निर्णय नं. ४२७८ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२७८ - परमादेश भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०३/१८ २४३४ निर्णय नं. ४२७८ ने.का.प. २०४८ अङ्क ५ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको रि.पु.इ.नं. ५१ आदेश भएको मिति: २०४८।३।१८।३ मा रिट निवेदक : भिमसोप फैक्ट्रीको प्रोप्राइटर परवेज अख्तर विरुद्ध विपक्षी : श्री विराटनगर भन्सार कार्यालयसमेत विषय : परमादेश (१) उद्योग साबुन पाउडर वा साबुन झोल बनाउने उद्योग नभई लुगाधुने ठोस साबुन बनाउने उद्योग भन्ने देखिँदा प्रस्तुत उद्योगलाई बिक्रीकर लगाएको भन्ने देखिन आउँदैन, तसर्थ निवेदकको प्रस्तुत उद्योगको लागि आयातित कच्चा पदार्थमा औद्योगिक व्यवसाय ऐन बमोजिम बिक्रीकर छूट सुविधा पाउन सक्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सुशिलकुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ अन्तर्गत दर्ता भई निर्णयार्थ यस सर्वोच्च अदालतको संयुक्तइजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी यस पूर्णइजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. निवेदकले लुगाधुने साबुन उत्पादन गर्ने भिमसोप फैक्ट्री भन्ने घरेलु तथा ग्रामीण उद्योग विभागमा २०३२।६।१९।१ मा दर्ता गराई साबुन उत्पादन गरी आएको छु । यस उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(क) को देहाय (२) अनुसार आफ्नो उद्योगबाट लुगा धुने साबुन उत्पादन गर्नको लागि विदेशबाट झिकाएका कच्चा पदार्थमा भन्सार महसूल (साविक पेज नं. १४५) एक प्रतिशतका दरले लाग्ने र बिक्री कर नलाग्ने सुविधा उपभोग गरी आएकोमा उद्योगले ईण्डष्ट्रियल मेटेरियल पाम फोटी एसिड आयल कानुन बमोजिम इजाजतपत्र लिई सिंगापुरबाट झिकाई आयात गर्दा बिक्रीकर लाग्नु नपर्नेमा २०४४।५।२६ मा बिक्री कर रु. २५०२३।०६ तथा भन्सार महसूल १% प्रतिशतले मात्र लाग्नु पर्नेमा २५% प्रतिशतले अतिरिक्त भन्सार महसूल रु. ९२६७८। समेत असूल गरी लिनु भएको औ.व्य. ऐन, २०३० को दफा ९(१)(क) र औ.व्य. ऐन, २०३८ को दफा १४(१) विपरीत भएको छ । विराटनगर भन्सार कार्यालयमा आयात भई आउँदा मिति २०४४।५।२६ मा प्रज्ञापनपत्र भरी पेश गरेकोमा भन्सार कार्यालयले यस घरेलु उद्योगको औद्योगिक कच्चा पदार्थमा बिक्रीकर असूल गर्नु नपर्नेमा गैरकानुनी तवरले बिक्रीकर रु. २५०२३।०६ र भन्सार महसूल मात्र १ प्रतिशतले रु. ३७०७।१२ लाग्नु पर्नेमा रु. ९२६७८।– असूल गरेर मात्र हाम्रो उक्त कच्चा पदार्थ छाड्नु भयो । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(क) को देहाय (२) तथा बिक्रीकर ऐन, २०२३ को दफा २१ अन्तर्गत अर्थ मन्त्रालयबाट प्रकाशित २०३९।३।७ को राजपत्रको सूचनाले समेत केही सामानमा बिक्रीकर नलाग्ने भनी कानुनी संरक्षण प्रदान गरेको छ तत्कालीन औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(क) को देहाय (२) र औ.व्य ऐन, २०३८ को दफा १४(१) ले घरेलु उद्योगको लागि चाहिने कच्चा पदार्थ र सहायक कच्चा पदार्थमा बिक्रीकर नलाग्ने तथा भन्सार महसूल १ प्रतिशतले लाग्ने सुविधा प्रदान गरेकोलाई कायमै राखेको छ । बिक्रीकर लगाउने र असूल गर्ने बिक्रीकर ऐन, २०२३ को दफा २१ को अधिकार प्रयोग गरी श्री ५ को सरकारले २०३९।३।७ मा प्रकाशित सूचनाले साबुन उद्योगको कोरा मालमा बिक्रीकर नलाग्ने व्यवस्था गरेको ह