निर्णय नं. ९५०१ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५०१ - बन्दीप्रत्यक्षीकरण भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७२/०८/०८ २६६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७२।८।८।३ ०७२-WH-००२२ मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक / पक्ष : धादिङ जिल्ला धुवाकोट गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय, धादिङबेसी धादिङमा थुनामा रहेको दिलबहादुर श्रेष्ठको हकमा निजकी श्रीमती झलककुमारी श्रेष्ठ विरूद्ध विपक्षी / प्रत्यर्थी : काठमाडौं जिल्ला अदालत बबरमहल, काठमाडौंसमेत विदेशी विनिमय अपचलन मुद्दामा भएको म्याद तामेली र फैसलालाई गैरकानूनी भनि निवेदकका हकमा बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेको कानूनअनुरूप छ छैन भन्ने सम्बन्धमा निवेदक प्रतिवादी विदेशी विनिमय अपचलन मुद्दाको अनुसन्धान एवम् कारवाहीका क्रममा फरार रहेको देखिने । निवेदकले विदेशी विनिमयको कारोबार गर्न आफ्नो नाउँमा फर्म खोलेको तथ्यलाई अन्यथा भन्न सकेको नपाइने । आफ्नो नाउँमा फर्म खोलेका निवेदकले फर्ममा उल्लेख भएअनुसारको सर्तको पालना गरि कार्य गर्ने कर्तव्य पनि निजमा रहने । निवेदकले फर्मको उद्देश्यअनुसार काम कारवाही नगरेको कारण नै निजमाथि अभियोग लाग्न गएको हो । फर्मको उद्देश्य र सर्तअनुसार काम नगरेमा आफूमाथि जहिले पनि कानूनी कारवाही हुन सक्छ भनि अनुमान गरि निवेदकसचेत रहन सकेको निजको व्यवहारले देखाउन सकेको नपाइने । पुनरावेदन अदालतबाट विदेशी विनिमय मुद्दामा तामेल भएको म्याद र फैसलासमेत कानूनबमोजिमको ठहरि अन्तिम आदेश भइरहेको अवस्थामा सोही विषयलाई लिएर निवेदनको स्वरूप परिवर्तन गरि प्रतिवादी निवेदकका हकमा प्रस्तुत बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेको पाइने । एउटै विषयमा पहिले प्रतिवादी स्वयम्ले पुनरावेदन अदालतमा निवेदन गरि अदालतबाट भएको आदेश अन्तिम भइरहेको अवस्थामा पुनः त्यही कुरालाई छुट्टै बन्दीप्रत्यक्षीकरणको निवेदनबाट निवेदक यस अदालतमा प्रवेश गरेको देखिने । एउटै विषयका बारेमा सक्षम अधिकारप्राप्त अदालतबाट निर्णय भई निर्णय अन्तिम भएको अवस्थामा बन्दीप्रत्यक्षीकरणको निवेदनबाट विदेशी विनिमय अपचलन मुद्दामा भएको तामेली म्याद तथा फैसलासमेत बदर गरि गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ भन्ने प्रस्तुत निवेदन खारेज हुने । (प्रकरण नं.३) निवेदक / पक्षका तर्फबाट : विद्वान् अधिवक्ता रामबहादुर खड्का विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान् उपन्यायाधीवक्ता बालकृष्ण वाग्ले अवलम्बित नजिर : सम्बद्ध कानून : विदेशी विनियम नियमित गर्ने ऐन, २०१९ को दफा ४(३) र (४), दफा १७(१) आदेश न्या.बैद्यनाथ उपाध्याय : नेपालको संविधान, २०७२ को धारा ४६, १३३ को उपधारा (१)(२) र (३) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :- १. निवेदकको निवेदन व्यहोरा :- नेपाल सरकार अर्थ मन्त्रालयको उजुरी परि पति दिलबहादुरलाई प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय अपचलन मुद्दासमेत दायर भई उक्त मुद्दामा मेरो पति दिलबहादुरको वतन धादिङ जिल्ला, धुवाकोट गा.वि.स. वडा नं. ५ घर भै काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने गवाकोट इन्टरप्राइजेजका प्रो. दिलबहादुर श्रेष्ठ उल्लेख भएको रहेछ । तर म्याद काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४ कलंकीमा घर डेरा पत्ता नलागेको भनि सो स्थानमा रहेको बिजुलीको खम्बामा मिति २०५६।४।५ मा मुलुकी ऐन, अ.वं. ११० नं. प्रतिकूल तामेल