निर्णय नं. ९४६४ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४६४ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/१२/१६ ३३०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७१।१२।१६।२ ०६६-WO-१३०७ विषय :- उत्प्रेषण / परमादेश निवेदक : कैलाली जिल्ला केटा तुलसीपुर गा.वि.स. वडा नं. ६ घर भई सशस्त्र प्रहरीबल सीमा सुरक्षा कार्यालय रौतहट दरवन्दी रहेका आई. डी. नं. १२८२९ का सशस्त्र वरिष्ठ प्रहरी हबल्दार पदको सेवाबाट अवकाश दिइएका नरेश डगौरा विरूद्ध विपक्षी : सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, काठमाडौंसमेत कुनै पनि कर्मचारी विरूद्ध उसको आचरण व्यवहार सम्बन्धमा कारवाही गर्दा बढो सतर्कताका साथ कानून र नियमको पालना गरी गर्नुपर्ने हुन्छ । किनकी रोजगारीको अधिकार जीवनको अधिकारसँग जोडिएको हुन्छ र सम्बन्धित व्यक्तिमात्र होइन उससँग आश्रित परिवारमाथि पनि यस्ता कारवाहीले प्रतिकूल प्रभाव पार्न सक्दछ । यसरी रोजगारीको अधिकारबाट वञ्चित गर्ने गरी निर्णय गर्दा सम्बन्धित नियमले स्पष्टरूपले तोकिदिएको विधि र प्रक्रियाहरूको पूर्णरूपमा अवलम्बन गरी गर्नु पर्ने । (प्रकरण नं.११) सशस्त्र प्रहरी बल नेपालमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नको लागि गठन गरिएको राज्यको एउटा संयन्त्र हो । राज्यको संयन्त्रबाट कुनै कर्मचारीलाई कानूनविपरीत नोकरीबाट बर्खास्त गर्ने गरी निर्णय गरिन्छ भने यस्तो अवस्थामा राज्यबाट उक्त व्यक्तिको रोजगारीको अधिकारको उल्लङ्घन भएको मान्नु पर्ने । (प्रकरण नं.१४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय गणेश गिरी र रामप्रसाद ढुङ्गेल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च), धारा १८ अ.बं. ११० नं. सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७(१)(छ), ८४(ख)(१) आदेश न्या. सुशीला कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम्‌ आदेश यसप्रकार रहेको छ : रिट निवेदनको सङ्क्षिप्त व्यहोरा म निवेदक विपक्षी सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोक मातहतको कार्यालयमा आजभन्दा ९ वर्षअघि सशस्त्र प्रहरी जवानमा सेवा प्रवेश गरी मैले गरेको मेहनत र कार्यदक्षताका आधारमा विभिन्न समयमा प्रमोसनसमेत भई पछिल्लो समयमा विपक्षी नं. २ अन्तर्गतको सशस्त्र प्रहरीबल सीमा सुरक्षा कार्यालय रौतहटमा सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा कार्यरत् रहेकामा बुवा बिमारी हुनु भएकाले १० दिनको घर बिदा स्वीकृत गराई मिति २०६६।१०।१७ मा घर गएको थिएँ । बिदाको समयमा बुवाको रेखदेख गर्दासमेत बुवा ठिक नहुनु भएकाले बुवालाई हस्पिटल भर्ना गरी उपचार गर्दा गर्दै स्वीकृत बिदाभन्दा केही बढी दिन व्यतित हुन गई कार्यालयमा फर्किन ढिला भएको र सोबारेमा मैले टेलिफोनबाट आफू कार्यरत्‌ कार्यालयका कर्मचारी वीरबहादुर चन्दलाई जानकारी गराएको थिएँ तर निजले मैले दिएको जानकारीबारे कार्यालय प्रमुखलाई दिनुभएको रहेनछ । यस्तो अवस्था रहेकामा म मिति २०६६।१०।२९ गते सम्ममा हाजिर हुनु पर्नेमा हाजिर हुन नआइ गयल हाजिर भएको जनाउँदै मउपर कारवाहीको लागि प्रतिवेदन उठाइएको रहेछ । मेरो खोजतलासको लागि मुलुकी ऐन, अ.बं. ११० नं. बमोजिमको म्याद सूचना मेरो घर ठेगानामा पठाइएको भनिएको भए पनि सो