निर्णय नं. ९५५४ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५५४ - बन्दीप्रत्यक्षीकरण भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/०४/२२ २९१० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्याय आदेश मिति : २०७२।४।२२।६ ०७१-WH-००७७ विषय: बन्दीप्रत्यक्षीकरण रिट निवेदक : नाबालक आवा भन्ने आभा, सुप्रिया र गौरव जना ३ को तर्फबाट काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३५ सिनामंगलको हाल काठमाडौं जिल्ला, गोकर्णेश्वर न.पा. वडा नं. १५ जोरपाटीस्थित सहयोगी समाज नेपालको तर्फबाट अख्तियार प्राप्त अधिवक्ता भ्रमणकुमार श्रेष्ठ विरूद्ध विपक्षी : महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंसमेत निवेदक संस्थाको संरक्षकत्वमा रहँदा यी बालबालिकाले विगतमा कुनै दुर्व्यवहार सहनु परेको अवस्था मिसिलबाट देखिँदैन भने यस्तो अवस्थामा यो संस्थाको सहमति वा स्वीकृतिबिना यी बालबालिकालाई उक्त संस्थाको संरक्षकत्वमा हटाउनका लागि यथेष्ट कारण वस्तुनिष्ठ आधारमा प्रमाणित हुनुपर्ने हुन्छ । प्रहरी कार्यालयले संरक्षण गर्न जिम्मा दिएकै भरमा निवेदक संस्थाले यी बालबालिकाको शिक्षादीक्षा लालन पालन गरी आएको अवस्थामा प्रहरी कार्यालयले नै त्यहाँबाट छुटाई अर्को संस्थामा निजहरूलाई पठाउँदा ती बालबालिकाको मनोदशा कस्तो हुन्छ भन्ने कुराको पनि हेक्का राख्नु जरूरी हुने । अनाथ बालबालिकालाई जुनसुकै बालकल्याणकारी संस्थाले कानूनबमोजिम आफ्नो संरक्षकत्वमा राख्न नसक्ने होइन तर त्यसरी राख्दा बालबालिकाको सर्वोत्तम हित र रूचीलाई ध्यान दिनु त्यत्तिकै आवश्यक हुने । बन्दी बनाइएका भनेको बाल हेल्प लाईनमा राखिएका बालबालिकाहरूलाई इजलाससमक्ष सोधपुछ गर्दा निजहरूले निवेदक संस्थासँग रहन इच्छा जाहेर गरेको र निवेदक संस्थालाई नै सामुदायिक प्रहरी सेवा चावहिलबाट जिम्मा दिएको देखिएको अवस्थामा बालबालिकाको इच्छाविरूद्ध निजहरूलाई विपक्षी संस्थामा राखी राख्न उचित नहुँदा विपक्षी बाल हेल्पलाईन नेपालको जिम्माबाट छुटाई निवेदक संस्था सहयोगी समाज नेपाललाई निज बालबालिकाहरू आवा भन्ने आभा, सुप्रिया र गौरव जिम्मा लिनका लागि बालबालिकासम्बन्धी ऐन, २०४८ का सर्तहरू पालन गर्ने गरी कागज गराई निवेदक संस्थाको जिम्मामा बालबालिकाहरू पठाई दिने । (प्रकरण नं.३) रिट निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश स.प्र.न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दर्ता भएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छ: रिट निवेदनको व्यहोरा : सहयोगी समाज नेपाल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संस्था दर्ता ऐन, २०३४ अनुसार मिति २०६३।१२।५ मा दर्ता भएको गैर नाफामुलक सामाजिक संस्था हो । यो संस्था अनाथ, असहाय, टुहुरा र त्यागिएका बालबालिकाहरूको लालन पालन, शिक्षादीक्षा गर्ने उद्देश्यहरूका साथ स्थापना भएको हो । विपक्षी प्रहरी निरीक्षकसमेत महानगरीय प्रहरी वृत्त, बौद्ध काठमाडौंका प्रहरीहरू यस संस्थामा आई यस संस्थामा संरक्षित रहेका आवा भन्ने आभा र सुप्रिया बालिकाका साथै गौरव बालक नाम गरेका ३ जना बालबालिकाहरूसँग केही कुरा बुझ्न भनी बलजफ्ती डर त्रासको वातावरणमा प्रहरी भ्यानमा राखी लगेका थिए । यसरी लग्नुको पछाडि के कारण थियो हामीलाई जानकारी दिइएन । यसपश्चात् उपल्लो निकाय महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा निवेदन दिन जाँदा निवेदन नलिएको हुँदा यस सहयोगी समा