निर्णय नं. ९३९४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३९४ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०८/२१ २४८७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।८।२१।१ ०६७-CR-०७६० मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : रूकुम जिल्ला, पिपला गा.वि.स. वडा नं. ७ घर भै कारागार कार्यालय रूकुममा थुनामा रहेको धनबहादुर नाथ विरूद्ध विपक्षी/प्रतिवादी : खर्कु जैसीको जाहेरीले नेपाल सरकार पुनरावेदकले पुनरावेदन पत्रमा जिकिर लिएजस्तो तथ्यको एकप्रकारको साबितीमात्र नभै कसुरको सम्बन्धमा पूर्ण साबिती नैं भएको र निजको सो साबिती अन्य स्वतन्त्र प्रमाणहरूबाट समर्थित भएको अवस्थामा केवल पुनरावेदनमा लिएको जिकिर कै आधारमा मात्र निर्दोष रहेछन् भनी मान्न मिल्ने नदेखिने । मृतकलाई मार्ने पूर्व योजनाअनुसार खुकुरी जस्तो घातक हतियार लिई मृतकलाई रातको समयमा एकान्तस्थलमा लगी टाउकामा खुकुरी प्रहार गरी कर्तव्य गरेको र लासलाई दबाए छिपाएको देखिँदा पक्राउ पछि अनुसन्धान र अदालतमा समेत कसुरमा साबित हुँदैमा अदालती प्रक्रियालाई सहयोग पुर्‍याएको मानी सजायबाट उन्मुक्ति दिन वा छुट दिन मिल्ने नदेखिने । (प्रकरण नं. ४) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता तारा खनाल विपक्षी/प्रतिवादी तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा १३(१) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री अर्जुन अधिकारी पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या. श्री हरिबाबु भट्टराई मा.न्या. श्री भिमबहादुर बोहरा फैसला न्या. दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही दायर हुन आएको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : धनबहादुर नाथसँग प्रेम विवाह भएकी मेरी छोरी वर्ष १७ की लालकुमारी जैसीको केही समय पहिलेदेखि प्रेम सम्बन्ध बिग्रेको र मिति २०६५।८।१ गते साँझ खाना खाई आफ्नो कोठामा सुतेकामा भोलिपल्ट बिहान घरमा नभएकाले धनबहादुर नाथसँग सोधपुछ गर्दा निज धनबहादुर नाथले विवाह गरेर लगेको छैन भनेपछि खोजतलास गर्दै जाँदा मिति २०६५।८।१६ गते पिपल गा.वि.स.को दाहा भन्ने स्थानको सालघारीमा मेरी छोरीले लगाउने गरेको चप्पल भेटिएको, नजिकै रगत जमेको टाटाहरू देखिएको र सोही नजिकै रहेको सुरूङमा झिंगाहरू घुमिरहेको, केही कुहे जस्तो गन्ध आएकाले सुरूङ खनेर हेर्दा मेरी छोरीको लास फेला परेकाले मेरी छोरीलाई निज धनबहादुर नाथले नै कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत व्यहोराको मिति २०६६।८।१६ गतेको खर्कु जैसीको जाहेरी दरखास्त । रूकुम जिल्ला, पिपल गा.वि.स. वडा नं. ७ दहडाँडास्थित पूर्वमा साउनेपानी खोला, पश्चिममा दहडाँडाको खरकट्टी पाखो, उत्तरमा लामाचौर गाउँको ढिक, दक्षिणमा पिपलदेखि बाफिकोटतर्फ जाने कच्ची बाटो यति चार किल्लाभित्र सानासाना सालका बुट्यानहरू रहेको, सोही बुट्यान नजिकै दायाँ खुट्टामा लगाउने चप्पलमा रगत लागेको निलो रंगको म्याजिक चप्पल थान १ रहेको, सोही स्थानमा महिलाको कपालको रौं र भाँचिएको टुक्रा परेको पारो, काँजोसहितको खुकुरीको बिँड फेला परेको, जमिनमा रगत जमेको टाटा रहेको र सो स्थानदेखि अन्दाजी चौध मिटर उत्तरपूर्वमा रहेको सुरूङमा झिंगाहरू भन्केको तथा गन्ध आएको, सुरूङ खनी हेर्दा सडी गली गएको अवस्थामा मृतक लालकुमारी जैसीको लास रहेको भन्ने मिति २०६५।८।१७ गतेको घटनास्थल तथा लास जाँच मुचुल्का ।