निर्णय नं. ९४३४ - कर्तव्य ज्यान, जबरजस्ती चोरी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४३४ - कर्तव्य ज्यान, जबरजस्ती चोरी । भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/०३/२३ ३०७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति :- २०७२।३।२३।४ ०६७-CR-०८७७ विषय : कर्तव्य ज्यान, जबरजस्ती चोरी । पुनरावेदक/प्रतिवादी :- जिल्ला खोटाङ, डाँडागाउँ गा.वि.स. वडा नं. ३ घर भई हाल क्षेत्रीय कारागार कार्यालय, झुम्कामा कैदमा रहेको रवीकुमार राईको छोरा कालुराम भन्ने पृथी राईसमेत विरूद्ध प्रत्यर्थी/वादी : यसोदा राईको जाहेरीले नेपाल सरकार अदालतमा बयान गरी स्वतन्त्र अभिव्यक्ति दिने क्रममा आफूहरूको उमेर १६ वर्ष पुगिसकेको लेखाइसकेकामा पछि फेरि त्यसो नभई आफूहरू नाबालक हो भनी सुरू अदालतको फैसलापश्चात् पुनरावेदनमा जिकिर लिएको र सो कुरा प्रमाणितसमेत भएको देखिँदैन । यसो गर्न प्रतिवादीहरू प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम विवन्धितसमेत हुने । कसुर गर्दा नाबालक रहेकामा त्यसतर्फ विचार गरी सजाय नतोकिएको पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी गरी बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) अनुसार न्यूनतम सजाय तोकिपाउँ भनी प्रतिवादीहरूको पुनरावेदन जिकिर रहेको भएपनि निजहरूले सुरू अदालतमा स्वतन्त्ररूपले बयान गरी लेखाएको उमेरले नै ग्राह्यता पाउने भई सुरू फैसलाउपर पुनरावेदन गर्दा छुट्टै जिकिर लिई पेस गरिएका थप प्रमाणहरूले मान्यता नपाउने भएकाले निजहरूले जिकिर लिएको नाबालकतर्फको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ५) पुनरावेदक/प्रतिवादीको तर्फबाट :- विद्वान् अधिवक्ता भोजेन्द्रबहादुर खत्री प्रत्यर्थी/वादीको तर्फबाट :- अवलम्बित नजिर :- सम्बद्ध कानून :- मुलुकी ऐन, ज्यानसम्बन्धी १३(१) बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) प्रमाण ऐन, २०३१को दफा ३४ चोरीको महलको १२, १४(२) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री दयानाथ खरेल पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री हरिकुमार पोखरेल । मा.न्या. श्री थिरबहादुर कार्की । फैसला न्या. गिरीश चन्द्र लाल :- पुनरावेदन अदालत, राजविराजको मिति २०६७।०८।१५।४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ: १. तथ्य खण्ड: १.१ विष्णु राईले दिएको जाहेरी दरखास्तको व्यहोरा: डाँडागाउँ गा.वि.स. वडा नं. ३ कोप्चे बस्ने कर्णबहादुर राईका छोराबुहारी श्रीमतीहरू सबै भारतको बागडुगुरा भन्ने स्थानमा बस्ने गरेको र कर्णबहादुर एक्लै घरमा बस्दै आएका थिए । मिति २०६५।०१।२६ गते राति अं. ८:३० बजेको समयमा कर्णबहादुर निजकै घरभित्र खाना खाइरहेको अवस्थामा नमालुम को कसले बन्चराले टाउकोसमेतमा काटी मारेको कुरा गाउँकै बैनमाया राईले भोलिपल्ट मिति २०६५।०१।२७ गते बिहान थाहा पाई गाउँमा हो हल्ला गरेपछि थाहा पाएँ । त्यसपछि घटनास्थलमा गई हेर्दा कर्णबहादुर राईलाई मृत अवस्थामा देखी जाहेरी दिन आएको छु । अपराधीलाई कानुनबमोजिम कारवाही गरी मृतक लास दाहसंस्कार गर्न जिम्मा लिन पाऊँ । १.२ घटनास्थल मुचुल्काको व्यहोरा: लासको बायाँ कानभन्दा माथि टाउकामा ५ इन्च लामो, तालुमा २ इन्च लामो तथा २ इन्च गहिराइको र टुप्पीनिर ४ इन्च लामो र ३ इन्च गहिराइको धारिलो हतियारले काटेको चोटहरू देखिएको, लासभन्दा १५ फिट पश्चिममा रगत र रौं लागेको २ फिट १ इन्च लामो बन्चरो फेला परेको हो । १.३ पोस्टमार्टम रिपोर्टको व्यहोरा: मस्तिष्