निर्णय नं. ४२९३ - प्रतिषेध समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२९३ - प्रतिषेध समेत भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०५/२६ २३८५ निर्णय नं. ४२९३ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको रिट नं. १०६४ आदेश भएको मिति : २०४८।५।२६।४ मा निवेदक : सिम्को इण्टरनेशनल र सिम्को लि.इ.सि.ई. हाउस न्यू दिल्ली तर्फबाट दयाकृष्ण गोयलको वा.अजयकुमार टण्डन विरुद्ध विपक्षी : कर कार्यालय, हेटौंडासमेत विषय : प्रतिषेध समेत (१) प्रत्येक करदाताले करको दायित्व छ छैन भन्ने कुरा आय विवरण दाखिल गरिसकेपछि विवरणमा वा साथै आफूले पाउने छूट वा उन्मुक्तिको कुरा उठाउन पर्ने र सो मा विचार गरी कर कार्यालयले कर लगाउन वा नलगाउन पनि सक्ने हुँदा विवरण नै दाखिला गर्न पर्दैन भन्ने भनाई मिलेन तसर्थ यसमा रिट निवेदकको माग बमोजिमको प्रतिषेधको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुसिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपालको (साविक पेज नं. २१०) संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. सिम्को इण्टरनेशनल भारतीय कानुन अन्तर्गत भारतमा दर्ता भई विरालानगर ग्वालियर भारतमा रजिष्टर्ड अफिस राखी भारतमा काम गरी आएको छ । कुलेखानी हाइड्रो इलेक्ट्रीक प्रोजेक्ट नेपालद्वारा प्रकाशित ग्लोबल टेण्डर अनुसार यस सिम्को इण्टरनेशनलले कुलेखानी हाइड्रो प्रोजेक्ट गेट्स भवन र पेनस्टाहरु बनाउन र सो सम्बन्धी चाहिने मालसामानहरुको डिजाइन गराई विदेशमा बनाई यस प्रोजेक्टलाई सप्लाई गर्न तथा विदेशमा भएका सबै कामको भुक्तानी विदेश भारतमा जापानी मुद्रामा हुने शर्त सम्झौता नं. ५–३५।३६ जनवरी १९७९ मा सम्पन्न भयो । तद्नुरुप विदेशमा भए गरेको सेवा सप्लाई सम्बन्धी कामको भुक्तानी ने.रा.बैंकले निवेदकको बैंक र सेण्ट्रल बैंक अफ इण्डियालाई टोकियो बैंक लि. मार्फत जापानी ऐनको भुक्तानी गर्ने व्यवस्था अनुरुप विदेशबाट सप्लाई गरेको मालसामान र सेवा बापतको पाउने रकम निवेदकले विदेशमा नै पाउने गरेको छ । नेपाल अधिराज्य भित्र गरेको काम र सेवा बापतको सम्झौता बमोजिम यस कम्पनीले नेपाली रुपैयाँमा नै प्राप्त गरेको र सो प्राप्त रकममा लागेको आयकर मिति २०४३।८।२३ मा कर कार्यालय हेटौंडाले गरेको कर निर्धारण आदेश बमोजिम कर तिरी बुझाई सकेका छौं । ३. तर कर कार्यालयबाट जडान तर्फबाट मात्र आय कायम भई कर निर्धारण भई आएकोमा हाल सप्लाई तर्फको कारोबारमा समेत खूद आय कायम गरी कर निर्धारण गर्नु पर्ने भएको हुँदा उक्त सप्लाई कार्य १९८०।८१, १९८१।८२ र १९८२।१९८३ मा भएको आय विवरण पेश गर्न भनी मिति २०४६।२।३१ मा लेखी पठाउनु भयो निवेदकले सो सप्लाइको काम विदेशबाट आपूर्ति गरेको र विदेश स्थित कम्पनीले बैंक मार्फत प्रतित पत्रद्वारा सोझै विदेशमा विदेशी मुद्रामा मूल्य भुक्तानी पाएको हुँदा आयकर लाग्न नपर्ने भई विवरण पेश गरी रहनु नपर्ने स्पष्ट छ । हाम्रो सो उल्लेखित कानुनी जिकिरलाई खण्डन नगरी पूर्वाग्रहले प्रेरित भई कर कार्यालय हेटौंडाले आयकर ऐन, २०३१ को दफा ३३(२) बमोजिम खूद आय कायम गरी आयकर निर्धारण गरिने भएको भनी पुनः मिति २०४६।५।२५ मा सूचना गर्नु भएकोमा पुनः ४ अक्टुवर १९८९ मा निवेदकले पठाएको जवाफमा कानुनले कर नलाग्न पर्ने व्यहोरा दर्शाई कानुन समेत उल्लेख गरेको हुँदा हुँ