निर्णय नं. ९४८४ - माना चामल नाता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४८४ - माना चामल नाता कायम भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०३/२४ ४२८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।३।२४।३ ०६७-CI-१११६ मुद्दा: माना चामल नाता कायम । पुनरावेदक/प्रतिवादी : जिल्ला बागलुङ, भीम पोखरा गा. वि. स. वडा नं.२ रातमाटा भीरबारी बस्ने डम्बरबहादुर मल्लसमेत विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला बागलुङ, भीम पोखरा गा. वि. स. वडा नं २ बस्ने गुमा गिरी अदालतले डि.एन.ए. परीक्षण गराउने आदेश गरि प्रतिवेदन आइसकेपछि उक्त परीक्षण प्रतिवेदनमा उल्लिखित रायलाई स्वीकार वा अस्वीकार गरि निर्णय गर्न अदालत स्वतन्त्र हुने भए तापनि त्यसको ठोस कारण उल्लेख गर्न सक्नु पर्दछ । डि.एन.ए. परीक्षण सत प्रतिशत सत्य हुन्छ भनि मान्न नसक्ने तर्क गर्ने हो भने त्यस्तो परीक्षणबाट प्राप्त नतिजालाई मिसिल संलग्न अन्य प्रमाणहरूसँग भिडाई हेर्दा मेल नखाएको र शङ्कास्पद अवस्थामा मात्र त्यसलाई नजरअन्दाज गर्न सकिने । डि.एन.ए. परीक्षण गर्ने विशेषज्ञले अदालतमा आफ्नो रायलाई पुष्टि गर्ने गरि बकपत्र गरेको अवस्थामा निजको भनाइलाई प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाण ग्राह्य मानेकै अवस्था देखिने । (प्रकरण नं. ५) नाता कायम जस्तो मुद्दामा डि.एन.ए. परीक्षणबाट प्राप्त विशेषज्ञको रायलाई बिनाआधार अन्यथा हो भन्न नमिल्ने । (प्रकरण नं. ७) प्रतिवादीले वादी दाबीलाई अस्वीकार गरेको, डि.एन.ए. परीक्षणबाट बच्चाको जैविक बाबु प्रतिवादी होइन भन्ने देखिएको र विशेषज्ञले सो कुराको पुष्टि हुने गरि बकपत्र गरेको, डि.एन.ए. परीक्षण प्रतिवेदनको आधिकारिकतामा खण्डन गर्न सघाउ पुर्‍याउने प्रमाणको अभाव रहेको एवम्‌ वादीले आफ्नो भनाइ पुष्टि गर्ने भरपर्दो प्रमाण पेस गर्न नसकेको अवस्थामा वादी र प्रतिवादीबिच लोग्ने स्वास्नीको नाता कायम हुने र वादीले प्रतिवादीबाट माना चामल भराइ लिन नपाउने । (प्रकरण नं. ८) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय विकाश भट्टराई र किशोर खतिवडा प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०५२, कार्त्तिक, नि. नं. ६०४६, पृ. ६४७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा १८, २६ सुरू तहमा फैसला गर्नेः मा.न्या. श्री भोलानाथ चौंलागाई पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री पोषनाथ शर्मा मा. न्या. श्री कुमारप्रसाद पोखरेल फैसला न्या. कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन अदालत, बागलुङको फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भन्ने प्रतिवादीको निवेदन परि पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार रहेको छः विपक्षी डम्मरबहादुर मल्ल र मिनाकुमारी मल्ल मेरा सासू ससुरा र ईश्वर मल्ल मेरो लोग्ने हुनुहुन्छ । मेरा सासु, ससुराको ३ जना छोरामध्ये जेठा यामबहादुर मल्ल र छोरी मिनुको विवाह भइसकेको, कान्छा छोरा मेरो लोग्ने हाल भारतको आर्मीमा नोकरी गर्दै आउनु भएको छ । मेरो ठुलाबाबा जय गिरीको मृत्यु भएकाले मिति २०६३/५/१३ गतेका दिन म ठूलाबाबाको घरमा गएको थिएँ । सोही दिनमा किरियापुत्रीलाई भेटघाट गर्न एवम्‌ कुर्न विपक्षी मेरो लोग्ने आउनु भएको अवस्थामा भेटघाट भई विपक्षीले मलाई श्रीमती बनाउँछु भनि ललाई फकाई सोही रात ११ बजेको समयमा जबरजस्ती समाती करणी गर्नुभयो । विपक्षी र मेरो शारीरिक सम्पर्कबाट मेरो पेटमा गर्भ रहन गई म