निर्णय नं. ९३६९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३६९ - बन्दीप्रत्यक्षीकरण भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/१०/२२ २७०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७१।१०।२२।५ ०७१-WH-००३९ मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक : जिल्ला सर्लाही लक्ष्मीपुर (कोदराहा) गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला कारागार शाखा, झुम्का, सुनसरीमा थुनामा रहेका मो. अजिज खाँ विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय, सर्लाहीसमेत सामान्यतया नेपाली नागरिकले आफ्नो मौलिक हक र साम्पत्तिक हक जीवनको उत्तरार्धमा मात्र भोग गर्ने नभई कतिपय मौलिक हक जन्मेदेखि नै तथा बालिग भएपछि अझ सक्रिय भई उपभोग गर्ने गरेको पाइने । (प्रकरण नं.४) फैसला कार्यान्वयनको कुरामा निर्विवाद शङ्कारहित प्रमाणको मापदण्ड ग्रहण गर्न नसकिने हुँदा कार्यान्वयनकर्ताबाट प्रस्तुत सन्तोषजनक प्रमाणलाई खण्डन हुने गरी प्रति प्रमाण पुर्‍याउने भार (reverse burden of proof) निवेदकउपर रहने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता प्रकाशबहादुर के.सी. विपक्षीका तर्फबाट : सहन्यायाधिवक्ता संजीवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : फैसला न्या.गोविन्दकुमार उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२/१०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ : मेरो जन्म २००५ सालमा सर्लाही जिल्ला लक्ष्मीपुर गा.वि.स. वडा नं. ७ मा स्व. बाबु मो. फरमान खाँ र स्व. आमा फरिदन खातुनबाट भएको हो । मेरी पत्नी ऐमुन खातुन हुन् । हामीबाट ६ सन्तानको जायजन्म भएको छ । मेरा पितापुर्खाका पालादेखि नै हामी लक्ष्मीपुर (कोदराह) गा.वि.स. वडा नं. ७ मा बसोबास गर्दै आई मैले त्यही वतनबाट मिति २०६३।११।८ मा नेपाली नागरिकता प्राप्त गरेको छु । मेरो नाममा लक्ष्मीपुर गा.वि.स. वडा नं. ४(ख) कि.नं. ६४२ को ०-०-९, ऐ.ऐ. कि.नं. १६८१ को ०-०-२, ऐ. वडा नं. २ (ख) कि.नं. ५०८ को ०-१०-७ का जग्गाहरू दर्ता रहेका छन् । ती जग्गाको जग्गा धनी दर्ता प्रमाणपुर्जामा पनि सोही वतन उल्लेख भएको छ । यसै क्रममा यही २०७१ साल कात्तिक ११ गते म मेरो घरमा टाट (बार) बनाइरहेको अवस्थामा विपक्षी विरेन्द्र ठाकुरसमेत तीन जना आई हामीलाई भैंसी किन्नु छ, भैंसी देखाइदेऊ भनी मलाई निजहरूको मोटरसाइकलको पछाडि राखी गाउँबाट दक्षिणतर्फ लगी तिम्रो नाम अजिज खाँ हो भनी सोधे मैले स्वाभाविकरूपमा हो भनी जवाफ दिएँ । त्यसपछि सर्लाही जिल्ला अदालतबाट तिम्रो नाउँमा पक्राउ पुर्जी आएको छ भनी मलाई दिउँसो १:०० बजे सर्लाही जिल्ला अदालत पुर्‍याई सोही दिन कैदी पुर्जी दिई मिति २०७१।७।१२ गते जिल्ला कारागार शाखा, झुम्का पुर्‍याई थुनामा राखेकाले हाल कैदी जीवन बिताइरहेको छु । मलाई थुनामा राख्नुपर्ने के कारण रहेछ भनी बुझ्दा जिल्ला सर्लाही फरहदवा गा.वि.स. वडा नं. ८ बस्ने सकुर शेष हजामको जाहेरीले श्री ५ को सरकार वादी र जिल्ला सर्लाही फरहदवा गा.वि.स. वडा नं. ६ बस्ने अजिज खाँ पैठान (नट) समेतउपर सर्लाही जिल्ला अदालतमा चलेको जीउ मास्ने बेच्ने मुद्दामा २०५५।३।२२ गते निज अजिज खाँलाई २० वर्ष कैद र रू.१,०००।- जरिवाना भएकाले उक्त फैसला कार्यान्वयनको क्रममा मलाई थुनामा राखेको रहेछ । उक्त मुद्दाको प्रतिवादी म होइन । मेरो वतन सर्लाही जिल्ला गा.वि.स. लक्ष्मीपुर (कोदराहा) वडा नं. ७ हो भन्ने कुरा मेरो नाउँको जग्गा धनी प्रमाण पूर्जा, नागरिकताको