निर्णय नं. ९५२३ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५२३ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक: १ फैसला मिति :२०७२/०३/०३ २७७८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७२।३।३।५ ०६८–WO–०५७४ विषयः उत्प्रेषण / परमादेश निवेदक : जिल्ला सर्लाही, बेलही गा.वि.स.वडा नं.८ बस्ने फूलोदेवी यादव विरूद्ध विपक्षी : नेपाल सरकार, मालपोत कार्यालय सर्लाही, मलंगवासमेत निवेदकको नाममा २० वर्षभन्दा अघिदेखि दर्ता रहेको हक भोग र दर्ताको जग्गाको दर्ता बदर गर्नुपूर्व दर्तावाला यी रिट निवेदकलाई प्रतिवादको मौका दिई झिकाई बुझी आवश्यक निर्णय गर्नुपर्नेमा मालपोत कार्यालयबाट निवेदकलाई सुनुवाइको मौका नदिई निवेदकको नामको दर्ता बदर गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको विपरीत रहेको देखिन आउने । वस्तुतः जसको हक हित विरूद्ध निर्णय गरिन्छ सो व्यक्तिलाई प्रतिवादको मौका दिनुपर्ने भन्ने सर्वमान्य प्राकृतिक न्यायको सिद्धान्त हो । प्राकृतिक न्यायको उल्लङ्घन गरी भएका निर्णयहरू बदरभागी हुने हुँदा प्रस्तुत रिट निवेदनमा निवेदकको नाममा दर्ता रहेको जग्गाको दर्ता बदर गर्नुपूर्व निवेदकलाई सुनुवाइको मौका नदिई निर्णय गरिएको देखिएकाले उक्त निर्णय कानूनी त्रुटिपूर्ण रहेको देखिन आउने । (प्रकरण नं.५) रिट निवेदकको नाममा दर्ता रहेको जग्गाको दर्ता बदर गर्नुअघि रिट निवेदकलाई सुनवाइको मौका नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरीत मालपोत कार्यालय सर्लाही, मलंगवाबाट निर्णय भएको देखिँदा मिति २०६८।६।३ को निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्ने र उक्त जग्गाको दर्तावाला यी रिट निवेदकलाई समेत बुझी निजलाई सुनुवाइको मौका प्रदान गरी सो जग्गा सम्बन्धमा पुनः कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षी मालपोत कार्यालय, सर्लाही, मलंगवाका नाममा परमादेशको आदेशसमेत जारी हुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ को दफा ७(३) आदेश न्या.देवेन्द्र गोपाल श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ : म रिट निवेदक फूलोदेवी यादवको जिल्ला सर्लाही, गंगापुर सितापुर गा.वि.स.वडा नं.८(ख) कि.नं.१८२ को क्षेत्रफल १-०-१० जग्गा मिति २०४६/१२/५ र.नं.४७३४ द्वारा खरिद गरी राजीनामा पास गराई हालसम्म निर्विवाद भोग चलन गर्दै आएकी छु । उक्त जग्गा घर व्यवहार चलाउनलाई पहिला पनि कृषि विकास बैंक, सर्लाही, बरहथवामा धितो राखी ऋण लिएको थिएँ र सोको ऋण ब्याज चुक्ता गरिसकेको थिएँ । घर व्यवहार चलाउनलाई पुनः रकमको आवश्यकता परेकोले मेरो नाउँमा दर्ता कायम रहेको जग्गा नेपाल बैंक लिमिटेड, बरहथवा शाखामा धितो राख्नलाई निवेदन दिँदा उक्त बैंकले मिति २०६८।५।२७ मा मालपोत कार्यालय सर्लाही, मलंगवालाई जग्गा रोक्का राखी जानकारी पठाइदिने बारे पत्र पठाउँदा उक्त मालपोत कार्यालयले मेरो नाउँको जग्गा अर्को व्यक्ति धर्मराज घिमिरेको नाममा रहेको जानकारी गराएको थियो । त्यसपछि मिति २०६८।८।१ मा प्रमाणित नक्कल मालपोत कार्यालय, सर्लाही मलंगवाबाट सारी हेर्दा जिल्ला सर्लाही, वरहथवा गा.वि.स.वडा नं.८ बस्ने वर्तराज घिमिरेको निवेदनको आधारमा मेरो नाममा दर्ता कायम रहेको जग्गा मालपोत कार्यालय सर्लाहीले बदर गरिदिएको रहेछ । मेरो नाउँमा दर्ता रहे