निर्णय नं. ९५७१ - गौबध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५७१ - गौबध भाग: ५८ साल: २०७३ महिना: असार अंक: ३ फैसला मिति :२०७२/०९/३० ३५८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।९।३०।५ ०७०-CR-०१७९ मुद्दा : गौबध पुनरावेदक / प्रतिवादी : जिल्ला संखुवासभा, दिदिङ गाउँ विकास समिति वडा नं. २ घर भई हाल खाँदबारी नगरपालिका वडा नं. ३ बस्ने हाल कारागार कार्यालय, संखुवासभामा थुनामा बस्ने कुमार दर्जीसमेत विरूद्ध प्रत्यर्थी / वादी : केशकुमारी पोखरेलको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा बाच्छी मारेको होइन भनी कसुरमा इन्कार रहे पनि अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा भएको सहीछाप आफ्नै भएको हो भनी गरेका र अधिकारप्राप्त अधिकारीसमक्षको बयान अचेत अवस्थामा गरेको वा बाध्य पारी वा यातना दिई वा यातना दिने धम्की दिई वा आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको भनी अदालतमा बयान गर्दा भन्न सकेको देखिँदैन । अधिकारप्राप्त अधिकारीसमक्ष स्वतन्त्ररूपमा स्वेच्छाले कसुर स्वीकार गरी बयान दिएपछि अदालतसमक्ष बयान गर्दा इन्कार रहेको आधारमा मात्र कसुरदार होइनन् भन्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६६ अङ्क ४ नि.नं. ८११५ सम्बद्ध कानून : मुलुकी ऐन चौपायको महलको ११ नं. सुरू फैसला गर्ने अदालत : मा. जि. न्यायाधीश श्री शालिग्राम कोइराला पुनरावेदन तहमा फैसला गर्ने अदालत : मा. न्यायाधीश श्री शम्भुबहादुर खड्का मा. न्यायाधीश श्री बिदुरविक्रम थापा फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।२।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मिति २०६८।३।२९ गते प्रतिवादीहरू रामबहादुर दर्जी, कुमार दर्जी र धनबहादुर राई मेरो घरमा आई मैले पाली राखेको कालो रङ्गको बाच्छी पाल्नका लागि भनी किन्न मागेकाले मैले रू. ५००।– नगद लिई उक्त बाच्छी बिक्री गरेकी थिएँ । तर यी प्रतिवादीहरूले पाल्न लैजाने भनी ढाँटी झुक्याई मसँगबाट लगी बाच्छी काटी गौबध अपराध गरेका हुँदा उल्लिखित प्रतिवादीहरूलाई मुलुकी ऐन चौपायाको महलबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको केशकुमारी पोखरेलको जाहेरी दरखास्त । पूर्वमा सुमन चोक माल्टा जाने बाटो, पश्चिममा राजकुमार पराजुलीको खेत, उत्तरमा पाङ्गा खोला र दक्षिणमा काँसी रूम्टी जङ्गल यति ४ किल्लाभित्र रहेको पूर्व मोहडा फर्किएको जमिनको भागमा ढुङ्गामाथि आगो बालेको, कोइला अङ्गार वरिपरि छरिएका, जनावरको लादी केही मात्रामा सोही ठाउँमा नै रहेको, गन्हाई दुर्गधित अवस्थाको वातावरण रहेको, प्रतिवादी कुमार दर्जीले गाई काटी मासु खाँदवारी नगरपालिका वडा नं ३ को कैजले पुच्छारको सोती गहिरोमा भएको माल्टा सुमन चोक जाने आउने बाटोमा रहेको ग्याविङ्ग तार पर्खालसँगै रहेको खाल्डोमा गाडी लुकाएको भनी बताएकाले खनी माटो पन्छाई हेर्दा सडेगलेको अवस्थामा मासु फेला परेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । म, मेरा काकाको छोरा रामबहादुर दर्जी, ठेगाना थाहा नभएको मोटे भन्ने धनबहादुर राई गरी तिनजना खाँदबारी माल्टासम्म जाने बाटोमा तारजाली भर्ने काम गर्दै आएकामा २०६८।३।२९ गतेका दिन काम गरी थकाई लागेको