निर्णय नं. ९४६७ - विष सेवन गरि कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४६७ - विष सेवन गरि कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: पौस अंक: ९ फैसला मिति :२०७२/०५/२५ ३९३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७२।५।२५।६ ०७१-RC-००७६ मुद्दा : विष सेवन गरि कर्तव्य ज्यान वादी : शंकरप्रसाद बजगाईको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला बर्दिया मोतिपुर घर भई हाल कारागार कार्यालय, तुल्सीपुर, दाङमा थुनामा रहेकी नुमा बजगाई जन्म दिने आमाले आफ्नो छोराछोरीको सधैँ हित नै चिताएको हुन्छ । छोराछोरीको हत्या गर्ने जस्तो गम्भिर अपराध गर्ने मनसाय कुनै पनि आमासँग रहँदैन । प्रस्तुत वारदातमा आफ्नो मृत्युपश्चात् छोराछोरीले झन् दुःख पाउने अवस्थाको कल्पना गरि धेरै दुःख नपाउन् भनी एकैपटक आफूसँगै मार्न खोजेको कार्यलाई अन्य सुनियोजित हत्या (Intentional Homicide) गर्नेलाई जस्तो कठोर सजाय गर्नु न्यायको दृष्टिले उचित नदेखिने । कसुर र सजायमा तादाम्यता हुनु आवश्यक हुन्छ । यी प्रतिवादीले पति एवम् सासूलगायतका घर परिवारका अभिभावकबाट समेत हेलापूर्ण व्यवहार भएको कारण आत्महत्या गर्न प्रयास गरेको कार्य नै दुःखद्‌ छ । आफू मरेपछि नाबालक छोराछोरीको विचल्ली होला भनी बालबच्चाले दुःख पाउने कल्पना गरि विष सेवन गरि छोराछोरीलाई समेत विष खुवाएको घटना झन् दुःखद्‌ छ । आफ्नो नाबालक छोरा आफ्नै कारणले गुम्न गएको पीडा प्रतिवादीले सदैब सहनु पर्ने स्थिति छ । प्रतिवादीलाई कानूनले सजाय गरेकोभन्दा पनि बढी सजायबोध परिमाणतः आजीवन भई रहने स्थितिलाई मनन् गर्दा प्रतिवादीलाई पाँच वर्ष सजाय हुने राय व्यक्त भएकामा सोसमेत चर्को पर्ने देखिँदा मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम प्रतिवादीलाई चार वर्षसम्ममात्र कैद सजाय गर्नु न्यायोचित हुने । (प्रकरण नं. ५) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं. अ.बं. १८८ नं. जिल्ला अदालतमा फैसला गर्ने : मा.जि.न्या.श्री धनसिंह महरा पुनरावेदन अदालतमा फैसला गर्ने : मा.न्या. श्री प्रेमराज ढकाल मा.न्या. श्री दिनेशप्रसाद यादव फैसला न्या. बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०७१ ।५ ।८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचको लागि दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : मिति २०६८ ।३ ।२७ गते राति ११.०० बजेको समयमा जिल्ला बर्दिया मोतिपुर ६ बस्ने नुमा बजगाईले आफू पनि मर्ने छोरा छोरीलाई समेत मार्ने उद्देश्यले विष सेवन गरे गराएकामा सोही विषको कारण उपचारको क्रममा वर्ष ६ को छोरा अङ्कित बजगाईको मृत्यु भएको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको शंकरप्रसाद बजगाईको जाहेरी दरखास्त । जिल्ला बर्दिया मोतिपुर गा.वि.स. वडा नं. ६ स्थित पूर्वमा सखरिया टोलबाट बैसठ्ठी खेततर्फ जाने पानी कुलो पश्चिममा बलबहादुर परियारको जग्गा उत्तरमा धनमाया बजगाईको जग्गा दक्षिणमा लिलाधर अधिकारीको जग्गा यति चार किल्लाभित्र रहेको उत्तर दिशातर्फ मुलढोका फर्किएको जस्ताको छाना भएको तीन कोठे घरको दक्षिण पश्चिमपट्टीको कोठामा मिति २०६८।३।२७ गते राति अन्दाजी ११.०० बजेको समयमा नुमा बजगाईले आफूले विष सेवन गरि छोरा अङ्कित र छोरी अङ्कितालाई विष सेवन गराएकामा आफन्त र छिमेकीहरू समेत मिलि ढोका खोली निजहरूलाई उपचारार्थ शिक्षण अस्पताल कोहलपुरतर्फ पठाएको ठिक साँचो हो भन्नेसमे