निर्णय नं. ९३९६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३९६ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०९/२२ २७६४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७१।९।२२।३ ०६७-WO-०३६५ विषय : उत्प्रेषण । निवेदक : धनुषा जिल्ला वेगाशिवपुर गा.वि.स. वडा नं. ६ बस्ने रामलखन यादव विरूद्ध विपक्षी : काठमाडौंं जिल्ला अदालत, बबरमहल, काठमाडौंंसमेत वस्तुतः लेनदेन मुद्दाको सम्बन्धमा पेस भएको कपाली तमसुकमा उल्लेख भएको ऋणीको वतनमा नै म्याद जारी गरी तामेल हुनुपर्दछ । सो वतनभन्दा फरक वतनमा म्याद तामेल गरिएको अवस्थामा त्यस्तो तामेलीलाई रीतपूर्वक तामेल भएको भन्न नमिल्ने । लेनदेनको तमसुकमा उल्लेख भएको ऋणीको वतनभन्दा फरक वतनमा तामेल भएको म्याद सम्बन्धित पक्षले प्राप्त गर्न नसकी लेनदेन व्यवहार सम्बन्धमा ऋणीले प्रतिवाद नै गर्न नपाउने अवस्था हुन जाने । लिखतबमोजिमको सावाँ ब्याज लिए नलिएको, तिरे नतिरेको लगायत लिखतमा लागेको सहिछापसम्बन्धमा अ.बं. ७८ नं.बमोजिमको प्रक्रिया एवम् लिखतको सहिछाप विशेषज्ञबाट जाँच गराउनु पर्ने लगायतका प्रक्रियासमेतमा अर्को पक्षले प्रतिवाद गर्न नपाउने अवस्था आउन सक्छ । आफूउपरका आर्थिक वा फौजदारी दायित्वका सम्बन्धमा प्रतिवादीले प्रतिवाद गर्न नपाउने गरी भएको बेरीतको म्याद तामेली र सोही म्याद तामेलीको आधारमा भएको एकतर्फी फैसलाबमोजिम उठान भएको बिगोसमेतको काम कारवाही प्राकृतिक न्यायको सिद्धान्तको अनुकूलको कामकारबाही भन्न नमिल्ने । (प्रकरण नं. ५) रिट निवेदकको वास्तविक वतनमा म्याद तामेल नभई प्राकृतिक न्यायको सिद्धान्तविपरीत सुनुवाइको मौकाबाट बञ्चित गरी लेनदेन मुद्दाका प्रत्येक चरणमा प्रतिवादीको फरक वतन पारी एकतर्फीरूपमा फैसला भई सो फैसलाको आधारमा बिगो भरिभराउतर्फको कामकारवाही गरिएको देखिएकाले उक्त काम कारवाही कानून अनुकूल भएको भन्न नमिल्ने । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, विद्वान् अधिवक्ताहरू रत्नेश्वरप्रसाद शर्मा र पदमप्रसाद निरौला विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता पुष्कर सापकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. देवेन्द्र गोपाल श्रेष्ठ : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार छ : विपक्षी मनोजकुमार यादव वादी र रामलखन राय यादव प्रतिवादी भएको लेनदेन मुद्दाको फैसलाले कायम भएको बिगोबाट म निवेदक र मेरो स्वर्गीय पिता रामदेव यादवको नामको धनुषा जिल्लाको घरजग्गा लिलाम हुँदैछ भन्ने कुरा सुन्नमा आएकाले के रहेछ भनी मिति २०६७।५।३१ मा धनुषा जिल्ला अदालत तहसिलमा गई बुझ्दा काठमाडौंं जिल्ला अदालतबाट लेनदेन मुद्दामा भएको फैसलाबमोजिम लिलामको प्रक्रिया अगाडि बढेको हो भनी कर्मचारीबाट मौखिक जानकारी भएकाले प्रत्यर्थी काठमाडौंं जिल्ला अदालतबाट मिति २०६७।५।३१ मा मेरो नाममा जारी भएको भनिएको म्याद र फैसलासमेतको नक्कल सारी हेर्दा ऋणी राम लखन राय यादव, धनी विपक्षी मनोजकुमार यादव भएको मिति २०६४।१।२ को मिति राखी रू. ६,५०,०००।– को कपाली तमसुक बनाई सो लिखतबमोजिमको लेनदेनको नालिस गरी मेरो नाममा मिति २०६४।१२।१३ मा म्याद जारी गराई बेरीतको म्याद तामेली गराई प्रतिउत्तर नै पर्न नदिई मिति २०६५।४।२२ मा एकतर्फी वादी दाबी पुग्ने गरी फैसला गराईएको रहेछ