निर्णय नं. ९५५० - भरपाई लिखत दर्ता बदर दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५५० - भरपाई लिखत दर्ता बदर दर्ता कायम भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/०१/१० २८९५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।१।१०।५ ०७०-NF-००१२ मुद्दाः भरपाई लिखत दर्ता बदर दर्ता कायम पुनरावेदक / वादी : का.जि.का.म.न.पा. वडा नं. १ घर भई हाल ऐ. वडा नं. ४ बस्ने पुरण शमशेर ज.ब.रा. विरूद्ध प्रत्यर्थी / प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. १ नक्साल बस्ने खड्गकुमारी राणासमेत पुनरावेदक वादी मन्त्र नेपाल इन्टरनेसनल नामक फर्मको सञ्चालक पनि भएको र निजले सो फर्मको नाममा नेपाल क्रेडिट एन्ड कमर्श बैंकबाट जग्गा धितो राखी कर्जा लिएकामा सो कर्जा रकम वादीले आफ्नै स्रोतबाट बैंकलाई तिरे बुझाएको भन्न सकेको देखिँदैन । यसै विवादित जग्गाको आधा हिस्साबापत प्रतिवादी खड्ग कुमारी राणाले मोहीबाट बुझेको रकमबाट तिरे बुझाएको देखिन्छ । यसरी मोही हकबाट प्राप्त रकम वादीकै हितमा प्रयोग भएको अवस्थामा प्रतिवादी खड्गकुमारी राणाले मोही हिस्साको रकम एकलौटी खाए मासेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं.५) नेपाल सरकारले मोही हक लागेको जग्गा, जग्गावाला र मोहीबिच बाँडफाँडको कार्य गर्न गराउन समय तोकी सूचना प्रकाशन भएपछि जग्गाधनी र मोहीबिच जग्गा बाँडफाँड गर्ने वा जग्गाधनी र मोहीमध्ये कुनै एकको नाममा एकलौटी कायम गर्ने कार्य अंश मुद्दा परेको कारणले रोकिन सक्दैन । त्यो कानूनबमोजिम बाँडफाँड हुन्छ । कानूनबमोजिम भएको कार्यलाई लेनदेन व्यवहारसरह मानी लिखत बदरको फिराद गर्न पाउने भन्न नमिल्ने । (प्रकरण नं.६) यस मुद्दामा भूमिसुधार अधिकारीले गरेको निर्णयउपर जिल्ला अदालतमा फिराद लाग्ने नलाग्ने भन्ने प्रश्न उठाएको हुँदा सो प्रश्नको निरूपण भूमिसम्बन्धी ऐनमा भएको कानूनी व्यवस्थाबमोजिम हुने भई भूमिसुधार अधिकारीले गरेको निर्णय नै प्रस्तुत विवादमा अन्तिम हुने हुँदा पुनरावलोकनका लागि निस्सा प्रदान गर्दा लिइएका आधार र सिद्धान्तसँग सहमत हुन नसकिने । (प्रकरण नं.८) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६च बमोजिम दफा २६ख, २६ग, २६घ, २६घ२ र २६ङ बमोजिम भूमिसुधार अधिकारीले गरेको निर्णयउपर कुनै पनि अदालतमा पुनरावेदन गर्न नपाउने गरी विधायिकाले सर्त बन्देज राखेको देखिँदा सुरू अदालतमा दायर भएको वादीको फिराद क्षेत्राधिकारविहीन देखिन आएको हुँदा पुनरावेदन अदालत, पाटनको मिति २०६४।९।१० को फैसला उल्टी गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०६९।१।२२ मा फिराद खारेज गर्ने गरी भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता धिरेन्द्र सिंह प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र लोकभक्त राणा अवलम्बित नजिर : ने.का.प. २०६७, साउन, निर्णय नं. ८३५९, पृष्ठ ६६७, ने.का.प. २०६८, साउन, निर्णय नं. ८५९७, पृष्ठ ६४६ ने.का.प. २०६९, असोज, निर्णय नं. ८८४५, पृष्ठ ९४६ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बिनोदमोहन आचार्य पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कृष्णप्रसाद बस्याल माननीय न्यायाधीश श्री वुद्धिप्रसाद रेग्मी यस अदालतको संयुक्त इजलासमा फैसला गर्ने : माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश डा.भरतबहादुर कार्की