निर्णय नं. ९३९८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३९८ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/१०/२६ ४७४३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।१०।२६।२ ०६८-CR-१०९७ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी : संखुवासभा जिल्ला, दिदिङ्ग गा.वि.स., वडा नं. ८ घर भई हाल जिल्ला कारागार कार्यालय, संखुवासभा, खाँदबारीमा कैदमा रहेको धनबहादुर राई विरूद्ध प्रत्यर्थी/वादी : प्रकाश राईको जाहेरीले नेपाल सरकार ०६८-CR-११०२ वादी : प्रकाश राईको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : संखुवासभा जिल्ला, दिदिङ्ग गा.वि.स., वडा नं. ८ बस्ने धनबहादुर राई समेत वारदातमा उपस्थित हुनेहरूका विरूद्ध लाग्ने नभै उपस्थित प्रतिवादीले मूल प्रतिवादी (Principle defendant) सँग मत सल्लाहमा पसेको हुनुपर्ने र त्यस्तो उपस्थितिबाट मूल प्रतिवादी वारदात गर्नका लागि हौसिएको देखिनु आवश्यक हुन्छ । दुईजना व्यक्ति कुस्ती खेल्दा खेल्दै भुइँमा रहेको खुकुरी तानातान गरेको देखी, डराई आफ्नो पनि ज्यान जाला भनी सुरक्षित स्थलतर्फ भाग्ने कार्य स्वयम्मा कसुरजन्य कार्य मान्न नमिल्ने । (प्रकरण नं. ७) मृतकको हातबाट खुकुरी खोसीसकेपछि मृतकले प्रतिवादीलाई मार्न सक्ने कुरा सम्भव नै नहुने अवस्थामा मृतकलाई खुकुरीले प्रहार गर्नुको कारण आत्मरक्षा हो भनी दाबी गर्नुको औचित्य नरहने । आत्मरक्षाको लागि चाहिनेभन्दा बढी बल प्रयोग हुनुहुँदैन । प्रतिवादीबाट भएको बल प्रहारको मात्राले निजको नियत वा मनसाय के कस्तो छ भन्ने इङ्गित गर्दछ । मृतक बलहीन रहेको स्थितिमा समेत प्रतिवादीले टाउको अनुहार, घाँटी जस्ता संवेदनशील अङ्गमा खुकुरी प्रहार गरी मृतकलाई नियतवश मारेको प्रमाणित हुँदा प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. ८) वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता श्री अर्जुनकुमार खत्री अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१), १७(३), ७(१) मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. सुरू तहमा फैसला गर्नेः- मा.जि.न्या. श्री गोपालप्रसाद बास्तोला पुनरावेदन तहमा फैसला गर्नेः- मा.मु.न्या.श्री गोविन्दकुमार उपाध्याय मा.न्या.श्री विदुरविक्रम थापा फैसला न्या.जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।७।२७ को फैसलाउपर दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :- मिति २०६७।८।२१ गते बेलुका अं. १८ बजेको समयमा मेरो बुवा वर्ष ३६ को मानबहादुर राईलाई दिदिङ्ग-९ स्थित काङलुवा भन्ने ठाउँमा धारिलो हतियार खुकुरीले काटी कर्तव्य गरी मारेको भन्ने थाहा पाई घटनास्थलमा गई हेर्दा मानबहादुर राईलाई मृत अवस्थामा देखिएकाले मैले बुझ्दा मेरो बुवालाई दिदिङ्ग-८ बस्ने धनबहादुर राईले काटी मारेको र साथमा मनिकुमार राई, भिमबहादुर राई, पुजन राई, नहकुल राईसमेत घटनामा थिए भन्ने सुनेकाले घटनामा को-को संलग्न थिए पत्ता लगाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रकाश राईको जाहेरी दरखास्त । जिल्ला संखुवासभा, दिदिङ्ग गा.वि.स., वडा नं. ९ स्थित पूर्वमा चौतारी भित्ता, पश्चिममा जुगे गैरी पाखा, उत्तरमा काङवा डाँडा र दक्षिणमा जुगे गैरी बडार यति चार किल्लाभित्र रहेको मृतक मानबहादुर राईको शव रहे