निर्णय नं. ९४४७ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४४७ - अंश चलन भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०५/०५ ४९७४ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री दिपकराज जोशी माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति: २०७१।५।५।५ ०७०–NF–०००७ मुद्दाः अंश चलन । पुनरावेदक प्रतिवादी : जिल्ला धनकुटा, धनकुटा नगरपालिका वडा नं. ७ बस्ने सुन्दरीकुमारी श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी वादी : जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ४ बस्ने राजकुमार श्रेष्ठसमेत मुलुकी ऐन, अ.बं ३० नं ले दुई वा दुईभन्दा बढी अंसियारहरूबिचमा अंशबन्डा भएको छ वा छैन भन्ने विवादित तथ्यको निर्णय गर्न एउटा निश्चित मापदण्ड निर्धारण गरेको छ । मिसिलमा उल्लेख भएका तथ्य र वस्तुस्थितिको मूल्याङ्कनबाट मात्र विवादको निरूपण हुन्छ । अंसियारबिच बन्डापत्रको माध्यमबाट वा व्यवहार प्रमाणबाट अलग भै बस्ने प्रचलन रही आएको हुँदा जुनसुकै माध्यमबाट होस् भिन्न भै भिन्न व्यवहार गरी भिन्न भएको पुष्टि हुने आधार देखिएमा अंसियारबिचको बन्डामा विवाद नउठोस् भन्नका लागि कानूनमा रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुने व्यवस्था समावेश गरेको देखिने । (प्रकरण नं. ४) मूल पुरूषको नामबाट सगोलमा रहेका अर्का कुनै भाइको नाममा नामसारी भएको देखिँदैमा नामसारी भई आएका जग्गा अंश लाग्ने जग्गा हो भनी न्यायिक धारणा बनाउन नमिल्ने । (प्रकरण नं. ७) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहाल विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू शेरबहादुर के.सी., योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र ऋतुवर्ण बानिया अवलम्बित नजिर : नेकाप, २०६६, पुस, निर्णय नं. ८२२७, पृष्ठ १५२५ नेकाप, २०५६, चैत, निर्णय नं. ६८२४, पृष्ठ ८५५ सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ मुलुकी ऐन अ.बं. ३०, १३९ अंशबन्डाको ३० नं. सुरू अदालतमा फैसला गर्नेः– मा.न्या. श्री अर्जुनप्रसाद कोइराला पुनरावेदन तहमा फैसला गर्नेः– मा.न्या. श्री हरिप्रसाद घिमिरे मा.न्या. श्री ऋषिराम मिश्र सर्वोच्च अदालतमा फैसला गर्नेः– मा.न्या. श्री ताहिर अलि अन्सारी मा.न्या. श्री तर्कराज भट्ट फैसला स.प्र.न्या. दामोदरप्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर भएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६८।१२।१ मा भएको फैसलामा सोही ऐनको दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै पेस भएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ । हाम्रो बाजे अनकमानका ४ भाई छोराहरूमा बाजेबाट हाम्रो बुबाहरू ३ जनाले पुर्खाको सम्पत्तिबाट पाउने अंश नलिई केदारमान वि.सं. १९९६ सालतिर, रामेश्वरमान २०१२ सालतिर र महेश्वरमान २०२० सालतिर तराईतिर बसी मानो छुट्टिई आफ्नो-आफ्नो व्यवहार गर्दै आउनु भई पैतृक सम्पत्तिबाट पाउने अंश भाग नलिनु भएकामा बाजे अनकमानबाट प्रतिवादीहरूका पति/बुबा द्वारिकामानले आफ्नो जिम्मामा लिई हाम्रा बुबाहरूलाई अंश लिनबाट वञ्चित गराई बाजेको मृत्युपछि पैतृक सम्पत्ति एकलौटी प्रतिवादीका पति/पिता द्वारिकामानले आफ्नो नाममा नामसारी गराएको र हाल ती जग्गाहरू प्रतिवादी सुन्दरीकुमारी श्रेष्ठको नाममा नामसारी भई केही जग्गा सुन्दरीकुमारीको नाममा, केही जग्गा निजका छोरा अन्य प्रतिवादीको नाममा हक हस्तान्तरण भएको अवस्था छ । हाम्रा बुबाहरूले पटकपटक माग्दासमेत हालसम्म पनि अंश नदिएकाले पैतृक सम्पत्तिलाई ४ भाग लगाई सोमध्ये हाम्रा