निर्णय नं. ९१८५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१८५ - उत्प्रेषण भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०२/२२ २७९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।२।२२।५ ०६७–WO–१२४६ मुद्दा : उत्प्रेषण । निवेदक : काठमाडौं जिल्ला, कीर्तिपुर न.पा. वडा नं. ६ बस्ने जुलुम महर्जन विरूद्ध विपक्षी : काठमाडौं जिल्ला, कीर्तिपुर न.पा. वडा नं. ६ बस्ने आशामाया महर्जनसमेत § कुनै फैसलाबाट कुनै लिखत दर्ता बदर भई लिखतवालाको हक छुटिसकेको अवस्थामा उक्त फैसला बदर नभएसम्म लिखतवालाको हक पूर्ववत्‍ यथावत् रही रहन्छ भन्न मिल्दैन । त्यस्तो बदर भइसकेको लिखत र हक टुटिसकेका व्यक्तिले सोही बदर भएको लिखतको आधारमा हक टुटिसकेको सम्पत्ति कसैलाई हस्तान्तरण गर्दैमा पाउनेवालाको हक पुग्न सक्तैन । लिखत बदर भई सोको आधारमा दर्ता बदर भई नालिस गर्नेको हक कायम हुने फैसला भएपछि उक्त फैसला कायम रहेसम्म लिखतवालाको हक लिखत अनुरूपको सम्पत्तिमा पुग्न नसक्ने । § अदालतबाट रिट निवेदकका परदाताहरूकै लिखतको ४ भागको एक भाग लिखत दर्ता बदर भई हकसमेत टुटिसकेको अवस्थामा हक नै नहुनेबाट गराइलिएको लिखतबाट रिट निवेदकको हक सिर्जित हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदकका तर्फबाट : विद्वान्‍ अधिवक्तात्रय रमन श्रेष्ठ, विश्वप्रकाश सिग्देल र सुरेन्द्र मानन्धर विपक्षीका तर्फबाट : विद्वान्‍ अधिवक्ताद्वय भरतमणि गौतम र गणेश निरौला अवलम्बित नजिर : सम्बद्ध कानून : जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८(क) मुलुकी ऐन, अ.बं. १७ नं. मुलुकी ऐन, दण्ड सजायको महलको ४३, ४४ नं. फैसला न्या.बैद्यनाथ उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ : दाता तुलसी रावलका नाममा दर्ता स्रेस्ता कायम रहेको काठमाडौँ जिल्ला, तीनथाना गा.वि.स. वडा नं. ५ कि.नं. ६८९ को क्षेत्रफल १–३–२–० जग्गा मिति २०६५।११।२१ मा राजीनामा पारित गरी भोगचलन गर्दै आएको छु । मैले खरिद गरी लिएको कि.नं. ६८९ को जग्गाका सम्बन्धमा आशामाया महर्जनसमेतले लामा बाङजी शेर्पिनीसमेतउपर दर्ता बदर चलन मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरी भएको फैसलाउपर पुनरावेदन परी उक्त मुद्दा अन्तिम भएको रहेछ । पुनरावेदन अदालत, पाटनबाट फैसला कार्यान्वयनका क्रममा प्रत्यर्थी आशामाया महर्जनले काठमाडौं जिल्ला अदालतमा दरखास्त दिई उक्त दरखास्त कारवाहीको क्रममा म निवेदकका नाउँमा ७ दिने म्याद आएकोले के भएको रहेछ भनी यथार्थ बुझ्दा उक्त जग्गा आशामाया महर्जनका पति नन्दबहादुर महर्जनले मिति २०५३।५।५ मा छिरिङ गुरूङलाई राजीनामा पारित गरी दिएको र छिरिङ गुरूङले मिति २०५३।५।११ मा लामा याङजी शेर्पिनीलाई राजीनामा लिखतबाट हक हस्तान्तरण गरेका रहेछन् । उक्त दुबै लिखतहरू बदर गरी पाउँ भनी विपक्षी आशामायासमेतले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी उक्त अदालतले पारित लिखतको चार भागको तीन भाग बदर हुने ठहर्‍याएकोमा सो फैसलाउपर परेको पुनरावेदनमा पुनरावेदन अदालत, पाटनबाट आशामाया महर्जनको हकमा मात्र चार खण्डको एक खण्ड बदर हुने भनी मिति २०५८।८।२० मा फैसला भई अन्तिम भइरहेको रहेछ जुन कुरा मेरो पूर्वजानकारीमा थिएन । विपक्षी अशामाया महर्जनले पुनरावेदन अदालतको फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतसमक्ष मिति २०६५।१२।१२ गते मात्र फैसलाको जानकारी ल