निर्णय नं. ९५१९ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५१९ - जबरजस्ती करणी भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७२/०८/०३ ११७१५ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।८।३।५ ०७०-CF-०००१ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / वादी : सिता खड्काको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सिन्धुपाल्चोक, ठुलो धादिङ गा.वि.स. वडा नं.९ घर भई हाल भक्तपुर जिल्ला दधिकोट गा.वि.स. वडा नं. ९ बस्ने टसि वि.क. समेत जबरजस्ती करणीको अपराध र जबरजस्ती करणीको उद्योगका बिचमा कस्तो भिन्नता रहने हो भन्ने सम्बन्धमा विचार गर्दा, सामान्यतयाः कुनै पुरूष व्यक्तिले महिलालाई निजको मन्जुरी नलिई जोर जबरजस्ती गरी निजको पुरूष जननेन्द्रिय महिलाको योनिमा प्रवेश गराई यौन सन्तुष्टी लिने कार्य जबरजस्ती करणीको अपराधजन्य कार्य हो । उक्त अपराधमा अपराधकर्ताले यौन तृष्णा मेटाउने मनसाय राखी पीडित महिलाको मन्जुरीबेगर जबरजस्तीपूर्वक आफ्नो लिङ्ग महिलाको योनिमा प्रवेश गराई यौन सन्तुष्टी लिएको हुन्छ । यसप्रकार जबरजस्ती करणीको कसुर हुनका लागि तीन वटा आधारभूत तत्त्व हुनु अनिवार्य हुन्छः जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरीको अभाव । ती तत्त्वहरूको अभावमा जबरजस्ती करणीको कसुर स्थापित हुन सक्दैन । पीडितको मन्जुरीमा वा आपसी सहमतिमा भएको करणीलाई जबरजस्ती करणीको अपराध मानिँदैन । तर उक्त मान्यताका केही अपवादहरू रहेका छन्, जस्तैः पीडित व्यक्ति नाबालिका भएको अवस्थामा उक्त मान्यता लागू हुन सक्दैन । पीडित नाबालिका भएको अवस्थामा दुई पक्षको आपसी सहमति र मन्जुरीमा करणी लिनु दिनु गरेको भए पनि त्यस्तो करणीलाई जबरजस्ती करणी नै मानिन्छ र कर्ताले जबरजस्ती करणीकै दायित्व बहन गर्नु पर्दछ । पीडित नाबालिकाको मस्तिष्क पूर्णरूपमा विकसित भैनसकेको हुनाले नाबालिकाले स्वतन्त्ररूपमा त्यस्तो कार्यको प्रकृति र परिमाणसमेत मनन गरी मन्जुरी वा सहमति जनाउन नसक्ने भएकोले त्यस्ता अवस्थाका पीडित व्यक्तिले दिएको मन्जुरीलाई मन्जुरी नमानिने सर्वस्वीकृत मान्यता रहिआएको छ । त्यस्तै डर, धाक, धम्की, अनुचित प्रभावमा पारी वा जोरजुलम गरी लिएको सहमतिलाई पनि सहमति नमानिने । (प्रकरण नं.४) जबरजस्ती करणी र जबरजस्ती करणीको उद्योगको कसुरको सामान्य मान्यताको पृष्ठभूमिमा कतिसम्मको कार्यलाई जबरजस्ती करणीको पूर्ण अपराध मानिने हो र कतिसम्मको कार्यलाई जबरजस्ती करणीको उद्योगको कसुर मानिने हो अर्थात् ती दुई कसुरमा लिङ्गको योनिमा प्रवेशको अवस्था कतिसम्म हुनुपर्ने हो, पीडित व्यक्ति बयस्क नभई नाबालिका भएको अवस्थामा त्यसलाई कसरी व्याख्या, विवेचना गरिनु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा हेर्दा, जबरजस्ती करणीको पूर्ण अपराध हुनका लागि पुरूषको लिङ्ग महिलाको योनिमा पूर्णरूपमा प्रवेश गरेको हुनुपर्ने, वीर्य स्खलन हुनुपर्ने, पीडित महिलाले प्रतिकार गरेको हुनुपर्ने, सो गर्दा पीडक र पीडितको शरीरमा संघर्ष र प्रतिकारका चिह्न हुनुपर्ने जस्ता परम्परागत मान्यतामा परिवर्तन आई पुरूषको लिङ्ग महिलाको योनिमा केही मात्रामा प्रवेश गरेको भए वा घर्षणसम्म भएको अवस्थामा पनि जबरजस्ती करणीको अपराध मानिने मान्यताको विकास भएको पाइन्छ । करणी गर्दा वा गर्न खोज्दा लिङ्गको पूर्ण प्रवेश हुन पायो वा पाएन भन्ने कुरा वस्तुस्थितिमा भर पर्ने कुरा हो । सो पूर्ण प्रवे