निर्णय नं. ९५०३ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५०३ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७२/०९/२३ ३५४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।९।२३।५ ०६९-CI-०६९० मुद्दा : उत्प्रेषण / परमादेश पुनरावेदक / पक्ष : रामदेवन भन्ने रामदेव महतो नुनियाको छोरा जिल्ला बारा, गाउँ विकास समिति बेलदारी, वडा नं. ८ बस्ने गोखुल महतो नुनियासमेत विरूद्ध विपक्षी / प्रत्यर्थी : भारत विहार जिल्ला पूर्वी चम्पारण थाना महुअवा ग्राम विन्दवासिनी हाल बारा जिल्ला बेल्दारी गाउँ विकास समिति वडा नं. ८ बस्ने दानी महतोको छोरा भुखल महतोसमेत कानूनी राज्यमा Due process of law को पालना गर्नु प्रत्येक व्यक्ति तथा निकायको दायित्व हो । कानूनको अधीनमा रहि अदालतमा प्रवेश गरेको मुद्दामा माथिल्लो अदालतबाट हस्तक्षेप गर्दै जाने हो भने कानूनको शासनकै उपहास हुन जान्छ । अधिकारप्राप्त न्यायिक निकायसमक्ष साधारण क्षेत्राधिकारअन्तर्गत दायर भई विचाराधीन रहेको विषयमा हस्तक्षेप गरि त्यस्तो मुद्दाको कारवाही स्थगित गर्नु वा जारी भएको म्याद सूचना जारी नगर्नु, त्यसमा कुनै कारवाही नगर्नु भनि रिट क्षेत्रबाट प्रवेश गरि हस्तक्षेप गर्नु कानूनको मान्य सिद्धान्तसमेतको विपरीत हुन जाने । (प्रकरण नं.४) कानूनले निर्दिष्ट प्रक्रिया अवलम्बन गरि अदालतसमक्ष प्रतिरक्षा गर्नु पर्नेमा due process of law लाई छलेर निवेदकहरू प्रस्तुत निवेदन गर्न आएको देखिँदा कानूनको व्यवस्था र कार्यविधिलाई निस्तेज पार्ने गरि वा सुरू अदालतसमक्ष विचाराधीन मुद्दाको तथ्यमा प्रवेश गरि वा सुरू अदालतको न्यायिक क्षेत्राधिकारमा हस्तक्षेप हुने गरि निवेदन मागबमोजिम उत्प्रेषण एवम्‌ परमादेशको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / पक्षका तर्फबाट : विपक्षी / प्रत्यर्थीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ सुरू फैसला गर्ने: माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी आदेश न्या.देवेन्द्र गोपाल श्रेष्ठ : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६९।२।३१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ:- तथ्य खण्ड रामफल महतोको एकमात्र छोरा रामदेव महतो र रामदेव महतोको दुई छोरा क्रमशः हामी गोखुल महतो तथा किसुन महतो भई सुरेश महतो गोखुल महतोको छोरा हुँ । स्व. रामदेव महतो भन्ने रामदेवको नाममा नाप नक्सा भएको जिल्ला बारा, गाउँ विकास समिति बेल्दारी वडा नं. १ कि.नं. ५०, कि.नं. १०४, ऐ. वडा नं. २ कि.नं. १४२ का जग्गाहरू पिता, हजुरबुबाको नाममा फिल्डबुक तयार भई सोहीअनुसार जग्गाधनी प्रमाण पुर्जा कायम भई पिता हजुरबुबाको जीवनकालसम्म पिता हजुरबुबाले तथा २०२९ सालमा वहाँको मृत्युपश्चात्‌् निर्विवादरूपमा हामीले भोगचलन गरि आएका थियौं । हामी दाजुभाइ गोखुल महतो तथा किसुन महतोको बिचमा बारा जिल्ला अदालतमा अंशसमेतका मुद्दा परि मिति २०६७।५।१७ मा मिलापत्र हुँदा कि.नं. ५० तथा कि.नं. १०४ को जग्गाहरू मिलापत्रबाट हामी दाजुभाइको अंशभागमा परि जग्गाधनी प्रमाण पुर्जासमेत पाई हामीले भोगचलन गरि आएका छौं । सो साबिक कि.नं. १०४ कित्ताकाट भई कि.नं. ४२० तथा कि.नं. ४२१ कायम भएको छ । विपक्षी भुखल महतोले हाम्रो उक्त जग्गामा लोभ गरि हामीउपर बारा जिल्ला अदाल