निर्णय नं. ९३४१ - बहुविवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३४१ - बहुविवाह भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/०१/२३ ७०२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ फैसला मिति : २०७१।१।२३।३ ०६७-CR-०१७७ मुद्दाः बहुविवाह । पुनरावेदक/वादी : बुद्धलक्ष्मी श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १४ घर भई हाल भक्तपुर जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं. ८ बस्ने कृष्णा दुवाल (सुवाल) ०६७-CR-०७९२ पुनरावेदक/प्रतिवादी : जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १४ घर भई हाल भक्तपुर जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं. ८ बस्ने लक्ष्मीसुन्दर सुवाल विरूद्ध प्रत्यर्थी/प्रतिवादी : बुद्धलक्ष्मी श्रेष्ठको जाहेरीले नेपाल सरकार श्रीमतीले अंश लिई भिन्न भई बसेको अवस्थामा लोग्नेले अर्को विवाह गर्न पाउने भए पनि अंश लिई छुट्टिभिन्न हुनुअघि नै अर्को विवाह गर्न पाउने छुट कानूनले प्रदान गरेको छैन । अर्को विवाह गरिसकेपछि अंश मुद्दा दिएको वा अंश प्राप्त गरेका कारणले पहिलो श्रीमती छुट्टिभिन्न नहुँदै अर्को विवाह गर्नेले बहुविवाहको कसुरबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं. ११) वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राम घिमिरे प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने अवलम्बित नजिर : नेकाप २०६४, पुस, नि.नं. ७८८४, पृ. १२ सम्बद्ध कानून : मुलुकी ऐन, बिहावरीको महलको ९ नं. र १० नं. प्रमाण ऐन, २०३१ को दफा २५ फैसला न्या. रामकुमार प्रसाद शाह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : लक्ष्मीसुन्दर सुवाल र मेरोबीच २०६०।११।२३ मा सामाजिक परम्परा अनुसार विवाह भएपछि श्रीमान् श्रीमती भै बसी घर व्यवहार गर्दै आएकामा निज श्रीमान्ले दिएको सल्लाह अनुसार जागिरको लागि सोलुखुम्बु जिल्लाको पासाङ्गल्हामु अस्पतालमा कार्यरत रहिरहेकी थिएँ । म जागिरको सिलसिलामा सोलुखुम्बु गई घरमा नभएको अवस्थामा म श्रीमती हुँदाहुँदै बिनाकारण निज श्रीमान्ले कृष्णा दुवाललाई कान्छी श्रीमती बनाई घरमा ल्याई राखेको कुरा थाहा पाई मिति २०६४।३।१८ गते घरमा आई हेर्दा निजहरू दुवैजना श्रीमान् श्रीमती बनी घरमा बसी रहेको अवस्थामा फेला परेकाले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको बुद्धलक्ष्मी श्रेष्ठको जाहेरी दरखास्त । जाहेरवाली बुद्धलक्ष्मी श्रेष्ठ र प्रतिवादी लक्ष्मीसुन्दर सुवालबीच मिति २०६०।११। २३ गते विवाह भएकामा निज जाहेरवाली आफ्नो घरमा बस्ने र बेलाबेलामा माइती घरमा पनि आउने जाने गर्दै थिइन् । श्रीमान्को सल्लाह अनुसार उनी एक वर्षअगाडि जागिरको सिलसिलामा सोलुखुम्बु जिल्लाको पासाङ्गल्हामु अस्पतालमा काम गर्न गएकीमा निजको श्रीमान् लक्ष्मीसुन्दर सुवालले बिनाकारण कृष्णा दुवाललाई कान्छी श्रीमती बनाई घरमा ल्याई राखी बहुविवाह गरेको कुरा ठीक हो । निज जाहेरवाली कुनै दीर्घरोगी छैनन्, प्रतिवादीले अर्को विवाह गर्नुपर्ने कुनै कारणसमेत थिएन भन्नेसमेत व्यहोराको सरिता खाती, तुम्ला गोसाई र रूविना गोसाईले प्रहरीमा गरेको कागज । लक्ष्मीसुन्दर सुवालले जेठी श्रीमती बुद्धलक्ष्मी श्रेष्ठ छँदाछँदै कृष्णा दुवाललाई कान्छी श्रीमती बनाई बहुविवाह गरेको हो भनी सुस्मिता घिसिङ्गले प्रहरीमा गरेको कागज । म र मेरो श्रीमान् लक्ष्मीसुन