निर्णय नं. ९५९० - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९५९० - मोही नामसारी भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/१०/१४ ३१२९ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।१०।१४।५ मुद्दा : मोही नामसारी ०६८-DF-०००८ पुनरावेदक / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल बस्ने तुयुमै व्यञ्जनकारको अधिकृत वारेस काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं.३ बस्ने रमेशकाजी यंगोल श्रेष्ठ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल बस्ने मोहनमाया व्यञ्जनकार मरी मु.स.गर्ने ऐ.ऐ बस्ने आशामाया व्यञ्जनकारसमेत ०६८-DF-०००९ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.३४ बस्ने गोपाललाल अमात्यसमेत विरूद्ध प्रत्यर्थी / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.९ बस्ने तुयुमै व्यञ्जनकार मुद्दामा रहेको विवादित विषयसँग सम्बद्ध प्रमाण बुझ्ने क्रममा विशेषज्ञबाट जाँच भई प्राप्त हुन आएको रायलाई प्रमाणमा लिन मिल्ने वा नमिल्नेसम्बन्धमा विवेचना गरी प्रमाणमा लिन नमिल्ने भए आधार कारणसहित सो रायलाई खण्डन गरी मिसिल संलग्न अन्य तथ्यपूर्ण प्रमाणको आधारमा मात्र निष्कर्षमा पुग्नु पर्ने । (प्रकरण नं.४) दाबीको जग्गाको नापीका बखत तयार भएको फिल्डबुकमा मोही जनिएको व्यक्तिको ल्याप्चे छापसमेत लागेको अवस्था देखिएको, मोही महलमा उल्लिखित व्यक्ति आफू भएको भनी एकै नाम गरेका दुई व्यक्तिले दाबी गरेको, मिसिल संलग्न प्रमाणबाट उक्त व्यक्ति यही हो भनी वस्तुगतरूपमा एकिन हुन नसकेको अवस्थामा विशेषज्ञले जाँच गरी दिएको राय प्रतिवेदन प्रस्तुत मुद्दामा निर्णायक प्रमाण हुन सक्ने कुरामा विवाद हुन सक्दैन । दुई भिन्नाभिन्नै व्यक्तिको ल्याप्चे छापमा तात्त्विक र आधारभूतरूपमा भिन्नता हुने भएकोले कुनै लिखतमा परेको ल्याप्चेछाप दुईमध्ये जसको ल्याप्चेसँग भिड्छ सोही व्यक्ति नै उक्त लिखतको ल्याप्चे छापकर्ता व्यक्ति हो भनी मान्नु पर्ने । (प्रकरण नं.५) वस्तुतः कुनै व्यक्तिको एकभन्दा बढी नाम हुन सक्ने तथा गाउँ घरमा बोलाउने नाम र कार्यालयको आधिकारिक नाम फरक हुन सक्ने हुन्छ । त्यस्तै एकै ठाउँमा एउटै नाम भएका एकभन्दा बढी व्यक्तिहरू हुन सक्ने हुँदा कसैको नाममात्र मिलेको आधारमा हकै नपुग्ने कुरामा हक कायम हुन सक्ने वा कुनै व्यक्तिको एकभन्दा बढी नाम भई कुनै एउटा नामबाट व्यवहार गरी आएको अवस्थामा विना आधार सो व्यक्ति आधिकारिक व्यक्ति होइन भनी भन्न मिल्दैन । त्यस्तो अवस्थामा आधिकारिक व्यक्ति यही हो भन्ने कुरा अन्य प्रमाणबाट एकिन हुन नसकेको अवस्थामा हस्ताक्षर वा ल्याप्चे छापको जाँच गरी विशेषज्ञले दिएको राय प्रतिवेदनका आधारमा निष्कर्षमा पुग्न मिल्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् अधिवक्ता रमेशकाजी श्रेष्ठ प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, पदमराज काफ्ले र विद्वान् अधिवक्ता राम राउत र बसन्त गौतम अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ प्रमाण ऐन, २०३१ को दफा २३(७) सुरू फैसला गर्ने : भूमिसुधार अधिकारी श्री बैद्यनाथ चौधरी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री जगदीश शर्मा पौडेल संयुक्त इजलासमा फैसला गर्ने : मा.न्या.श्री रामकुमार प्रसाद शाह मा.न्या.श्री तर्कराज भट्ट