निर्णय नं. ९३४८ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३४८ - लेनदेन भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/१०/१२ ५७६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।१०।१२।२ ०६७-CI-११८२ मुद्दाः- लेनदेन पुनरावेदक/प्रतिवादी : जिल्ला धनुषा, गिद्धा गा.वि.स.वडा नं.९ बस्ने गंगाप्रसाद मण्डल विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला धनुषा, गिद्धा गा.वि.स.वडा नं.९ बस्ने यमुनाप्रसाद मण्डल लिखतमा ऋणीलाई ऋणको रकम बुझाउन भाखा दिएकामा सो अवधिसम्म धनीले ऋणीलाई रकम नमाग्ने वाचा गरेकोसम्म हो । तर सो अवधिभित्र धनीलाई रकमको आवश्यकता पर्यो भने आफ्नो रकम माग्नै नहुने भनी प्रतिबन्धित गर्ने र त्यसरी मागेमा थैली भुस हुनेकुरा गर्नु न्यायोचित नहुने । मुद्दा गर्ने हदम्याद रहेसम्म साहुको नालेस गर्ने हक रहन्छ । भाखाभित्रै धनीले ऋणमा लगानी गरेको रकममा ऋणीलाई कचकच गर्न नहुने भन्नेसम्म कुरामा भाखाको अवधि समाप्त हुनुपूर्व नालेस परेकामा ऋणमा लगानी गरेको रकममा साहुको हक नै नहुने आसामीले ऋण तिर्नै नपर्ने भन्ने होइन । साहुले ऋणमा लगानी गरेको रकममा लगानी गरेको मितिबाट कानूनले हदम्याद नसकिएको अवस्थासम्म हक रहिरहेको हुन्छ । लिखतको भाखापूर्व धनीको हक नपुग्ने, नालेस गर्न नपाइने, नालेस गरेमा लिखतको रकम ऋणीले बुझाउनु नपर्ने र थैली भुस हुने अर्थ लगाउन मिल्ने नदेखिने । (प्रकरण नं.५) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता जयकान्तलाल दास प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने – मा.जि.न्या. श्री प्रेमबहादुर के.सी. पुनरावेदन तहमा फैसला गर्ने – मा.न्या. श्री लोकेन्द्र मल्लिक मा.न्या. श्री टिकाबहादुर हमाल फैसला न्या.बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, जनकपुरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : प्रतिवादीले मसँग घर खर्च भनी मिति २०६३।७।३० गतेमा रू.२,००,०००।– (दुई लाख रूपैयाँ) ऋण कर्जा लिई सोको सयकडा १० का दरले ब्याज लगाई एकमुष्ट रूपैयाँ ६ महिनाभित्र बुझाउने भाखा राखी प्रतिवादीले मलाई कपाली तमसुक गरी दिनु भएको थियो । प्रतिवादीलाई लिखतअनुसारको रकम बुझाई दिनु भनी बारम्बार तर ताकेता गर्दा आलटाल गरी बदनियत चिताई नदिएकाले साह्रै अन्यायमा परी सम्मानित अदालतको शरणमा आएको छु । प्रतिवादीलाई झिकाई मेरा प्रमाण बुझी उक्त साँवा र फिराद दर्ता गर्दाका मितिसम्मको ब्याज रू.८,४९९।९९ समेत जम्मा रू.२,०८,४९९।९९ तथा फिरादपत्र दर्ता गर्दा राखेको कोर्ट फी अन्य दस्तुर र बिगो भरी भराउ हुने दिनसम्मको ब्याजसमेत प्रतिवादीबाट दिलाई पाउँ भन्नेसमेत व्यहोराको मिति २०६४।१।३ गतेको फिरादपत्र । विपक्षी वादीका छोरा वसन्तकुमार मण्डलसँग रू.५०,०००।- मिति २०६३।७।३० मा लिई कपाली तमसुक गरिदिएको हुँ । सो तमसुकमा धनी निज वसन्तका पिता वादी यमुनाप्रसाद मण्डलको नाम उल्लेख छ र धनी ऋणीको उमेर वर्ष खाली छ । अन्तर साक्षीमा ऋणीको छोरी रन्जना कुँवर छन् भने लेखक साक्षीमा व्रजकिशोर झा छन् । निज लेखक साक्षी व्रजकिशोर झा कै हस्ताक्षरबाट उक्त कपाली तमसुक तयार भई मिति पुछार मुनि साँवा रू.५०,०००।– अक्षरेपी रू.पचास हजारमात्र भनी अङ्क र व्यहोरा जनाइएको छ । सोही मितिका दिन निज वादीका छोरा वसन्तकुमार मण्डलले गराइदिएको सो लिखतको छायाँप्रति यसै साथ पेस गरेको छु, जस