निर्णय नं. ९३३० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३३० - अंश भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/१०/२० ३४१४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।१०।२०।३ ०६७– CI –०१७७ मुद्दा : अंश । पुनरावेदक/वादी : जिल्ला कपिलवस्तु, गा.वि.स. गोटिहवा वडा नं.१ दलदलहा बस्ने सन्तराम कुर्मी विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला कपिलवस्तु, गा.वि.स. गोटिहवा वडा नं. १ दलदलहा बस्ने राजकुमार कुर्मी § वादी सन्तरामले मिति २०५९।८।१८ मा सुरू अदालतमा गरेको कागजमा आमा सूर्यमती जीवित नै रहेको भनी स्पष्ट उल्लेख गरेको अवस्थामा मिसिलबाटसमेत देखिन आएको सरोकारवाला (अंशियार) व्यक्ति निज सूर्यमतीलाई बुझी इन्साफ गर्नुपर्नेमा नबुझी अदालतले आफ्नो जिम्मेवारी वहन नगर्ने, नाता सम्बन्धको निर्णायक प्रमाण नबुझ्ने अनि फिरादपत्रका कमी कमजोरीमात्र देखाई सो आधारमा नकारात्मक धारणा बनाई नाता सम्बन्ध जस्तो व्यक्तिको स्थिति (Status) मा नै प्रभाव पर्ने गरी फैसला गर्ने कार्यलाई न्यायिक जिम्मेवारी बोधको अभाव भन्नुपर्छ । यसमा पुनरावेदन र सुरू अदालतका न्यायकर्ताबाट गम्भीर लापरवाही भएको मान्नुपर्ने । (प्रकरण नं. १०) § आफू काशीरामको एक मात्र छोरा भनी प्रतिवादीले नितान्त झुट्ठा कुरा गरेको अवस्थामा प्रतिवादीको अरू कथनमा विश्वास गर्न यो इजलासलाई असजिलो भएको छ । राजकुमारका दाजु रामलखन के भए त, निजको विवाह भयो भएन, निजबाट सन्तान जन्म्यो जन्मेन जस्ता यावत कुरालाई प्रतिवादीले लुकाउन दबाउन खोजेको स्थिति छ भने अर्कोतिर वादी आफू निजै रामलखनको छोरा भएको भनेर सरजमिन र मतदाता नामावलीलगायतका निश्चयात्मक प्रमाणका साथ उपस्थित भएको स्थिति विद्यमान छ । प्रतिवादीको भ्रामक अनि ठाउँठाउँमा शृङ्खलाको कडी खुस्केको निजको सन्देहास्पद अभिकथनलाई आधार बनाई वादीलाई बाबु आमाको अत्तोपत्तो नभएको अवैध व्यक्ति भन्नु कदापि मनासिब नहुने । (प्रकरण नं. ११) पुनरावेदक/वादीको तर्फबाट : विद्वान् अधिवक्ता नरेन्द्रकुमार के.सी. प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता सुनिलकुमार पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अ.बं. ७८, १३३ नं. § प्रमाण ऐन, २०३१ को दफा २६ सुरू तहमा फैसला गर्ने : मा.जि. न्या. श्री विनोदमोहन आचार्य पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या. श्री रामप्रसाद खनाल फैसला न्या. गोविन्दकुमार उपाध्याय : पुनरावेदन अदालत, बुटवलको मिति २०६२।१।१९ गते भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड क बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : आमा बाबुहरू स्वर्गीय भै सकेका छन् । प्रतिवादी दाजु राजकुमार कुर्मी र वादी म सन्तराम कुर्मी एकाघर सगोलमा बस्दै आउँदा संवत् २०३४।१।१ मा म वादी मानोसम्म छुट्टिई अन्य सबै कुरा सगोलमै राखी भोग गर्दै आउँदा २०५८।१।१ मा अंशबन्डा गरी दर्तासमेत छुट्ट्याई देऊ भन्दा प्रतिवादीले नमानेकाले २०३४।१।१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी लिई मेरो हुने आधा अंश अड्डाबाट छुट्ट्याई दिलाई पाउँ भन्नेसमेत व्यहोराको सन्तराम कुर्मीको फिरादपत्र । मिति २०५८।५।८ मा दायर भएको अंश मुद्दाको प्रतिवादीको बाबुको नाउँ काशीराम कायम गर्न र फिरादमा उल्लिखित प्रकरण १ र २ मा र