निर्णय नं. ९३६८ - करारबमोजिम गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३६८ - करारबमोजिम गरिपाउँ भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०७/२५ ८७८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।७।२५।३ ०६७–CI–०१४७ मुद्दा : करारबमोजिम गरिपाउँ । पुनरावेदक / प्रतिवादी : का.जि.का.म.न.पा वडा नं. १८ टेड्डल रक्तकाली बस्ने वर्ष ५८ को प्रदिपराज पाण्डे विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ.वडा नं.२५ बस्ने वर्ष ६४ को कर्मलक्ष्मी कंशाकार मुद्दा गर्नुपर्ने कारण परेको भनी वादीले देखाएको मितिलाई आधार मान्नुपर्ने करार सम्झौताबाट देखिएको अवस्थामा वादीले ऐनका म्यादभित्रै सम्बन्धित अदालतमा फिराद दर्ता गराएको देखिएकाले हदम्याद नाघी दायर भएको भनी पुनरावेदक प्रतिवादीले लिएको जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.४) करारको प्रमुख विषयवस्तु नष्ट भएमा करारबमोजिम गर्नुपर्ने कार्य गर्न असम्भव हुने हुनाले उक्त विषयवस्तु पक्षहरूको नियन्त्रणभन्दा बाहिरको कारणबाट नष्ट भएमा करार हतास भएको मानिन्छ र पक्षहरू आ-आफ्नो दायित्वबाट स्वतन्त्र हुने । (प्रकरण नं.६) प्राकृतिक, कानूनी कारणले, करार गर्ने पक्षहरूको काबुबाहिरको परिस्थतिबाट करारको सर्त पूरा हुन नसक्ने भएको अवस्थामा Frustration को सिद्धान्त लागू हुने । (प्रकरण नं.१०) Frustration को सिद्धान्तअनुसार करार पूरा गर्न कानूनी परिवर्तन भई करार नै गैरकानूनी भएमा, करारको विषयवस्तु नष्ट भएमा, करार गर्ने व्यक्तिको मृत्यु भएको परिस्थति वा घटनुपर्ने खास घटना नघटेको अवस्था भएमा मात्र करारको पालना गर्न पक्ष बाध्य नहुने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता सरोजनाथ प्याकुरेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता पन्नामान तुलाधर अवलम्बित नजिर : नेकाप २०४९, नि.नं.४४४७, पृ.१ नेकाप २०६२, नि.नं.७५८३, पृ.१००८ नेकाप २०४८, नि.नं.४३७०, पृ.५४६ नजिरहरू २०१५-२०६२ भाग ७, क्र.सं.७ पृ.३९, २०४२ सम्बद्ध कानून : करार ऐन, २०२३ को दफा १२(१) १०, १४, १८ सुरू फैसला गर्ने : मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्ने न्यायाधीश : मा.न्या.श्री लक्ष्मणमणि रिसाल मा.न्या.श्री हरिबहादुर बस्नेत फैसला न्या.सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) अनुसार यसै अदालतको क्षेत्राधिकारअन्तर्गतको भई मुद्दा दोहर्याई पाउँ भन्ने निवेदनमा निस्सा प्रदान हुँदा पुनरावेदन दायरीमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : पियुषराज पाण्डेको नाउँमा संयुक्त दर्ता रहेको का.जि.का.न.पा वडा नं.१८(ग) कि.नं.१३३४ को क्षे.फ.१०-१४-१-२ जग्गामध्ये आफ्नो तीन खण्डको एक खण्ड जग्गा भागमध्ये सडक मोहडातर्फ ०-३-० र सोदेखि पश्चिम दक्षिणतर्फको फुलबारी जग्गामध्येबाट १-५-० समेत गरी १-८-० जग्गा रू.४५,००,०००।- मा बेच्ने र म फिरादीले लिने मन्जुर गरी विपक्षी प्रदिपराजको नाममा नामसारी दर्ता फाडी ज.ध.प्र.पु. प्राप्त भएका मितिले ३५ दिनभित्र राजिनामा पारित गरी दिने भाखा राखी तत्काल विपक्षीले मबाट रू.२६,००,०००।- बैना बुझी लिनु भई बाँकी रू.१९,००,०००।– लिखत पारित गर्ने दिनमा चुक्ता लिने दिनेसमेतका सर्तहरू उल्लेख गरी मिति ०४९।६।९ का दिन विपक्षीको श्रीमती रमा पाण्डेसमेतको रोहवरमा बैनाबट्टा बुझी करारनामाको लिखत गरिदिनु भएकामा निजका दाजुभाइबीच चलेको अंश मुद्दामा का.जि.अ.को मिति ०५०।४।२८ का