निर्णय नं. ९४०९ - दर्ता फोड गरी दर्ता गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४०९ - दर्ता फोड गरी दर्ता गरिपाउँ भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/१२/०२ ३९०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।१२।२।२ ०७०-CI-०४१६ मुद्दा : दर्ता फोड गरी दर्ता गरिपाउँ । पुनरावेदक/प्रतिवादी : जिल्ला महोत्तरी, कोल्हुवा वगेया गाउँ विकास समिति वडा नं. ३ बस्ने बिर्जु महतो विरूद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने बेचन महतो संयुक्त दर्तामा रहेको सम्पत्तिमा अन्यथा उल्लेख भएमा बाहेक सबै दर्तावालाको बराबर हक रहेको मान्नुपर्ने हुन्छ । सो सम्पत्तिमा बराबर हक छैन भन्ने कुरा कुनै पक्षले भन्न मिल्दैन । संयुक्त दर्ता र हाँगापिच्छे सगोल लगायतको अरू दर्ताको यहि फरक हो । सगोल दर्तामा दर्तावाला भनेको आलङ्कारिक हुन्छ । सगोल जग्गामा दर्तावाला लगायतका अंसियारहरूको हक हुन्छ । संयुक्त दर्तामा बराबर हक हुन्छ । प्रस्तुत दर्तामा यी प्रतिवादी आफैँ सहभागी भै कहिँकतै नालिश नगरी चित्त बुझाई व्यवहारसमेत चलाई बसेको र वादीले दर्ता फुटाउनका लागि कारवाही चलाएपछि प्रतिउत्तरपत्रबाटमात्र यो विवाद खडा गरेकोलाई मनासिब मान्न नमिल्ने । अपुतालीको विवादलाई संयुक्त दर्ताले टुङ्ग्याई सकेको छ । संयुक्त दर्ताभन्दा पहिलेको अपुताली हक हिस्साको कुरालाई फेरी ब्युँताउनका लागि विबन्धन, समर्पण, व्यवहार तथा कारोबारको निश्चितता (certainty of transactions), असल नियत, सदाचार र नैतिकता सबै कुराले प्रतिवादीलाई छेकेको छ । ती छेकबारहरू निरर्थक हुने गरी अपुतालीको महल लगायतका कानूनले प्रतिवादीलाई मद्दत गरेको र प्रतिवादीले ती कानूनको आधार लिन सकेको देखिँदैन । उल्टो यसमा अपुतालीको महलको २० नं. को हदम्यादको छेकबारसमेत लाग्ने अवस्था रहने । (प्रकरण नं. ५) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अ. ब. ८२, अ. ब. १८४(क), १८५ मुलुकी ऐन, अपुतालीको महलको २० नं. प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री चिन्तामणि बराल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री डम्बर बहादुर शाही मा.न्या. श्री विनोद शर्मा फैसला न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, जनकपुरको मिति २०६९।१।१८ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ : हाम्रो काकी पानो देवीको कुनै छोरा छोरी नभएको र निस्सन्तान नै परलोक हुनु भएको हुँदा काकी पानो देवीको नाममा दर्ता रहेको जिल्ला महोत्तरी गा.वि.स. वहोरा जव्दी वडा नं.१ कि.नं.१६४, ऐ. वडा नं.२ को कि.नं. २४८ र ६३६ तथा ऐ. वडा नं.३ को कि.नं. ६९, ७३, ११७ र १४३ समेत क्षेत्रफल २-११-१३१/२ जग्गाहरू हामी वादी प्रतिवादीको नाममा संयुक्त दर्ता गराई भोग चलन गरी आएको थियौं तर मालपोत तिर्ने कार्य तथा व्यवहारमा कठिनाई हुने भएको हुँदा आ-आफ्नो भोगअनुरूप दर्ता फुटाई छुट्टाछुट्टै दर्ता गराई मेरो भागमा पर्ने ३ भागको १ भाग जग्गा मेरो नाममा दर्ता गरिपाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र । स्व. गोपी महतोको ३ भाइ छोरा झपसी महतो, रामलखन महतो र दुखरन महतो भएकामा हाम्रा बाबु काकाको बीचमा भएको बन्डापत्रको लिखतमा नै २०२४ सालमा दुखरन महतोको छोरा नभएकाले निजहरू श्रीमान् श्रीमती परलोक भएपश्चात् झपसी महतोका सन