निर्णय नं. ९५७८ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५७८ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७२/०३/२८ ४४९३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७२।३।२८।२ ०६५-WO-१०४७ विषय : उत्प्रेषण / परमादेश निवेदक : जिल्ला काभ्रेपलाञ्चोक, महादेवस्थान गा.वि.स., वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३३ ज्ञानेश्वर बस्ने पद्मकुमार मेघासी शाह विरूद्ध विपक्षी : युनिभर्सल फाइनान्स लिमिटेड (वित्तिय संस्था) प्रधान कार्यालय, सिद्धार्थ भवन कान्तिपथ, काठमाडौंसमेत बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५७ मा "कर्जा असुलीसम्बन्धी व्यवस्था" भई उपदफा (१) मा "... ऋणीले इजाजत प्राप्त संस्थालाई लेखिदिए वा इजाजतप्राप्त संस्थामा राखेको धितो सुरक्षालाई कर्जा रकम असुलीको प्रयोजनार्थ इजाजतप्राप्त संस्थाले लिलाम बिक्री वा अन्य कुनै व्यवस्था गरी आफ्नो सावाँ ब्याज असुलउपर गर्न सक्नेछ" भन्ने कानूनी व्यवस्थाअनुसार ऋणीले आफूले लिएको कर्जा रकम भुक्तान नगरेमा कर्जा सुरक्षणको रूपमा रहेको घरजग्गासमेतका सम्पत्ति कानूनबमोजिमको प्रक्रिया पुरा गरी इजाजतप्राप्त संस्थाले आफूले लिनुपर्ने सावाँ ब्याजसमेतको लेना रकमबापत लिलाम गर्नसक्ने हुँदा त्यस्तो लिलाममा सबैभन्दा बढी मूल्यमा धितो सकार गर्ने व्यक्तिको नाममा धितो बिक्री गर्ने निर्णय गरी दा.खा. गर्न पठाएको कार्यलाई अवैध भन्न नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता राजुकुमार थापा विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता कृष्णमोहन कोइराला अवलम्बित नजिर : सम्बद्ध कानून : बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५७ आदेश स.प्र.न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ : विपक्षीमध्येकी विजया मार्क राणाले व्यापार व्यवसाय तथा घर खर्च गर्न भनी म निवेदकसँग मिति २०६०।१।३१ गते रू.७,००,०००।- ऋण लिएकोमा फिर्ता नदिएकोले मैले लेनदेन मुद्दा गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६६।३।१ मा विजया मार्क राणाका नाममा दर्ता रहेको ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. १(ग) कि. नं. ९८ को क्षेत्रफल ०-१५-२-० को घर तथा जग्गा अ.बं. १७१(क) नं. बमोजिम पुनः रोक्का राख्नु भनी मालपोत कार्यालय, ललितपुरका नाममा आदेश भएको छ । उक्त रोक्का आदेशमा युनिभर्सल फाइनान्स लिमिटेड, काठमाडौंबाट र. नं. ६२० मिति २०६४।६।१६ को दृष्टिबन्धकीले रोक्का रहेको र ललितपुर जिल्ला अदालतको च. नं. ६१२१ मिति २०६५।१२।२८ को पत्रबाट फुकुवा भए लगतै रोक्का रहने गरी पूर्वतर्फबाट ०-४-०-० जग्गा अ.बं. १७१(क) नं. बमोजिम पुनः रोक्का राख्ने भन्ने उल्लेख भएको छ । रोक्का रहेको उक्त घर जग्गाले ३ जनाको आर्थिक दायित्व बहन गर्नुपर्ने देखिन्छ । म निवेदकको अधिकतम रू. १२,००,०००।- विपक्षी युनिभर्सल फाइनान्सको अधिकतम रू. १,५०,००,०००।- र रोक्का राख्ने अर्को पक्ष पद्‍मलाल श्रेष्ठको अधिकतम् रू.२०,००,०००।- समेत कुल दायित्व रू. १,८२,००,०००।- भन्दा बढी नहुने अवस्थाको छ । रोक्का रहेको उक्त जग्गा विपक्षीमध्येका युनिभर्सल फाइनान्स लिमिटेडले एकलौटी पार्ने र मेरो हक मेटाउने उद्देश्यले कम मूल्य देखाई विजया मार्क राणासँग मिलेमतो गरी रू. १,६८,००,०००।- मा लिल