने । (प्रकरण नं.८) § बहुविवाह मुद्दा गर्नका लागि सीमित समयावधिको हदम्याद कानूनले निर्धारित गरेकोमा कुनै विवाद छैन । बहुविवाह मुद्दा दायर गर्ने खुल्ला वा असीमित हदम्याद वा जहिले पनि दायर गर्न सकिने भन्ने ऐनले व्यवस्था नगरेकोले सीमित हदम्यादभित्रै बहुविवाह मुद्दा दायर गर्नुपर्ने ऐनको व्यवस्था र उद्देश्य स्पष्ट छ । यसलाई एक वा अर्को तर्क वा कारणको आधारमा असीमित वा खुल्ला हदम्यादको रुपमा परिणत वा परिभाषित गर्न नमिल्ने । (प्रकरण नं.९) § वैवाहिक सम्बन्धलाई समाजले मान्यता प्रदान गरिसकेको, छोरा, छोरी जन्मिसकेको, तिनीहरूको जन्मदर्ता पनि गरिसकेको अवस्थामा पनि पहिलो पत्नी वा अनुसन्धान र मुद्दा गर्ने सरकारी निकायले थाहा नपाउनु भनेको सीमित हदम्यादसम्बन्धी कानूनी व्यवस्थाको बेवास्ता वा उपेक्षा हुन जाने । (प्रकरण नं.१०) § बहुविवाहमा जहिले पनि नालिस लाग्छ भनी सोच्नु वा अर्थ गर्नु भनेको बिहावारी ऐनको हदम्यादसम्बन्धी कानूनी व्यवस्था र यसको उद्देश्यलाई र विधायिकाको मनसायलाई पनि पराजीत गर्नु हो । जहिलेसुकै पनि अभियोग दावी गर्न सकिने भए बिहावारीको ११ नं. मा तीन महिने हदम्यादको सीमा नै उल्लेख गर्नुपर्ने अवस्था नआउने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता उत्तमप्रसाद सापकोटा वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजीरः § नेकाप २०६३, अङ्क ५ नि.नं. ७६९४, पृ. ५५४ सम्बद्ध कानूनः § विहावारीको महलको ६, ७, ९ र ११ नं. फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, पाटनको मिति २०६५।२।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड (१) को देहाय (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाऊँ भनी परेको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनको रोहमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :— म जाहेरवालीको कमलमोहन चापागाईसँग २०२८ सालमा विवाह भै २ छोरा र १ छोरीको जायजन्म भएकोमा १ छोरा र १ छोरीको आफ्नै कालगतिले मृत्यु भएको श्रीमानले मलाई मादक