निर्णय नं. ९४०४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४०४ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/०३/२३ ४१९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री दीपकराज जोशी आदेश मिति : २०७२।३।२२।३ ०६८-WO-०११३ विषय : उत्प्रेषण । रिट/निवेदक : जिल्ला पाँचथर, यासोक गा.वि.स. वडा नं. ७ घर भई श्री सिद्धशरण प्राथमिक विद्यालय, यासोकको प्राथमिक द्वितीय श्रेणीको शिक्षक पदबाट अवकाश प्राप्त रामप्रसाद सापकोटा विरूद्ध विपक्षी : विद्यालय शिक्षक किताबखाना, छाउनीमार्ग, काठमाडौंंसमेत ६० वर्ष पूरा भई अवकाश भएको निवेदकलाई इ.सं. लाई वि.सं. मा रूपान्तर गर्दा फरक फरक मिति उल्लेख भए तापनि निज विद्यालयमा रही काम गरेको समयसम्मको तलब भत्ता भुक्तानी पाई सकेको स्थितिमा निजले बढी अवधि काम गरी पाएको भनिएको रकम अवकाशपश्चात् उपदानको किटानी रकमबाट कट्टा गर्ने गरी भएको आदेश नै प्रस्तुत विषयको मूल विवेचित प्रश्न देखिँदा शिक्षा नियमावली, २०५९ को छैठौं संशोधनपूर्वको व्यवस्थाले पनि ६० वर्ष पूरा भएपछि अवकाश दिने व्यवस्था गरेकै हुँदा वर्तमान व्यवस्था नै निवेदकको अवकाशको बाधक रहेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ३) शिक्षक कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक राख्नु पर्ने दायित्व भएको विद्यालय शिक्षक किताबखानाले निवेदकलाई अवकाश हुने मितिको पूर्व जानकारी गराएको स्पष्ट आधार खुलाउन सकेको देखिँदैन । साथै निज कार्यरत विद्यालय र सोको नियमनकारी निकाय जिल्ला शिक्षा कार्यालय पाँचथरसमेतले निवेदकले उल्लेख गरेको अवकाश मितिकै आधारमा अनिवार्य अवकाश दिई निजले पाउने सुविधाको निमित्त सिफारिस गरेको देखिँदा बढी अवधि काम गरेकै भन्ने आधारमा पछि आएर निर्णय गरी औषधोपचार रकमबाट रू. १,२३,६३४।- कट्टा गर्नु न्यायोचित देखिन नआउने । ऐन र नियममा भएको कुनै पनि व्यवस्थाहरू निरपेक्ष नभई सापेक्षरूपमा प्रयोग भएका हुन्छन् । समयमै पूर्व जानकारी नगराई अवकाश नदिई निरन्तर काममा लगाई सेवा लिई रहेको विद्यालयले सेवा गरेबापत निजलाई उपलब्ध गराएको तलब भत्ता फिर्ता गर्नु वा कट्टा गर्नु भन्ने निर्णय काम गरे बापत उचित ज्याला पाउने भन्ने श्रमसम्बन्धी विधिशास्त्रीय अवधारणाको विपरीतसमेत हुने देखिने । निवेदकलाई निजको अवकाश हुने मितिको पूर्व जानकारी गराउने दायित्वबाट विपक्षी किताबखानासमेतबाट भएको कमजोरी वा भूलको प्रतिफल यी निवेदकले व्यहोर्नु पर्छ भन्नु कानून र न्यायका मान्य सिद्धान्तविपरीत हुने देखिने । (प्रकरण नं. ४) रिट निवेदकको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान्‌ अधिवक्ता ज्ञानेन्द्र पोखरेल विपक्षीको तर्फबाट : अवलम्बित नजिर : नेकाप नि.नं. ८०३३ पृ. १३२४ नेकाप २०६९ अङ्क ४, नि.नं. ८८१० पृ. ६१५ सम्बद्ध कानून : शिक्षा नियमावली, २०५९ (छैठौं संशोधन पूर्व) को नियम १३१ आदेश न्या. गिरीश चन्द्र लाल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) निवेदकको तर्फबाट यस अदालतमा परेको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य तथा निर्णय यसप्रकार छ । म निवेदक मिति २०४१/१/२१ मा अस्थायी तथा २०४५/११/१ देखि स्थायी शिक्षण पेसामा सेवा प्रवेश गरी अध्यापन गर्दै आएकामा मेरो उमेर ६० वर्ष नपुगेसम्म शिक्षा नियमावलीको नियम १३१ ले कार्यरत् रहन पाउने हक प्रदान गरेको र मेरो जन्म मिति १७ मार्च १९४८ मा भएको हुनाले पदीय कर्तव्यमा जुटिरहेको थिएँ । यसैबीचमा जि.शि.का. ले मिति २०६५/१०/२७ को निर्णयअनुसार मिति २०६५/११/१ देखि लागू ह