निर्णय नं. ९४१६ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४१६ - जालसाजी भाग: ५७ साल: २०७२ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०८/२३ ४९५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।०८।२३।३ ०६८–CR–०२३९ मुद्दा : जालसाजी । पुनरावेदक/वादी : कास्की जिल्ला, हेम्जा गा.वि.स. वडा नं. २ बस्ने प्रेमबहादुर दमैको छोरी सिमा दमैसमेत । विरूद्ध प्रत्यर्थी / विपक्षी : कास्की जिल्ला हेम्जा गा.वि.स. वडा नं. २ बस्ने धन बहादुर दमैको छोरा वर्ष ४४ को प्रेमबहादुर दमैसमेत । व्यवहार चलाउनलाई घर जग्गा बिक्री गर्नेदेखि बाहेकको उक्त उपाय नभएको अवस्थामा घर जग्गा बिक्री गरेको कार्यलाई मात्र जालसाजी गर्यो भन्न मिल्दैन । जालसाजी हुनलाई त्यस्तो कार्य गर्ने व्यक्तिको बदनियत एवम् सो किसिमको आचरण देखिनु पर्ने । (प्रकरण नं.४) लोग्नेबाट घरदेखि अन्यत्रै बसोबास गरेको भन्न नसकेको अवस्थामा घरमा लोग्नेसँग सँगै बस्ने वादीले लोग्नेले गरेको व्यवहार थाहा नपाउने भन्ने अवस्था पनि नहुने । (प्रकरण नं. ६) लोग्नेसँग सँगै घरमा बसेको अवस्थामा ४ वर्षपछि लोग्नेले घर जग्गा बिक्री गरेको कुरा थाहा पाएको भनी थाहा पाएको मितिबाट हदम्याद कायम गरी वादी जालसाजीतर्फको दाबी लिई आएकोलाई उपचारको उचित मार्ग अवलम्बन गरी आएको भन्न मिल्दैन । घर जग्गा बिक्री गरेको लोग्नेसँग साथैमा एउटै घरमा बसेकी श्रीमती यी पुनरावेदक वादीलाई लोग्नेले घर जग्गा बिक्री गरेको कुरा तत्कालै थाहा नहुने कुरै नहुँदा बसी रहेको घर छोड्न नपरोस् भन्ने उद्देश्यले मात्रै जालसाजीतर्फको दाबी गरेको भन्नु पर्ने अवस्था आउँछ । यस्तोमा जालसाजीतर्फको हदम्यादसमेत आकृष्ट हुन नसक्ने । (प्रकरण नं. ७) सुरू तहमा फैसला गर्नेः मा.न्या.श्री नारायणप्रसाद पोखरेल पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री हरिराम कोइराला मा.न्या.श्री किशोर सिलवाल फैसला न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पोखराको मिति २०६७।९।१८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याउने निस्सा भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर देहायबमोजिम छः तथ्य खण्ड वादीको सङ्क्षिप्त फिराद दाबी म तथा नाबालक छोरा छोरीसमेतले जीवन गुजाराका लागि बास बसी आएको हाम्रो अंश हक लाग्ने पैतृक घर जग्गा हाम्रो मन्जुरी वेगर विपक्षीहरू एक आपसमा मिलेमतो जालसाजीपूर्ण तरिकाले राजिनामा पारित गराई जग्गा लिनु दिनु गरेका रहेछन् । विपक्षीहरूको उक्त कार्यबाट हाम्रो अंश हक कुण्ठित हुन पुगेकाले हाम्रोसमेत अंश हक लाग्ने जिल्ला कास्की हेमजा गा.वि.स. वडा नं. २ कि.नं. ३४३ को क्षेत्रफल ०-१५-१-३ जग्गामध्ये उत्तर पश्चिमतर्फ ३ भागको १ भाग विपक्षी पति पिताको भाग हिस्साको जग्गा विपक्षीहरू मिली मालपोत कार्यालय, कास्कीको र.नं. ११९५, मिति २०६०।३।८ बाट राजिनामा पारित गराई लिनु दिनु गरेकाले उक्त लिखत जालसाजी घोषित गरी उक्त जग्गा मध्ये ५ भागको ४ भाग लिखत निष्क्रिय गराई विपक्षीहरूलाई सजाय गरिपाऊँ । प्रतिवादी इन्द्रबहादुर सुनारको सुरूको प्रतिउत्तर जिकिरः वादीका पतिले दाबीको जग्गा मलाई राजिनामा पारित गरी दिँदाको समयदेखि नै विपक्षीलाई थाहा जानकारी भएको थियो । ऋण लागि जग्गा बिक्री गर्नु पर्यो भनी विपक्षीसमेत मसँग सल्लाह गर्न आएकी थिइन् । केवल हदम्याद कायम गर्नमात्र लिखत सारेको कुरा अगाडि ल्याएको अवस्था हो । पटकपटक जग्गा कमाउने भोग गर्ने क्रममा राम बहादुरसँग जग्ग