निर्णय नं. ९४४५ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४४५ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/११/०८ ४३५८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति :- २०७१।११।८।२ ०७०-WO-०१२८ विषय :- उत्प्रेषण / परमादेश रिट/निवेदक :- लोकराज जोशीको छोरा बैतडी रिम गा.वि.स. वडा नं. ६ घर भई हाल कीर्तिपुर काठमाडौं बस्ने भिष्मप्रसाद जोशी विरूद्ध विपक्षी :- त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालय, कीर्तिपुर, काठमाडौंसमेत कुनै विषयवस्तुको परीक्षाको लागि कति समय र पूर्णाङ्क उपयुक्त हुन्छ भन्ने कुरा त्यसमा विशेषज्ञताप्राप्त निकायबाट ठहर हुनु उपयुक्त हुने हुँदा सोही प्रयोजनको लागि त्यस्तो निकाय स्थापित भएको हुन्छ । कम समयमा सम्पन्न हुन सक्ने कुरामा लामो समय दिनुको कुनै औचित्य र अर्थ नरहने । सक्षम र समर्थ निकायबाट परीक्षा सञ्चालन भएको र संशोधित समयतालिका तथा पूर्णाङ्कसमेतका कुरालाई स्वीकार गरी निवेदक त्यसमा सहभागी भएकामा निवेदक उक्त परीक्षामा राम्रो अङ्क ल्याउन नसकेपछि मात्र प्रस्तुत रिट निवेदन परेको निवेदकको यस्तो अवसरवादी आचरणतर्फ आँखा चिम्लेर रिट जारी गर्नु उपयुक्त हुँदैन । यसमा सफल परीक्षार्थीहरू समेतले पुनः परीक्षा दिँदा निजहरूको समय, श्रम र पैसाको खति हुने स्पष्ट छ । यस्तोमा रिट जारी गर्नु सुविधा र सन्तुलनको हिसाबले पनि मुनासिब नहुने । व्यक्तिगत हकहित र सामाजिक हकहित बाझिएमा सामाजिक हकहितले मान्यता पाउने भन्ने विधि शास्त्रीय अवधारणा रहेको पाइन्छ । तर निवेदकको व्यक्तिगत हकको पनि हनन् नभएको अवस्थामा निवेदन दाबीबमोजिम सम्पूर्ण परीक्षा र सोको नतिजा बदर गर्नु उपयुक्त नभएकाले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता जगतप्रसाद जोशी विपक्षीको तर्फबाट :- विद्वान् अधिवक्ता नारायणप्रसाद खनाल अवलम्बित नजिर :- सम्बद्ध कानून :- नेपालको अन्तरिम संविधान २०६३ को धारा १३ र २७ त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २७ आदेश न्या. गोविन्दकुमार उपाध्याय :- नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :- म निवेदकले यसअघि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट अंग्रेजी विषय लिई स्नातकोत्तर तह उत्तीर्ण गरी सकेको छु । मिति २०७०।२।२८ गतेको गोरखापत्रमा एम. फिल तहमा विद्यार्थी भर्नासम्बन्धी प्रवेश परीक्षाको लागि सार्वजनिक सूचना प्रकाशन गरेको र सो समयमा सूचनामा उक्त परीक्षाको विषयमा विस्तृत विवरण खुलाइएको तथा परीक्षा अवधि २ घण्टा कायम गरिएको थियो । मैले पनि परीक्षाको लागि आवेदन भरी परीक्षामा सहभागी भएको थिएँ । यसरी २ घण्टाका आधारमा तयारी गरी परीक्षा दिन जाँदा कुनै जानकारी नदिई प्रश्नपत्रमा परीक्षा समय १.३० घण्टामात्र राखी पूर्णाङ्क गत वर्षको ५० भन्दा वृद्धि गरी ७५ अङ्क कायम गरेको देखिएको र तत्सम्बन्धमा विपक्षी कार्यक्रम संयोजकसँग कुरा गर्दा अहिले परीक्षा दिनुस् पछि निर्णय गरी कुरा मिलाइनेछ भनी जानकारी गराइएकामा हाल सो विषयमा कुनै निर्णय नगरी उक्त गैरकानूनीरूपमा सञ्चालित परीक्षाको नतिजासमेत प्रकाशन गर्ने भनी २०७०।४।२३ गते निर्णय गरेको हुँदा सो निर्णय र परीक्षा प्रक्रिया बदरभागी छ । त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २७ तथा ऐ नियमावलीले तोकेको योग्यता पुगेको हुँदा विपक्षीले मेरो एम. फिलको आवेदन स्