निर्णय नं. ९४८५ - मोही लगत कट्टा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४८५ - मोही लगत कट्टा भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०९/१८ ६०५८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।९।१८।६ ०७०-CI-१०६१ मुद्दाः मोही लगत कट्टा पुनरावेदक/वादी : जिल्ला झापा दमक नगरपालिका वडा नं.१० बस्ने गणेशप्रसाद रिजालकी छोरी छविरमण ढकालकी पत्नी लक्ष्मीकुमारी ढकाल विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला झापा तोपगाछी गा.बि.स.वडा नं. ३ बस्ने पाण्डुको नाति सुपल भन्ने सुदुल सतारको छोरा चुण्डा सेरित सतार भूमिसुधार कार्यालयमा रहेको तथ्यगत प्रमाणको विरूद्ध अन्यत्र खडा भएको कागजातहरू मोहीको लगत सम्बन्धमा प्रमाणयोग्य मान्न मिल्ने पनि होइन । मोहीको लगत सम्बन्धमा वादी पक्षले आधिकारिक निकायबाहेक अन्य कार्यालयबाट प्राप्त गरेको कागजातमा मोही उल्लेख नहुँदैमा भूमिसुधार कार्यालयमा रहेको तथ्यगत प्रमाणको विपरीत प्रतिवादीका बाबु सुफल सतार मोही हुँदै होइन भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. ५) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ बमोजिम मोहीले तोकिएको कुत नबुझाए मोहियानी हक समाप्त हुन सक्ने देखिन्छ । तर यी निवेदक वादीले तोकिएको कुत नबुझाएतर्फ छुट्टै उजुर गरेको पनि नदेखिएको एवम् मोहीको लगत कट्टा गराई माग्न भूमिसुधार कार्यालयमा दरखास्त गर्दासमेत सो कुराको जिकिर लिन सकेको नदेखिँदा प्रतिवादीको मोहियानी हक समाप्त भएको मान्न नमिल्ने । (प्रकरण नं. ९) भूमिसम्बन्धी ऐन, २०२१ को २०५३ र २०५८ सालमा भएको चौथो संशोधनद्वारा थप तथा पाँचौं संशोधनद्वारा थप व्यवस्थापश्चात् पनि उक्त ऐनको दफा २६(१)(ग) यथावत् रहेको देखिन्छ । यसले भूमिसम्बन्धी ऐनको दफा २६(१)(ग) बमोजिम पनि मोहियानी हक समाप्त हुने हो भन्ने सन्दर्भमा हेर्दा भूमिसम्बन्धी ऐनको दफा २६(१)(ग) र उक्त ऐनको २०५३ र २०५८ सालमा दफा २६ख, २६घ र २६घ२ मा भएको चौथो संशोधनद्वारा थप एवम् पाँचौं संशोधनद्वारा थप व्यवस्थापश्चात् भएको कानूनी व्यवस्थालाई एकै ठाउँमा व्याख्या गर्नुपर्ने । (प्रकरण नं. १२) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् अधिवक्ता टीकाराम भट्टराई प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६२, नि.नं. ७५४९, पृ.६७० सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)(ग), २९ सुरू फैसला गर्ने अधिकारी: श्री शान्तिराज प्रसाई पुनरावेदन तहको फैसला गर्ने : मा.न्या.श्री गुणराज ढुङ्गेल मा.न्या.श्री रामचन्द्र राई फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१)(ग) अनुसार पुनरावेदन अदालत, इलामको मिति २०७०।५।१७ को फैसला उपर दायरभएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ:- मेरो नाम दर्ताको जिल्ला झापा तोपगाछी वा.नं.३ को कि.नं.९३२ को ज.बि.१-५-० र ऐ.को कि.नं.९३४को ज.बि.०-६-० जग्गाका मोही सुपल भन्ने सुफल सतार भए तापनि निज मोहीले उल्लिखित जग्गा मैले खरिद गर्नुभन्दा अगाडि जोतभोग गरेको र हाल म जग्गाधनी आफैँले जोतभोग गरेकाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ‘ग’ अनुसार सो जग्गाको मोही लगत कट्टा गरिपाउँ भन्ने लक्ष्मीकुमारी ढकालको मिति २०६९।२।२ को निवेदन । वादी दाबीमा उल्लिखित जग्गाको मोही मेरो बाबु हुन् । बाबुले लगातार मोहीको हैसियतले उक्त जग्गा जोतभोग गरि आएका हुन् र साबिक जग्गाधनी नगेन्द्रबहादुर बस्नेत (बाबु सरदबहादुर बस्नेत) ले हालका जग्गाधनीलाई बिक्री गरेको हो । उक्त जग्गा जोतभोग कै अवस्थाम