निर्णय नं. ९४३५ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४३५ - परमादेश भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/११/०३ ७७०७ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोपाल पराजुली आदेश मिति :- २०७१।११।३।१ ०७१-WO-०५४३ विषय :- परमादेश निवेदक :- का.म.न.पा. वडा नं. १६ स्थित नेपा मुभिज प्रा.लि.को अख्तियार प्राप्त व्यक्ति काभ्रे जिल्ला, चलाल गा.वि.स. वडा नं. ६ बस्ने वर्ष ३८ को रामप्रताप खड्का विरूद्ध विपक्षी :- महानगरीय प्रहरी परिसर, हनुमानढोका, काठमाडौं अनाधिकृतरूपमा विभिन्न वेबसाइटहरूमा राखिएका कोहिनुर चलचित्र नरोक्ने हो भने चलचित्र निर्मातालाई अपूरणीय क्षतिसमेत हुन जाने देखिएकाले नेपाल विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४४, ४५, ४६ र ४७ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ विपरीतको कसुरमा यस ऐनबमोजिम सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ बमोजिम निवेदकको जाहेरी दरखास्त दर्ता गरी कोहीनुर चलचित्रको अनाधिकृतरूपमा विभिन्न वेबसाइटमा अपलोड गरी प्रदर्शन राखिएको कार्यका सम्बन्धमा जो जसले गरेको भए तापनि अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडि बढाउन निवेदकको उजुरी दर्ता गरी अनुसन्धान गरी उक्त आपराधिक कार्य पत्ता लगाई रोक्ने कार्यसमेत गर्नु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ५) निवेदकको तर्फबाट :- विद्वान् अधिवक्ता सतीशकृष्ण खरेल विपक्षीको तर्फबाट :- विद्वान् उपन्यायाधिवक्ता चन्द्रकान्त खनाल अवलम्बित नजिर :- सम्बद्ध कानून :- विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४४, ४५, ४६, ४७, ७५ प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५, २७, २८, ३७(१) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ आदेश न्या. सुशीला कार्की :- नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकार क्षेत्र भई दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर आदेश यसप्रकार छ:- निवेदक कम्पनी र यसका सेयरधनीहरूको मुख्य कार्य चलचित्र निर्माण गर्ने हो । यस प्रा.लि. ले चलचित्र निर्माण, (प्रदर्शन तथा वितरण) ऐन, २०२६ बमोजिम “कोहिनुर” नामक नेपाली कथानक चलचित्र निर्माण गर्ने इजाजत मिति २०७०।४।७ मा लिई उक्त चलचित्र निर्माणको कार्य पूरा गरी मिति २०७१।४।१ मा चलचित्र जाँच पासको प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ । त्यसरी निर्माण गरिएको चलचित्र मिति २०७१।४।२३ मा प्रथम प्रदर्शन गरिएको थियो । यस कम्पनीले माथि उल्लिखित कोहीनुर चलचित्र सार्वजनिक प्रदर्शन गर्ने प्रयोजनको लागि नेपालभित्र र बाहिर मुलुकका विभिन्न डिष्ट्रिब्यूटर्सलाई निश्चित सम्झौता निर्माण गरी सो चलचित्र निर्माण गरिएको र काठमाडौं नारायण गोपाल चोकस्थित द स्काई मुभिज studio मार्फत Blu-ray Disk, Hard Disk मा उपलब्ध गराइएको थियो । यसरी Blue- ray Disk सम्झौता गरी लिने डिष्ट्रिब्यूटर्सहरू मध्ये काठमाडौं उपत्यकाभित्रको हलहरूको लागि कमलादीस्थित बालाजी फिल्मस् र काठमाडौं उपत्यका बाहिरको हलहरूको लागि नयाँ बानेश्वर स्थित एफ. डि. कम्पनी रहेका थिए । त्यसबाहेक नेपालका विभिन्न स्थानहरूमा गरी ५ वटा हलहरूलाई सम्झौता गरी चलचित्रको Hard Disk उपलब्ध गराइएको थियो । यसरी सम्झौता गर्दा प्रतिलिपि बनाएको अवस्थामा पत्ता लगाउन सकियोस् भनी यसमा कुनै चलचित्र वितरकले प्रदर्शनीको लागि कसैलाई उपलब्ध गराउँदा निश्चित बाटरमार्क लागेका MPEG फरम्याटमा चलचित्र उपलब्ध गराउने र प्रदर्शकहरूले