निर्णय नं. ९५६३ - राज्य विरूद्धको अपराध (राज्य विप्लव)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५६३ - राज्य विरूद्धको अपराध (राज्य विप्लव) भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/१०/०३ ७०५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।१०।३।१ ०७२-CR-०३१३ मुद्दा : राज्य विरूद्धको अपराध (राज्य विप्लव) पुनरावेदक / वादी : जिल्ला प्रहरी कार्यालय मोरङका प्र.ना.नि. राजेश दत्तको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी महादेवा गा.वि.स. वडा नं. ७ बस्ने डा. सि.के. राउत भन्ने चन्द्रकान्त राउत प्रतिवादीलाई आफ्ना विचारहरू अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने राजनीतिक दल खोल्ने तथा संघ संगठन खोल्ने नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने समेतका स्वतन्त्रताको हक संविधानले नै प्रत्याभूत गरेको देखिन्छ । उपरोक्त स्वतन्त्रताहरू निरपेक्ष नभई सापेक्षित स्वतन्त्रता हुन् । उक्त स्वतन्त्रताहरूलाई राज्यले उचित कानून बनाई सङ्कुचन र नियन्त्रण गर्न सक्ने । (प्रकरण नं.९) अनुसन्धानको क्रममा बुझिएका मानिसहरूले अदालतमा गरेको बकपत्रबाट प्रतिवादीले जबरजस्ती मानिसहरू भेलाजम्मा गराई डर त्रास देखाई आतङ्कित बनाएको तथा शान्ति सुरक्षामा खलल् पार्ने कार्य गरेको भन्ने देखिँदैन । प्रतिवादीले बल प्रयोग गरी शान्ति अमनचयन भङ्ग गरी अशान्ति मच्चाएको वा हुलदङ्गा गरी शान्ति र व्यवस्थामा खलल् पुर्याई अव्यवस्था उत्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदैन । प्रतिवादीबाट कुनै हातहतियार, आपत्तिजनक तथा संवेदनशील विष्फोटक पदार्थ, प्रज्वलनशील तथा मधेशलाई नेपालबाट विखण्ड गर्ने खालका कुनै वस्तु बरामद भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गर्न नमिल्ने । (प्रकरण नं.११) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिना प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : अध्यक्ष मा.न्या. श्री मोहनरमण भट्टराई सदस्य मा.न्या.श्री. पवनकुमार शर्मा सदस्य मा.न्या.श्री महेशप्रसाद पुडासैनी फैसला न्या.बैद्यनाथ उपाध्याय : विशेष अदालत ऐन, २०५९ को दफा १७ अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :- जिल्ला मोरङ सोराभाग गा.वि.स. वडा नं. ३ स्थित पूर्व रंगेलीतर्फ जाने सडक, पश्चिम कर्सियातर्फ जाने सडक, उत्तर भलुवा राजाको मन्दिर र दक्षिण शिव गिरीको बाँस झ्याङ यति चार किल्लाभित्र जिल्ला सप्तरी महादेवा ७ बस्ने चन्द्रकान्त राउतले सर्वसाधारण मानिसहरूलाई भेला जम्मा गरी गराई डर त्रास फैलाई आतङ्कित बनाई सामाजिक सद्भाव भड्काउने, शान्ति सुरक्षामा खलल् पुर्याउने जस्ता कार्य गरिरहेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिइएको हो । निजले साथमा बोकेको TOP POWER लेखिएको कालो झोलाभित्र मधेश स्वराज डा.सि.के.राउत लेखिएको किताब थान-१, स्वतन्त्र मधेश गठबन्धन (AIM) का घोषणापत्र लेखिएको गौतम बुद्ध, महात्मा गान्धी र नेलसन मण्डेलाको जस्तो तस्वीर भएको सानो किताब थान-१, वीर मधेशी डा. सि.के.राउत लेखिएको किताब थान-१, अङ्ग्रेजीमा मधेश तराई लेखिएको प्रोफायल किताब थान-१, कालो डायरीमा तन मन धन विद्या वचनसमेत लेखिएको डायरी थान-१, अङ्ग्रेजीमा सोनी एच.डि. समेत लेखिएको भिडियो क्यामेरा थान-१, अङ्ग्रेजीमा पानासोनिक लुमिक्ससमेत लेखिएको क्यामेरा थान-१, कार्ड रिडर थान-१ र ६४ ए.वि. तथा १६