निर्णय नं. ९५९२ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५९२ - अंश चलन भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/११/०६ ६६७९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति :२०७२।११।६।५ ०६८-NF-०००३ मुद्दाः- अंश चलन पुनरावेदक / वादी : सुनसरी जिल्ला, नरसिंह गा.वि.स. वडा नं. ७ बस्ने महावीर साहुसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला, नरसिंह गा.वि.स. वडा नं. ७ बस्ने सरजुग साहु मरी मु.स. गर्ने ऐ.ऐ. बस्ने झवरीदेवी साहु कुनै सम्पत्ति बन्डा हुने अथवा नहुने भन्ने प्रश्नको निर्णय मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. र यस अदालतबाट तत्सम्बन्धमा भएको फैसलाहरूबाट प्रतिपादित सिद्धान्तको सेरोफेरोमा रही गर्नुपर्ने । गंगाप्रसाद र सुकुमेर कुमारीको परिवारको मूल पुरूष प्रतिवादी सरयुग रहेकाले सो परिवारका कुनै सदस्यको नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको मानिने । सो सम्पत्तिबाट सरयुगका अंशियार वादीहरूको अंश नपुग्ने भन्नका लागि प्रतिवादी कायम गरिएका गंगाप्रसाद र सुकमेर आफ्नो पिता ससुरा प्रतिवादी सरयुग साहुसँग कानूनबमोजिमको लिखतबाट अंश लिई वा मानु छुट्टिई भिन्न बसेको वा उल्लिखित सम्पत्ति दान बकस भई निजहरूले पाएको वा निजहरूलाई भएको राजीनामा लिखतमा उल्लिखित जग्गाहरू निजहरूले एकलौटी खान पाउने र अरू अंशियारको हक नपुग्ने जस्तो कुनै व्यहोरा रहेको वा आफूहरूले रोजगार नोकरी गरी वा मूर्तिकार, गीतकार, संगीतकार, कलाकार, चित्रकार वा कुनै पेसाकर्मी आदि भई निजी आर्जन गरेको प्रमाण देखिनु आवश्यक हुने । गंगाप्रसादले उक्त जग्गाहरू आफ्नो ज्ञान सीपबाट निजी तवरबाट आर्जन गरेको भन्ने जिकिर लिन नसकी बाबुले आफ्ना नाममा खरिद गरिदिएको भनेको देखिन्छ भने प्रतिवादी सुकुमेर कुमारीको राजीनामामा बाबुले थैली तिरी निजका नाममा खरिद गरी दिएको दाइजोको जग्गा भन्नेलगायतका कुनै पनि कुरा उल्लेख भएको देखिँदैन । ती जग्गाहरू आफ्नो विवाह हुनुपूर्व खरिद गरेको भन्ने निजको जिकिर पनि नरहेको र राजीनामाको तीन पुस्तेमा निजको पति रामप्रसाद साहु भन्ने उल्लेख भएको देखिँदा उल्लिखित जग्गाहरू पिता पुर्खाको पुर्ख्यौली सम्पत्तिबाट बढेबढाएको धनबाट प्रतिवादी गंगाप्रसाद र सुकुमेरको नाममा खरिद भएको प्रमाणित हुन आउने । पुर्ख्यौली सम्पत्तिबाट खरिद भएको जग्गामा प्रतिवादीभन्दा माथिल्लो पुस्ताका निजको परिवारको मूल पुरूष प्रतिवादी सरयुग र प्रतिवादी सरयुगका अंशियार वादीहरूको अंश भाग लाग्ने र त्यसपछि प्रतिवादी सरयुगको भागबाट प्रतिवादी गंगाप्रसादसमेतका समकालीन अंशियारको भाग लाग्ने र गंगाप्रसादको भागबाट मात्र प्रतिवादी सुकुमेरको अंश लाग्ने अवस्था रहने । (प्रकरण नं.८) मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. समेतको सही व्याख्या गरेकोले तिनसँग असहमति जनाउनु पर्ने अवस्था देखिएन । प्रस्तुत मुद्दाको तथ्यसँग ती नजिर मिले भिडेको देखिँदा प्रस्तुत मुद्दामा मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिभन्दा अगावै प्रतिवादीका छोरा तथा बुहारीका नाममा निजहरूका पिता तथा ससुराले थैली तिरी खरिद गरेको जग्गाहरू बन्डा नलाग्ने ठहर्‍याएको यस अदालतको संयुक्त इजलासको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता तुलसीराम निरौला अवलम्बित