निर्णय नं. ९३८६ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३८६ - ज्यान मार्ने उद्योग भाग: ५७ साल: २०७२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७१/११/१८ ३५९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७१।११।१८।२ ०६८-CR-०५८७ मुद्दा : ज्यान मार्ने उद्योग । पुनरावेदक / वादी : राम नाथको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाजुरा आँटीचौर गा.वि.स.वडा नं.६ बस्ने चन्द्र नाथ प्रतिवादीको पीडितलाई मार्ने नै मनसाय रहेको भए घर कोठामा बन्दुक, बासुलो, छिनो जस्ता जोखिमी हतियार रहेका प्रतिवादीले ती हतियारको प्रयोग नगरी हँसियाको प्रयोग गर्ने, नाक टोक्ने जस्ता कार्य मात्र गरेकोबाट ज्यान मार्ने उद्देश्यले तयारीको साथ बसेको भन्न सकिने अवस्था नदेखिने । ज्यान मार्ने उद्योगको अपराध ठहर हुनका लागि प्रतिवादीले पीडितलाई मार्ने मानसाय राखी सोहीबमोजिमको कार्य गरेको प्रमाणित हुनुपर्छ र त्यस्तो कार्यको परिणामस्वरूप पीडितको कुनै कारणबस ज्यानसम्म बच्न गएको अवस्था स्पष्टरूपमा स्थापित हुनुपर्छ । ज्यान बचेको कारण तेस्रो पक्षको उपस्थिति हुनु नहुनुले अपराध घट्दाको परिस्थितिअनुरूप केही निष्कर्षमा पुग्न सजिलो हुन्छ, तर त्यही एउटा कारणबाट मात्र ज्यान मार्ने मानसाय थियो कि थिएन भनी भन्न सकिने अवस्था हुन्छ नै भन्न मिल्दैन । तेस्रो पक्षको उपस्थिति भन्दा पनि ज्यान मार्ने मनसाय हुनु ज्यानमार्ने उद्योगको अपराधमा आवश्यक तत्त्वको रूपमा रहने । (प्रकरण नं.५) प्रतिवादीले बन्दुक वा बासुलो लिई जाहेरवाला पीडितसमेतको घरमा वा निजहरू रहने ठाउँमा गएको देखिँदैन । पीडितसहितका व्यक्ति प्रतिवादीको घरमा नगएको अवस्थामा वारदात हुने अवस्था आउने थिएन । पीडितसमेतका व्यक्ति आफ्नो घरमा आउलान् र आफूसँग भएका हतियार प्रहार गरूँला भनी पूर्व तयारीका साथ यी प्रतिवादी बसेका र निजहरू आउने बित्तिकै मार्ने मानसाय राखी हतियार प्रहार गरेको भनी मान्न तर्कसङ्गत हुने नदेखिने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री लोकजंग शाह पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री रामप्रसाद खनाल मा.न्या. श्री बीरसिंह महरा आदेश न्या.बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, दिपायलको मिति २०६८।३।२२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र निर्णय यसप्रकार छ : मिति २०६६।११।२० गतेको राति अन्दाजी ८.०० बजेको समयमा बाजुरा जिल्ला आँटीचौर गा.वि.स.वडा नं. ६ बस्ने चन्द्र नाथले हामी काशी नाथ-१, म जाहेरवाला राम नाथ-१ र उमेश नाथसमेतलाई कुटपिट गरी सख्त घाइते भएका उमेश नाथलाई बासुलो, आँसी, बञ्चरोले घाँटीमा, हातमा खुट्टामा हिर्काई घरको माथिल्लो तल्ला जाने भुइँमा पल्टाएको प्रत्यक्षदर्शीले देखेका छौं । ज्यान मार्ने उद्योग गरी ज्यान मर्न नपाई मार्तडी अस्पतालमा उपचार भै रहेको छ । यसरी अन्यायवालालाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. को कसुर गरेकाले ऐ. ऐनको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको राम नाथको जाहेरी दरखास्त । जिल्ला बाजुरा, आँटीचौर गा.वि.स. वडा नं. ७ स्थित पूर्वमा अन्दाजी ५ मिटर टाढा नैनागाउँबाट ओली गाउँ जाने कच्ची गोरेटो बाटो, पश्चिममा अन्दाजी २ मिटर टाढा